सफल डाक्टरको प्रेरक कथा
‘ल्वाँठ साम्राज्यवादी’ भन्ने पदावली बारम्बार आउने हुनाले यसको सर्वाधिकार (कपीराइट) उनकै पोल्टामा पर्नुपर्ने देखिन्छ।
पश्चिमा शक्तिराष्ट्रहरू एसिया र यहाँको मानव सभ्यतालाई हीन र कमजोर साबित गर्न खोज्छन्। प्यालेस्टाइनी बौद्धिक एडवार्ड सइदको पूर्ववादको चर्चा गर्दै समालोचक निनु चापागाईंले एउटा लेखमा भनेका छन्, ‘पूर्ववादले एसियालाई लहडी, विपथगामी, अतार्किक, सामान्यतया लोकतान्त्रिक पश्चिमी संसारभन्दा भिन्न, पछौटे, पृथक्, विषम, विषयाशक्त, अछूुत र निष्क्रियका रूपमा हेर्छ।’
सन्दुक रुइतको डाक्टरी–जीवन त्यही पश्चिमा हेजिमनीविरुद्धको संघर्ष हो। त्यस संघर्ष कथालाई अली ग्रिपरको अंग्रेजी पुस्तक ‘द बेयर फुट सर्जन’बाट खगेन्द्र संग्रौलाले ‘सन्दुक रुइत’ नाममा नेपालीमा उल्था गरेका छन्।
‘सन्दुक रुइत’मा सेता कोटधारीको नवीन प्रयोग पश्चिमी देशका निम्ति पनि स्वीकार्य बनाउन गरेको कठिन संघर्षको लम्बेयात्रा छ। पश्चिमले पूर्वलाई कमजोर र आदिम सम्झनु एकजनामा मात्रै लागू हुने घटना होइन, यो एउटा आमप्रवृत्ति र विश्वदृष्टि नै हो। निरन्तर अरूले (पश्चिम)ले व्याख्या गरिदिनुपर्ने, अर्काले टेको दिइरहनुपर्ने विश्व ठानिन्छ, पूर्वीय मुलुकलाई। यही प्रवृत्तिको सिकार डा. सन्दुक रुइत र उनको डाक्टरी प्रयोग हुनु परेको थियो।
‘सन्दुक रुइत’ पुस्तक तेस्रो विश्वका स्वास्थ्यकर्मीले उत्पादन गरेको प्रयोग स्थापित गराउने संघर्षलाई विश्वसामु पेस गर्ने अत्याधुनिक हतियार बनेर आएको छ। नेपालजस्तो तन्नम मुलुकमा उपलब्ध सामान्य उपकरणको प्रयोगबाट अत्यन्तै उच्चस्तरीय प्रविधिको आँखा उपचार गर्ने लडाइँको साक्ष्य हो, यो पुस्तक। नेत्रचिकित्सक रुइतसँगको करिब तीन वर्षको संगतपछि ग्रिपरले यो पुस्तक तयार गरेकी हुन्।
प्रिय बहिनी याङ्लाको क्षयरोगले खग्रास हुँदै गरेको शरीर, महँगो उपचार गर्न नसक्नुको पीडा र उनको मृत्युजन्य आघातलाई रुइतले डाक्टर बन्ने ऊर्जा ठाने। जन्मथलो बालुङ पुगेपछि उनले डाक्टरी विद्यालाई कुन क्षेत्रमा विशिष्टीकृत गर्ने भन्ने चाल पाए। नेत्रज्योति गुमेर दयनीय जीवन भोगिरहेका मानिसहरूलाई उज्यालो जीवन दिलाउनु नै उनको मुख्य उद्देश्य बन्यो। र, उनी नेत्रज्योति फर्काएर आ िश्रत जीवन बाँचेका मानिसमा जीवन भरिदिने कार्यमा दत्तचित्त भएर लागे।
