तिम्रो घाँटीमा बेरिएको त्यो चीज

तिम्रो घाँटीमा बेरिएको त्यो चीज

तिमीले भन्यौ, ‘नाइँ, म एक्लै जान जरुरी छ।’ उसले सोध्यो, ‘के तिमी फर्केर आउँछ्यौ ? ’


तिमीलाई लाग्थ्यो, अमेरिकामा सबैसँग गाडी र बन्दुक हुन्छ। आखिरी तिम्रा अंकल, आन्टी, दाजुभाइ, दिदीबहिनी, आफन्त सबैलाई यस्तै त लाग्थ्यो। तिमीलाई अमेरिकाको डीभी परेपछि उनीहरूले भनेका थिए, ‘एक महिनाभित्र तिमीसँग ठूलो गाडी हुनेछ, अनि लगत्तै ठूलो घर पनि। तर ती अमेरिकीहरूले झैं बन्दुकचाहिँ नकिन्नु नि !’

तिमी लेगोसमा आफ्ना आमाबुवा र तीन दाजुभाइ–दिदीबहिनीसँग रङ नपोतिएको एउटा सानो कोठामा बस्थ्यौ। बस्नलाई कुर्सी थिएनन् र तिम्रा आफन्तहरू त्यही कोठाको भित्तामा अडेस लागेर उभिएका थिए— तिमीलाई ठूलो स्वरले बिदा गर्न र साना स्वरले आफूहरूलाई ‘यो पठाइदेऊ’ है भन्न। ठूलो गाडी र घर (अनि सायद बन्दुक)का तुलनामा उनीहरूलाई चाहिएका सामान निकै साना थिए— हाते ब्याग, जुत्ता, अत्तर र लुगाहरू। तिमीले हुन्छ, म पठाइदिऊँला भन्यौ।

परिवारबाट सबैको नामले डीभी भरिदिने तिम्रा अमेरिकामा बस्ने अंकलले अमेरिकामा आफ्नो खुट्टामा नउभिउन्जेल तिमी उनीसँग बस्न सक्ने कुरा बताए। उनी तिमीलाई एअरपोर्टमा लिन आए र तिम्रा लागि हट–डग पनि किनिदिए, जसको गन्धले तिमीलाई वाकवाकी आयो। तिमीलाई हट–डगले वाकवाकी आएको देखेर उनले हाँस्दै भने, ‘अमेरिकासँगको तिम्रो परिचय !’ उनी मेन नामको सानो नगरको एउटा ताल छेउको तीस वर्ष पुरानो घरमा बस्थे। उनले बताएअनुसार उनी काम गर्ने कम्पनीले आफ्नो छवि विविधतापूर्ण देखाउने उत्कट इच्छाका लागि उनलाई औसत तलबभन्दा केही हजार बढी र कम्पनीमा सेयर किन्ने विकल्प पनि दिएको थियो। उनीहरूले तिम्रा अंकलको फोटो आफ्नो हरेक ब्रोसरमा— उनी काम नगर्ने युनिटको ब्रोसरमा पनि— राखेका थिए। तर उनले हाँस्दै आफ्नो जागिर राम्रो भएको बताए। आफ्नी जहानले अफ्रिकी कालो कपाल मिलाउने हेयर सैलुन खोज्नैका लागि एक घन्टा ड्राइभ गर्नु परे पनि आफ्नो जागिर अधिकांश गोरेहरू बस्ने नगर मेनमा बस्नलायकको भएको उनको भनाइ थियो। अमेरिकालाई बुझ्नु नै चलाखी रहेछ, उनी भन्थे। यो बुझ्नुपर्ने रहेछ कि अमेरिका भनेको नै लेन र देन हो। तिमीले धेरै कुरा गुमाउँछौ, तर धेरै कुरा हासिल पनि गर्छौ।

अंकलले तिमीलाई मेन स्ट्रिटको एउटा पेट्रोल पम्पमा क्यासियरको कामका लागि आवेदन दिन सिकाए र त्यहाँको कम्युनिटी कलेजमा भर्ना गराइदिए। त्यहाँ पढ्न आउने केटीहरूका तिघ्रा मोटा थिए, उनीहरू रातो नङपालिस लगाउँथे, सेल्फ ट्यानर लगाउँथे, जसले उनीहरूको हुँदाखाँदाको गोरो छालालाई सुन्तला रङको बनाइदिन्थ्यो। उनीहरूले तिमीलाई अंग्रेजी बोल्न कहाँ सिक्यौ, अफ्रिकामा साँच्चिकैका घर हुन्छन् कि हुँदैनन्देखि लिएर तिमीले अमेरिका आउनुभन्दा अघि कार देखेकी थियौ कि थिइनौ भन्नेसमेत प्रश्नहरू सोधे। उनीहरू तिम्रो कपाललाई साह्रै अशिष्ट पारामा ट्वाँ परेर हेर्ने गर्थे। तिम्रो बाटेको कपाल खोल्दा माथि उठ्छ कि तल झर्छ ? उनीहरू जान्न चाहन्थे। सबै माथि उठ्छ ? कसरी ? किन ? तिमी काइँयो प्रयोग गछ्र्याै ? उनीहरूको यस्तो प्रश्न सुन्दा तिमी कठिन मुस्कान मुस्कुराउँथ्यौ। तिम्रा अंकलले यस्ता प्रश्नको प्रतीक्षा गर्न भनेका थिए, जसलाई उनी अनभिज्ञता र अहंकारको मि श्रण भन्थे। त्यसपछि उनले सुनाए— कसरी उनीहरू त्यो घरमा बस्न आएको, केही महिनापश्चात् छिमेकीहरूले उनलाई त्यो इलाकाबाट लोखर्केहरू गायब हुन थालेको कुरा भनेका थिए। उनीहरूले सुनेअनुसार अफ्रिकीहरू सबै प्रकारका जंगली जनावर खान्थे।

तिमी पनि अंकलसँगै हाँस्यौ। अंकलको घर तिमीलाई आफ्नै लाग्थ्यो। अंकलकी जहानले तिमीलाई न्वान्ने, अर्थात् इग्बो भाषामा बहिनी भनी बोलाउँथिन्। उनका स्कुल जाने उमेर भएका दुई छोराछोरीले तिमीलाई आन्टी भन्थे। उनीहरू इग्बोमै बोल्थे र लन्चमा गारी (प्रख्यात अफ्रिकी व्यञ्जन) खान्थे। त्यसै कारण पनि अंकलको घर तिम्रा लागि आफ्नै घरझैं थियो। तिमी त्यहाँ पुराना कार्टुन र सामानहरू थुपारिएको कुचुक्क परेको बेसमेन्टमा सुत्ने गथ्र्यौ। एक रात तिम्रा अंकल तिमी सुत्ने कोठामा आए र तिम्रो नितम्ब समाती तिमीलाई जबरजस्ती आफूतर्फ तानेर आनन्द लिन थाले। अंकलसँग तिम्रो रगतको साइनो थिएन, उनी तिम्रा फुपाजुका भाइ थिए। तिमीले उनलाई धकेलेपछि उनी तिम्रो खाटमा बसे ( आखिर त्यो उनैको घर थियो। उनले मुस्कुराउँदै भने, ‘तिमी अब बालख रहिनौ, बाइस वर्षकी भइसक्यौ। आफूलाई सुम्पियौ भने म तिम्रा लागि धेरै कुरा सहयोग गरिदिनेछु। चलाख महिलाहरू यस्तै त गर्छन्। तिमीलाई के लाग्छ ? लेगोसमा राम्रो तलब दिने जागिर पाएका महिलाहरूले कसरी त्यो जागिर पाएका होलान् ? अझ न्युयोर्क सिटीमा महिलाहरूले ? ’

अंकल माथिल्लो तलामा नउक्लिएसम्म तिमीले आफूलाई बाथरुममा बन्द गर्‍यौ र भोलिपल्ट बिहानै त्यो घर छोड्यौ। बाटामा तिमीले उनलाई गाडीमा जाँदै गरेको देख्यौ। उनले तिमीलाई कलेज जानका लागि जहिल्यै मेन स्ट्रिटमा ओरालिदिन्थे। आज तिमीलाई देखेर उनले हर्न बजाएनन्। तिमी सोच्न लाग्यौ, उनले आफ्नी जहानलाई तिमीले किन घर छाडेको भन्दा के भन्छन् होला ! अनि फेरि तिमीले अंकलले भनेको कुरा सम्झियौ, ‘अमेरिका भनेको नै लेन–देन हो।’

अन्त्यमा तिमी अर्को सानो नगर कनेक्टिकट पुग्यौ, किनकि तिमी चढेको ग्रेहाउन्ड बसको अन्तिम गन्तव्य नै त्यही थियो। त्यहाँ एउटा रेस्टुराँमा गएर तिमीले आफू अरू वेट्रेसभन्दा दुई डलर कम तलबमा काम गर्नसक्ने बतायौ। रेस्टुराँको म्यानेजर वानको कपाल कालो मसीजस्तो थियो। उसले हाँसेर आफ्नो सुनको दाँत देखायो। उसले आफ्नो रेस्टुराँमा कहिल्यै नाइजेरियनले काम नगरेको तर सबै आप्रवासीले मेहनतले काम गर्ने बतायो। उसले तिमीलाई गोपनीयताका साथ एक डलर कम दिन तयार भयो। अरूले आफूलाई कर तिराउने गरेको कुरा उसलाई मन परेको थिएन।