व्यावसायिक जीवनको प्रारम्भदेखि नै रुइत आफ्नो काम र लक्षित वर्गबारे स्पष्ट थिए। वर्गयुक्त समाजको विषम परिस्थितिलाई बुझेरै उनी यो कठिन यात्रामा हिँडेका थिए। मोतियाबिन्दुका कारण पिँडीको कुनो वा ओछ्यानको डल्लो परेर दयावान् आफन्तका पदचाप कुरिरहेका मानिसलाई निःशुल्क उज्यालो प्रदान गर्ने यात्रामा उनी कटिबद्ध देखिन्छन्।
उनको कटिबद्धतामा आधारस्तम्भ बने— अस्ट्रेलियाली डाक्टर मित्र हलोज र हलोजकी जीवन सहयात्री गाबी। उनीहरूको अटुट आधार लिएर रुइत मोतियाबिन्दु विरुद्धको लडाइँमा होमिन्छन्। जतिजति उनीसहितको टोली सामान लादेर हिमाली गाउँहरूको यात्रामा हिँड्छन्, त्यतित्यति आँखा अस्पतालका उनकै सहकर्मी वरिष्ठ चिकित्सक र पश्चिमी मुलुकका चिकित्सकहरूसँगको लडाइँ तीव्र हुन्छ।
“नेपालमा रुइतलाई ‘पहाडी भेगमा अन्धा मानिसहरूको उपचार गर्ने पागल डाक्टर भन्न थालियो।’ उता पश्चिमका केही आँखाका डाक्टरहरूले चाहिँ रुइत नेपाली जनतालाई आफ्नो नयाँ विधिको प्रयोगको सिकार बनाउँदै छन् भन्ने उनको अभ्यासहरू ‘मुद्दा नलाग्ने शल्यक्रिया’ भनी निर्मम टिप्पणी गरे” (पृ.९८)। नयाँ काम आफैंमा चुनौतीपूर्ण हुन्छ। अझ त्यसलाई समाजले नस्वीकार्ने बेलासम्म त घोर कठिन हुन्छ। त्यसमाथि एउटा गरिब मुलुकको ठिटोले पश्चिमी प्रविधिलाई चुनौती दिने र अतिविकसित भनिएका मुलुकमा मात्र गर्न सकिने भनिएका शल्यक्रिया गर्न थालेपछि ज्ञानमाथि एकाधिकार राख्ने पंक्तिलाई अस्वीकार्य हुने नै भयो।
विपन्न देशका डाक्टरका प्रयोगमाथि पनि शक्तिशाली राष्ट्र÷संस्थाहरू एकाधिकार जमाउन खोज्छन्। डा. रुइतको टिमले एकदमै कम मूल्यका इन्ट्राअकुलर लेन्स बनाए, त्यसविरुद्ध ठूला बहुराष्ट्रिय कम्पनी र भारतीय कम्पनीहरूले रिसले आँखै देखेनन्। अनि भन्थे, ‘मेडिकल सम्मेलनहरूमा भारतीय उत्पादनकर्ता उठेर चिच्याउँथे— तिमीहरू ठगिरहेका छौ। तिमीहरू हाम्रो व्यापारलाई सत्यानाश गर्न खोजिरहेका छौ।’ यो साँच्चै नै अभूतपूर्व कार्य हो।
यता रुइत टोली ‘नेपालमा बनेको’ लोगोसहितका सिसाका जीवनदायी टुक्रा न्यून मूल्यमा उत्पादन गर्थे भने उता गरिबले जीवन जिउन पाउने न्यूनतम मानवअधिकारमा व्यापार गरिरहेका बहुराष्ट्रिय कम्पनीका मालिकहरूलाई चित्त नबुझ्नु स्वाभाविकै हो।
‘तिमीहरू धनी गोराहरूलाई आँखाको उत्कृष्ट खाले उपचार टक्य्राउँछौ अनि तिनको घरपछाडिका गरिबहरूलाई चाहिँ चुत्थो खालको उपचार दिन्छौ’ भन्दै हलोजको हुँकारसहितको ‘मेरा कुरा सम्झिराख, एक न एक दिन विश्व स्वास्थ्य संगठनले यी हास्यास्पद ढ्याब्रे चस्माको सट्टा रुइतले प्रचलनमा ल्याएको जस्ता इन्ट्राअकुलर लेन्स सिफारिस गर्नेछ। अनि तिमी ल्वाँठ अमेरिकी साम्राज्यवादीहरूलाई लाजमर्नु हुनेछ’ भन्दै गरेको ललकार बडो जोसिलो लाग्छ। यस हाँकले विपन्न मुलुक र सम्पन्न मुलुकमा दिइने स्वास्थ्य उपचारको कुटिल राजनीतिको बाटो पनि देखाइदिन्छ।