तिमीसँग कलेज जानसक्ने सामथ्र्य थिएन। अब तिमी दाग लागेको कार्पेट ओछ्याइएको एउटा सानो कोठाको भाडा तिर्ने गथ्र्यौ। यो सानो नगर कनेक्टिकटमा कम्युनिटी कलेज पनि थिएन र स्टेटको विश्वविद्यालय जान निकै पैसा लाग्थ्यो। त्यसैकारण तिमी त्यहाँको सार्वजनिक पुस्तकालय जाने गथ्र्यौ र कलेजको वेबसाइटहरूमा पाठ्यक्रम हेरी त्यहाँ उल्लेख गरिएका केही किताब पढ्थ्यौ। कहिलेकाहीँ तिमी आफ्नो खाटको भद्दा डसनामाथि बसी घर सम्झिने गथ्र्यौ— ग्राहकलाई फकाएर सुकेका माछा र केराजस्तै तरकारी बनाएर खाइने ‘प्लानटेन’ बेच्ने र किन्न नमान्दा उनीहरूलाई कराउँदै गाली गर्ने तिम्रा आन्टीहरू, स्थानीय जाँड पिउने र आफ्नो जीवन तथा परिवारलाई एउटै कोठामा जाक्ने तिम्रा अंकलहरू, तिमीलाई डीभी परेकोमा खुसी र ईष्र्या दुवै एकैसाथ व्यक्त गर्न र तिमीलाई अमेरिका जानुभन्दा अघि बिदा गर्न आएका तिम्रा साथीहरू, आइतबार बिहान चर्च जाँदा प्रायः एकअर्काको हात समाएर हिँड्ने तिम्रा आमाबाबु, त्यो दृश्य देखेर हाँस्ने र गिज्याउने तिम्रा छिमेकीहरू, आफ्नो कामबाट हाकिमले पढिसकेको पुरानो पत्रिका ल्याएर तिम्रा भाइहरूलाई पढाउनुहुने तिम्रा बाबा, आफ्नो तलबले तिम्रा भाइहरूको स्कुलको शुल्क तिर्न विरलै पुग्ने तिम्री आमा। त्यो स्कुल त्यस्तो थियो, जहाँ शिक्षकहरूलाई अभिभावकले खैरो रङको खाम थमाइदियो भने शिक्षकहरू विद्यार्थीलाई ‘ए’ ग्रेड दिन्थे।

तिमीले ‘ए’ पाउनका लागि शिक्षकको हातमा खैरो रङको खाम कहिल्यै थमाउनु परेन। तथापि, आफ्नो एक महिनाको तलबबाट आधा पैसा तिम्रा आमाबुवालाई तिम्री आमा क्लिनर भएको संस्थानको ठेगानामा पठाउनुपर्दा तिमी त्यही खैरो रङको खाम छान्थ्यौ। तिमी जहिले पनि पैसा पठाउनुपर्दा वानले तिमीलाई दिएको पैसा प्रयोग गथ्र्यो, किनभने ती डलरका नोटहरू नयाँ र ताजा हुन्थे, तिमीले पाउने टिप्सजस्ता कच्याककुचुक परेका हुन्नथे। हरेक महिना तिमी पैसा ध्यानपूर्वक सेतो कागजमा बेरेर पठाउँथ्यौ तर कहिल्यै चिठी वा पत्र भने लेख्दिनथ्यौ। लेखे पनि के लेख्नु। लेख्नलाई केही त थिएन तिमीसँग।

यद्यपि पछिल्ला हप्ताहरूमा तिमीलाई चिठी लेख्ने रहर जागेको थियो किनकि तिमीसँग भन्नलाई कथाहरू थिए। तिमीलाई लेख्न मन थियो अमेरिकाका मानिसहरूको आश्चर्यजनक खुलापनका बारेमा, कति उत्सुकतापूर्वक उनीहरू आफ्नी आमाले क्यान्सरसँग जुधिरहेको र आफ्नी भाउजूको समय नपुग्दै जन्मिएको बच्चाको बारेमा भन्थे। यस्ता विषयको बारेमा भन्थे, जो मानिसले लुकाउनुपर्छ अथवा आफ्नो भलो चाहने परिवारजनलाई मात्र सुनाउनुपर्छ। तिमीलाई लेख्न मन थियो, कसरी मानिसहरू कति धेरै खाना प्लेटमा छाड्थे र एक दुई डलरका नोटहरू कच्याककुचुक पारेर टेबलमा राखिदिन्थे, मानौं त्यो पैसा खेर फालिएको खानाका लागि प्रायश्चित हो। तिमीलाई लेख्न मन थियो, त्यो पाँच वर्षकी बालिकाका बारेमा, जसले रेस्टुराँमा आफ्नो खैरो कपाल तान्दै टेबलमा भएको मेन्यु फालेर रुन थालेकी थिई र उसका आमाबुवाले उसलाई चुप लगाउनको साटो उल्टै उसले भनेको मानेर रेस्टुराँबाट उठेर गएका थिए। तिमीलाई यहाँका धनी मानिसहरूका बारेमा पनि लेख्न मन थियो, जो पुराना कपडा र जीर्ण जुत्ता लगाएर आउँथे र जो लेगोसमा ठूला कम्पाउन्ड अगाडि बस्ने रात्रिकालीन चौकीदारजस्ता देखिन्थे। तिमीलाई लेख्न मन थियो कि धनी अमेरिकीहरू दुब्ला र गरिब अमेरिकीहरू मोटा हुन्छन् र यहाँ सबैजनासँग ठूला घर र गाडी थिएनन्। बन्दुकका बारेमा चाहिँ तिमी अझै विश्वस्त थिइनौ, किनभने तिमीलाई के थाहा, मानिसहरूको गोजीमा बन्दुक हुन सक्थ्यो।

तिमीलाई आफ्ना आमाबुवालाई मात्र नभएर आफ्ना साथीभाइ, नाता पर्ने दाजुभाइ, दिदीबहिनी, अंकलआन्टी, सबैलाई चिठ्ठी लेख्न मन थियो। तर तिमीसँग त्यही वेट्रेसको कामबाट कमाइ भएको पैसाले पर्याप्त अत्तर, लुगा, हाते ब्याग, जुत्ताहरू किन्न र एकैसाथ महिनैपिच्छे कोठाभाडा पनि तिर्न सम्भव हुँदैनथ्यो, त्यसैले तिमीले कसैलाई पनि चिठी लेखिनौ।

तिमीले कसैलाई पनि नभनेका कारण तिमी कहाँ छौ भन्ने कुरा कसैलाई पनि थाहा थिएन। कहिलेकाहीँ तिमी अदृश्य महसुस गथ्र्यौ र आफ्नो कोठाको भित्तापछाडि भएको प्यासेजमा जानका लागि भित्ताभित्र घुस्न खोज्थ्यौ। यसो गर्दा भित्तामा ठोकिएर तिम्रो हातमा चोट लाग्थ्यो। एकचोटि वानले सोधेको पनि थियो, ‘कुनै केटाले तिमीलाई कुटपिट गर्छ कि ? गर्छ भने म त्यसको बन्दोबस्त गर्छु।’ उसले भनेको थियो। तिमी उसको यो प्रश्न सुनेर रहस्यमय हाँसो हाँसेकी थियौ।

राति केही चीजले तिम्रो घाँटी ख्याप्पै ङ्याकेजस्तो हुन्थ्यो र तिमी ननिदाउन्जेलसम्म त्यसले झन्डै निसास्सिने गरी तिम्रो गला दबाउँथ्यो। रेस्टुराँमा धेरै मानिसले तिमी जमाइकाबाट कहिले आएकी भनेर सोध्थे किनभने उनीहरूलाई हरेक विदेशी लवज भएको कालो मानिस जमाइकन नै हुन्छजस्तो लाग्थ्यो। र कसैले तिमी अफ्रिकन हौ भनी चाल पाए भने, तिमीसँग आएर आफूलाई हात्ती एकदमै मन पर्ने र सफारीमा जान मन भएको भनिहाल्थे।

उसले तिमीलाई रेस्टुराँको अँध्यारामा तिमीले दैनिक स्पेसलको बारेमा बताइसकेपछि, ‘तिमी कुन अफ्रिकी देशबाट हो ? ’ भन्ने प्रश्न सोध्यो। तिमीले नाइजेरिया भनिसकेपश्चात् उसले पक्कै पनि ‘मैले बोट्स्वानामा एड्सविरुद्धको लडाइँका निम्ति पैसा दान दिएको छु’ भन्छ भनी अपेक्षा गरेकी थियौ। तर उसले तिमीलाई तिम्रो फुलानी (पश्चिमी अफ्रिकाको सबैभन्दा ठूलो जातीय समूह) अनुहार छैन, तिमी योरुबा हौ कि इग्बो हौ भनी सोध्यो।

तिमी आश्चर्यचकित भयौ— सोच्यौ कि सायद ऊ स्टेट विश्वविद्यालयमा मानवशास्त्रको प्राध्यापक होला, उसको उमेर यस्तै बीसको दशकको उत्तरार्धतिर होला भनी अनुमान लगायौ तर को जानोस् ? तिमीले जवाफ दियौ, इग्बो। उसले तिम्रो नाम सोध्यो र अकुन्ना, कति सुन्दर नाम भन्यो। धन्न उसले तिम्रो नामको अर्थ सोधेन, किनभने मानिसहरूले तिमीलाई ‘नामको अर्थ बुवाको धन ? अर्थात् तिम्रो बुवाले साँच्चिकै तिमीलाई तिम्रो श्रीमान्लाई बेचिदिनुहुन्छ ? ’ भन्दा भन्दा तिमी दिक्क भइसकेकी थियौ।