प्रेम कसरी पर्छ ? ठ्याक्कै भन्न सकिन्न तर रुइतको प्रेमको धागो शल्यक्रिया कक्षकी कुशल नर्सको औंलामा अड्किएर दुई वर्षसम्म तन्किएको छ। फरक धर्म र जातकी नन्दासँगको प्रेमविवाहलाई रुइतको परिवारमा स्वीकृत गराउन नन्दाले अत्यन्तै मेहेनत गरेकी छन्। रुइतको सपना साकार पार्ने महŒवपूर्ण कडी हुन्, नन्दा। रुइत आफ्नो लक्ष्य र पेसागत दक्षता तिखार्न दत्तचित्त भए। नन्दा भने आफ्नो पेसागत दक्षतालाई तिलाञ्जलि दिएर घरव्यवहारमा अलमलिइन्। जीवनी पढ्दै गर्दा जब रुइत आफ्नो ध्येय सिद्धिको टोली बनाउन कुशल चिकित्सक, नर्स र व्यवस्थापक खोजिरहेका थिए, त्यति बेला नन्दाको नाम आउला कि आउला कि भन्ने लाग्छ। तर, उनको समूहमा नन्दा नपर्दा पाठकको मनमा बिजुलीको झड्का लाग्छ। के रुइतले आफ्नो अभियानमा नन्दाको नर्सिङ क्षमतालाई प्रयोग गर्न मिल्दैनथ्यो ? केवल रुइतको घरपरिवार सजाउनु र बालबच्चा हुर्काउनु नै नन्दाको विद्रोहको प्रतिफल थियो ?
ज्याँ पाल सात्र्रले एक ठाउँ भनेका छन्, ‘महिलाहरूले आफूले मन पराएको व्यक्तिलाई प्रेम गर्न र उसलाई प्राप्त गर्न समाजविरुद्ध विद्रोह त गर्छन् तर उनीहरूको विद्रोह विवाहमा गएर टुंगिन्छ।’ यस्तै ‘विद्रोह र टुंगो’को नियति नन्दाको देखिन्छ।
अझ ग्रिपर नन्दाको प्राप्तिको व्याख्या गर्छिन्, ‘घरअगाडिको बगैंचाका आरु, सुन्तला, कागती र एभोकाडोका वृक्षहरूलाई मलजल र गोडमेल गरिरहेकी नन्दाको प्रसन्न अनुहार हेर्दा यस्तो लाग्छ, मानौं उनले रहर गरेको सर्वस्व आखिरमा पाएकी छन्।’ (पृ.२२७)। आखिर नन्दाको विद्रोह सुन्दर घर, शिक्षित सन्तान र श्रीमान्को अन्तर्राष्ट्रिय ख्यातिमा पुगेर विलय भएको छ। रुइत सँगसँगै नन्दाको जीवन पनि शल्यक्रिया कक्षमा गतिशील भएको भए उनी नेपाली महिलाका लागि उदाहरण बन्न सक्थिन्।
पुस्तकमा रुइतको जीवन अनौठोसँग दलाई लामाका साथै भुटानका राजपरिवारसँग जोडिएको देखिन्छ। साथसाथै आध्यात्मिक विषय कसरी प्रकट गरिएको छ भने मानौं उनको जन्म नै कुनै अवतारका रूपमा भएको थियो। उनको कामको वैज्ञानिकतालाई आध्यात्मिक चमत्कारसँग जोड्ने खतरनाक सन्देश दिन खोजिएजस्तो पनि देखिन्छ।