उसले आफू गाना, युगान्डा र तान्जानिया गएको कुरा र ओकोट पिटेकका कविताहरू र आमोस टुटुओलाको उपन्यासहरू एकदमै मन पर्ने तिमीलाई भन्यो। उसले सहारा मरुभूमिबाट दक्षिणपट्टिका अफ्रिकी देशहरूका बारेमा, उनीहरूको इतिहास र जटिलताका बारेमा निकै अध्ययन गरेको रहेछ। तिमीलाई उपेक्षा महसुस गर्न मन थियो, उसले अर्डर गरेको खानेकुरा ल्याउँदा घृणा देखाउन मन थियो, किनभने अफ्रिकालाई असाध्यै मन पराउने गोरा र असाध्यै कम मन पराउने गोराहरू दुवै तिम्रा लागि समान थिए (अफ्रिकीलाई आफूभन्दा तलको ठानी दया (कृपा) प्रदर्शन गर्ने खालका।

तर उसले मेन कम्युनिटी कलेजमा पढाउने प्राध्यापक कोबलडिकले कक्षामा ‘अफ्रिकामा राजनीतिक स्वतन्त्रता’ विषयमा भएको विमर्शका बेला विशेष तरिकाले टाउको हल्लाएजस्तै आफ्नो टाउको हल्लाएन। उसको मुहारमा प्राध्यापक कोबलडिकको जस्तो पनि भाव थिएन, त्यो भाव, जसले आफूलाई अरू मानिसहरूभन्दा श्रेष्ठ ठान्थ्यो। ऊ अर्को दिन फेरि आएर त्यही टेबलमा बस्यो र तिमीले उसलाई चिकन ठीक छ कि छैन भनी सोध्दा उसले ‘तिमी लेगोसमै हुर्केकी हौ ? ’ भनी सोध्यो। तेस्रो दिन ऊ अर्डर दिनुभन्दा अघि नै बोल्न थालिसकेको थियो। आफू मुम्बई घुम्न गएको र अब लेगोसका मानिसहरूको रहनसहन हेर्नका निम्ति लेगोस जाने चाहनाको बारेमा भनेको थियो। त्यो दिन उसले धेरै बोल्न चाहेका कारण तिमीले उसलाई यसरी वेट्रेससँग रेस्टुराँमा धेरै कुरा गर्नु नियमविपरीत हो भनी भन्नुपर्ने अवस्था आयो। तिमीले पानीको ग्लास टेबलमा राख्दा उसले तिम्रो हातमा हलुका स्पर्श गर्‍यो। चौथो दिन ऊ आएपश्चात् तिमी सीधै वान भएठाउँ गयौ र तिमीलाई ऊ बसेको टेबल नदिन आग्रह गर्‍यौ। त्यस रात तिम्रो काम सकिएपछि बाहिर निस्केर हेर्दा कानमा इयरफोन ठोसेर तिम्रा लागि बाहिर कुरेर बसिरहेको थियो ऊ। उसले तिमीलाई आफूसँग डेटमा जान आग्रह गर्‍यो किनभने तिम्रो नाम हाकुना मटाटासँग राइम हुन्छ रे र उसलाई मन परेको एकमात्र अत्यधिक भावुक फिल्म थियो अफ्रिकी लायनहरूको कहानीमा बनेको फिल्म लायन किङ। उज्यालो प्रकाशमा तिमीले उसको मुहारलाई हेर्‍यौ र देख्यौ उसका ती आँखा, जुन एक्स्ट्रा भर्जिन ओलिभ आयलको रङजस्तो हरिया, सुनौला थिए। अमेरिकामा तिमीलाई अत्यन्तै मन पर्ने एकमात्र चीज थियो— भर्जिन ओलिभ आयल।

ऊ स्टेट विश्वविद्यालयमा पढिरहेको रहेछ। उसले तिमीलाई आफ्नो उमेर बताएपश्चात् तिमीले उसलाई उसको डिग्री अझै किन नसकिएको भनी सोध्यौ। जे भने पनि यो अमेरिका थियो, नाइजेरियाजस्तो थिएन, जहाँ विश्वविद्यालयहरू बारम्बार बन्द भइराख्थे र आफ्नो पढाइ पूरा हुन नसकेर विद्यार्थीहरूले थप तीन वर्ष पढ्नुपर्ने हुन्थ्यो। प्राध्यापकहरू हडतालपिच्छे हडताल गर्थे तर पनि तलब पाउँदैनथे। केही वर्ष छुट्टी लिएर आफूलाई नै आविष्कार गर्न एसिया र अफ्रिकाको यात्रामा गएको उसले बतायो। अनि कहाँ आविष्कार गर्‍यौ त आफूले आफूलाई भनी तिमीले उसलाई सोध्दा ऊ हाँस्यो। तर तिमी हाँसिनौ। मानिसहरूसँग यति सजिलैसँग कलेज जान्न भन्न सक्ने अधिकार पनि हुन्छ र उनीहरू आफ्नो जीवन आफ्नै हुकुममा बाँच्न सक्छन् भन्ने कुरा तिमीलाई थाहा थिएन। तिमी त जीवनले जे दियो त्यही स्वीकार गर्न र जीवनको हुकुमअनुसार चल्न अभ्यस्त भइसकेकी थियौ।

उसँग डेटमा जान तिमीले चार दिनसम्म नाइँ भन्यौ किनभने उसले तिम्रो मुहारतिर हेर्ने त्यो तीव्र नजरले तिमीलाई ऊसँग हरेक दिन बिदा माग्न बाध्य पार्नुका साथै फेरि फर्केर गइहाल्न पनि अनिच्छा पैदा गथ्र्याे। जब पाचौं रात्रिमा आफ्नो काम सकिएपछि बाहिर हेर्दा ढोकामा उसलाई देखिनौ, तिमी आत्तियौ। त्यतिखेर तिमीले धेरै समयपछि प्रार्थना गर्‍यौ र जब उसले तिमीलाई पछाडिबाट बोलायो, उसले सोध्नुभन्दा अघि नै तिमीले हुन्छ, म तिमीसँग डेटमा जान तयार छु भन्यौ। तिमीलाई त्यति बेला डर लागेको थियो, उसले फेरि सोधेन भने ?

अर्को दिन उसले तिमीलाई चाङ्स नामको रेस्टुराँमा डिनरका लागि लग्यो। तिम्रो फर्चुन कुकीमा दुईवटा टुक्रा कागज परेको थियो। दुवैमा केही भविष्यवाणी गरिएको थिएन, दुवै खाली थिए।

तिमीले उसलाई आफू रेस्टुराँको टीभीमा अमेरिकी टेलिभजन गेम सो जियोपार्डी हेर्ने गरेको बतायौ। जब तिमीले आफूले जियोपार्डीमा प्रतियोगीहरूलाई यो क्रमले — काला महिला, काला पुरुष, गोरा महिला र अन्तिममा मात्र गोरा पुरुष — समर्थन गर्ने गरेको भन्यौ, तिमीलाई आफूले ऊसँग सहज महसुस गर्न थालेको आभास भयो। अन्तिममा गोरा पुरुषको मतलब थियो कि तिमी कहिल्यै गोरा पुरुषको समर्थन गर्दिनथ्यौ। यति सुनेपछि ऊ हाँस्यो र आफूलाई समर्थन नगरे पनि केही फरक नपर्ने बानी भएको उसले बतायो। किनभने उसकी आमा महिला अध्ययनकी प्राध्यापक हुनुहुन्थ्यो।

तिमीले आफू ऊसँग समीप आएको तब चाल पायौ जब तिमीले उसलाई आफ्नो बुवा लेगोसमा स्कुल टिचर नभएर एउटा कन्स्ट्रक्सन कम्पनीमा सानो पदको ड्राइभर हुनुहुन्छ भनेर भन्यौ। र तिमीले उसलाई त्यस दिनका बारेमा भन्यौ जुन दिन लेगोसमा अत्यन्त धेरै ट्राफिक थियो र पानी परिरहेकाले तिम्रो बुवाले चलाउने पुरानो भत्किन लागेको पिउगोट ५०४ को छतको दुलोबाट पानी चुहिएर तिम्रो सिटलाई पूरै भिजाएको थियो। ट्राफिक अधिक थियो, लेगोसमा जहिल्यै ट्राफिक धेरै हुन्थ्यो तर पानी परेको बेला त झन् उथलपुथल नै हुन्थ्यो। रोडहरू सबै हिलाम्मे पोखरी हुन्थे र कारहरू फस्थे। त्यस्तो बेला तिम्रा दाजुभाइहरू फसेको कारलाई ठेलेर, बाहिर ल्याउन मद्दत गरी पैसा कमाउँथे। त्यस दिनको त्यो झरी, त्यो दलदलले गर्दा तिम्रो बुवालाई ब्रेक लगाउन अलि ढिलो भयो होला। तिमीले त्यो धक्का महसुस गर्नुअघि नै ढ्वाङ आवाज सुन्यौ। तिम्रो बुवाले ठोक्काएको कार ठूलो, शानदार अनि गाढा हरियो रङको थियो र गाडीको सुनौलो हेडलाइट चितुवाका दुई आँखाझैं थिए। आफ्नो गाडीबाट बाहिर निस्कनुभन्दा पहिले तिम्रो बुवा रुन। कराउन र बिन्ती गर्न थाल्नुभयो र बाहिर निस्केपछि रोडमा लम्पसार पर्नुभयो। उहाँ सुतेपछि धेरै हर्न बज्न थाले। उहाँले ‘माफ पाऊँ हजुर, माफ पाऊँ हजुर’ भनी रट लगाउन थाल्नुभयो। ‘हजुरले म र मेरो परिवार–सबैलाई बेच्नुभए पनि हजुरको गाडीको एउटा टायर पनि खरिद गर्न सक्नुहुन्न। माफ पाऊँ हजुर।’