खासमा उनी एउटा कुशल वैज्ञानिक शिल्पी हुन्, जसले विज्ञानको प्रयोगबाट आफ्नो कार्यविधिमा परिमार्जन गरी संसारलाई चकित तुल्याए। उनलाई चमत्कारी र आध्यात्मिक रूपमा पेस गरियो भने आगामी दिनमा उनको चिकित्साशिल्प नै जोखिममा पर्ने देखिन्छ। अनि पुस्तकमा रुइतले लगभग सबैजसो शिविर हिमाली क्षेत्रमा चलाएको देखिन्छ। प्रश्न उठ्न सक्छ— उनको प्राथमिकतामा किन तराईका भागहरू परेनन् ? गरिबीको दर तराई क्षेत्रमा उत्तिकै छ। मैदानी क्षेत्र भएकाले त्यो ठाउँ महŒवहीन भएको हो कि लेख्न छुटाइएको हो, त्यसबारे पुस्तक मौन छ।
पुस्तकमा जातिप्रथाको पिँध भनेर धेरै ठाउँमा बालुङ जातिलाई उल्लेख गरिएको छ। तर, त्यसको सामाजिक छुवाछूतको अवस्था खुल्दैन। डा. रुइत र उनका मित्रले उपचारको क्रममा कसैले छुन नमान्ने बामपुड्केलाई पनि उपचार गरे भनिएको छ (पृ.५५)। ती जातिले कुन पेसा अपनाउँथे खुलाइएको छैन। अंग्रेजी मूल संस्करणमा भने कामीलाई संकेत गर्न खोजिएको बुझिन्छ, जसले हातहतियारको काम गर्छन् (पृ.६८)। योचाहिँ अनुवादका क्रममा गल्ती भएको देखिन्छ।
उसो त डा. रुइतलाई साथ दिने उनको कुशल टिम, अनन्य मित्रहरू हलोज, गाबी, रेक्स सोर, ट्याबिन, उनीहरूसँग सम्बन्धित संस्था नभएको भए उनी एक लाख २० हजारलाई ज्योति प्रदान गर्न सफल हुन्थे कि हुन्थेनन् ? निधारै खुम्च्याएर सोच्न बाध्य भइन्छ।
कतिपय नेपालकै नामचलित स्वास्थ्यकर्मीले आफ्ना पुस्तकमा माओवादी जनयुद्धको प्रत्यक्ष वर्णन गर्ने नाममा विद्रोहीलाई क्रूर राक्षसका रूपमा चित्रण गरिरहेका छन्। एक विदेशी पत्रकारले भने एउटा डाक्टरको जनयुद्धप्रतिको धारणा र माओवादी लडाकुकै सहयोगमा उनले विभिन्न शल्य शिविर चलाएको प्रेरक वर्णन गरेका छन्।
उमेरले छ दशकमा हिँडिरहेका रुइतको जीवनकथा २८ शीर्षक र फोटोबाहेक अंकित रूपमा २३४ पृष्ठमा समेटिएको छ। समग्रमा यो गरिब देशका डाक्टरले नवीन प्रयोगका क्रममा स्वदेशका साथी र प्रशासनसँग गर्नु परेको संघर्ष, अस्पताल स्थापनाको अभियान, पारिवारिक जीवन, सम्पन्न देशहरूको हेपाहा प्रवृत्तिको गतिलो साक्ष्य हो।
कतिपय ठाउँमा त संग्रौला अनूदित पहिलो उपन्यास ‘अजम्बरी गाउँ’का भियतनामीमाथि साम्राज्यवादी बमवर्षक विमानहरूको विनाशपछि गाउँलेले गरेको ललकार र रुइतमित्र हलोजले गरेको ललकार समान लाग्छ। अनुवादकर्ममा केशमा हिउँ जमाइसकेका संग्रौलाका अनुदित कृतिहरू पढ्दा ‘ल्वाँठ साम्राज्यवादी’ भन्ने पदावली बारम्बार आउने हुनाले यसको सर्वाधिकार (कपीराइट) उनकै पोल्टामा पर्नुपर्ने देखिन्छ।