कारभित्र बसेका ती ठूला मान्छे बाहिर निस्किएनन्, तर उनको ड्राइभर निस्कियो र भएको क्षतिलाई ध्यानपूर्वक हेर्न लाग्यो। उसले लमतन्न भएर सुतेका बुवालाई आफ्नो आँखाको कुनाबाट यसरी हेर्‍यो कि मानौं बिन्ती याचना गर्नु भनेको कुनै अश्लील कुरा गरेझैं हो, जुन दृश्य आफूले हेर्दा रमाएँ भन्न ऊ लज्जित थियो। अन्तिममा उसले तिम्रो बुवालाई छाडिदियो। अरू गाडीका हर्नहरू चिच्याउन थाले र ड्राइभरहरूले पनि गाली गर्न लागे। जब तिम्रो बुवा आफ्नो गाडीभित्र फिर्ता आउनुभयो, तिमीले उहाँलाई एक नजर पनि हेर्न चाहिनौ किनभने उहाँ बजारवरिपरि दलदलमा लडिबुडी गर्ने सुँगुरझैं हुनुभएको थियो। उहाँ अचाक्ली फोहोर देखिनुभएको थियो।

तिमीले उसलाई यो कुरा भनिसकेपश्चात् उसले केही गम्भीर भएर तिम्रो हात समाई ‘तिम्रो भावना म बुझ्छु’ भन्यो। अचानक झिँझो मानेर तिमीले आफ्नो हात उसको पकडबाट झट्कार्‍यौ र भन्यौ— यहाँ बुझ्नका लागि केही छैन, जे जस्तो थियो, त्यो त्यस्तै थियो। उसले हार्टफोर्ड टेलिफोन निर्देशिकामा हेरेर एउटा अफ्रिकन पसल भेट्यो र तिमीलाई त्यहाँ लग्यो। उसले त्यहाँ परिचित तरिकाले हिँडेको, ताडको रक्सीको बोतललाई झुकाएर कति थेगर छ भनी हेरेको देखी गानियन पसलेले उसलाई ऊ गोरे केनियाली र दक्षिण अफ्रिकीझैं अफ्रिकन हो कि भनी सोध्यो र जवाफमा उसले हो, ऊ केनियाली हो तर ऊ अमेरिकामा लामो समयदेखि बसोबास गरिरहेको छ भनी भन्यो। पसलेले उसको कुरा पत्याएको देखेर ऊ प्रसन्न भयो। त्यो साँझ तिमीले अफ्रिकी पसलमा किनेका सामानहरू प्रयोग गरेर अफ्रिकी परिकार पकायौ र उसले गारी र ओनुग्बु सुप खाइसकेपछि तिम्रो सिन्कमा बान्ता गर्‍यो। तिमीलाई नराम्रो लागेन, किनभने अब तिमी ओनुग्बु सुप मासु मिसाएर बनाउन सक्थ्यौ।

ऊ मासु खाँदैनथ्यो, किनभने उसलाई मानिसहरूले जनावर गलत रूपमा मार्छन् जस्तो लाग्थ्यो। यसले गर्दा जनावरमा भय विष पैदा हुन्थ्यो र भय विषले मानिसलाई पागल बनाउन सक्थ्यो। घरतिर जब तिमी मासु खान्थ्यौ, सो मासुको पिस तिम्रो औंलाको आधा साइजको हुन्थ्यो। तर तिमीले यो कुरा उसलाई भनिनौ। तिमीले यो पनि भनिनौ कि तिम्री आमाले सबै खानेकुरा दावादावाको डल्लो राखेर बनाउँथिन्, किनभने कडीपत्ता र ज्वानोको पत्ता (थाइम) धेरै महँगो पथ्र्यो। दावादावाको डल्लोमा अजिनोमोटो हुने गथ्र्यो, त्यो अजिनोमोटो नै थियो। ऊ भन्थ्यो— अजिनोमोटोले क्यान्सर निम्त्याउँछ। उसलाई चाङ्स रेस्टुराँ यसै कारण मन पथ्र्यो किनभने त्यहाँ अजिनोमोटो प्रयोग गरिँदैनथ्यो।

एकचोटि चाङ्समा हुँदा उसले वेटरलाई आफू हालसालै सांघाई गएको र अलिकति मान्डारिन पनि बोल्ने कुरा भनेको थियो। वेटरले अलि सहज महसुस गर्न थालेपछि कुन सुप मीठो छ भनी सोध्यो र ‘तपाईंको गर्लफ्रेन्ड सांघाईमा छिन् ? ’ पनि सोध्यो। ऊ मुसुक्क मुस्कुरायो तर केही जवाफ दिएन।

तिम्रो भोक हरायो, तिम्रो छातीको भित्री भागमा अवरोध भयो। त्यस रात ऊ तिमीभित्र छिर्दा तिमीले आनन्दले आवाज निकालिनौ, जानीजानी आफ्नो ओठ टोक्यौ र आनन्द प्रकट गरिनौ। किनभने त्यसपश्चात् ऊ चिन्तित हुन्छ भन्ने तिमीलाई थाहा थियो। पछि तिमीले उसलाई आफू चिन्तित हुनुको कारण बतायौ, ‘हामीहरू यति समयसम्म सँगै चाङ्स रेस्टुराँ गए पनि, वेटरले मेनु ल्याउनुभन्दा केही अघिसम्म तिमीले मलाई किस गरिरहे पनि त्यस चिनियाँ वेटरले तिम्रो गर्लफ्रेन्ड म हुँ भनेर कल्पना पनि गरेन। उसले तिमीलाई तिम्रो गर्लफ्रेन्डका बारेमा सोध्दा पनि तिमी हाँस्यौ मात्र, केही जवाफ दिएनौ।’

उसले तिमीसँग माफी माग्नुअघि भावशून्य नजरले तिमीलाई हेर्‍यो र उसले तिम्रो कुरै बुझेन भन्ने कुरा तिमीले चाल पायौ।

तिम्रा लागि उसले उपहारहरू किनिदिन्थ्यो र तिमीले महँगो भयो भनी आपत्ति जनाउँदा उसले बोस्टोनमा आफ्नो हजुरबुवा एकदमै धनाढ्य भएको भन्थ्यो। तर यो वाक्य भनिसकेपश्चात् हत्तपत्त फेरि भन्थ्यो, बूढामान्छेले धेरै दान दिएका कारणले ऊसँग भएको न्यास–कोष धेरै ठूलो थिएन। उसका उपहारहरूले तिमीलाई अचम्मित पाथ्र्यो। एउटा मुठीजत्रो सिसाको बल, जसलाई हल्लाउनेबित्तिकै त्यहाँभित्र भएकी सानो गुलाबी रङको गुडिया वरिपरि घुम्थी। एउटा चम्किलो ढुंगा, जसको सतहले जेलाई छोयो, त्यसैको रङ लिन्थ्यो। मेक्सिकोमा हातले रङ भरेको महँगो रुमाल। अन्ततः तिमीले उसलाई व्यंग्यात्मक तरिकाले भन्यौ कि तिम्रो जीवनका उपहारहरू जहिल्यै काम लाग्ने हुन्थे। जस्तै ढुंगाबाट केही पिस्न सकिने भए त्यो काम लाग्ने थियो। तिम्रो कुरा सुनेर ऊ एकदमै ठूलो हाँसो लामो समयसम्म हाँस्यो तर तिमी भने हाँसिनौ। जीवनमा उसले उपहार दिनका लागि मात्रै किन्न सक्थ्यो, र उसका उपहारहरू केही काम लाग्ने हुन्नथे भन्ने कुरा तिमीले बुझ्यौ। जब उसले तिम्रा लागि जुत्ता, लुगा र किताबहरू किनिदिन थाल्यो, तिमीले उसलाई नकिनिदिन आग्रह गर्‍यौ र भन्यौ, ‘मलाई कुनै उपहार चाहिँदैन।’ त्यति भनिसकेपछि पनि उसले किनिदिन छोडेन। तिमीले ती सामानहरू आफू घर फर्किन समर्थ भएपछि आफ्ना दाजुभाइ, दिदीबहिनी, अंकल आन्टीलाई दिनका लागि राख्यौ। तर आफू घर जान सक्षम कहिले हुन्छु, कसरी नाइजेरियाको टिकट र यहाँको घरभाडा दुवै तिर्न सफल हुन्छु भन्ने कुरा तिमी आफैंलाई थाहा थिएन।

उसले आफूलाई साँच्चिकै नाइजेरिया हेर्न मन लागेको र दुवैको जाने खर्च जुटाउन सक्ने कुरा भनेको थियो। तिमीलाई भने ऊ नाइजेरिया जाओस्जस्तो लागेको थिएन, नाइजेरियालाई ती देशहरूको सूचीमा सामेल गराउनका लागि, जहाँ ऊ गरिब मानिसको जीवनलाई ट्वाँ परेर हेर्न गएको थियो जब गरिब मानिसहरूले उसको जीवनलाई त्यसरी कहिल्यै हेर्न सक्ने थिएनन्।

तिमीले यो कुरा उसलाई एउटा घुर्माइलो दिनमा भनेकी थियौ जब उसले तिमीलाई लङ आइल्यान्ड साउन्ड भन्ने ठाउँ देखाउन लगेको थियो। तिमीहरू दुई जना त्यति बेला शान्त समुद्री पानीमाझ हिँड्दै ठूलो आवाजमा बहस गर्दै थियौ। उसलाई पाखन्डी भन्न तिमी गलत थियौ भन्ने जिकिर उसले गर्‍यो। बम्बईमा उसले देखेका गरिब भारतीय मात्रै वास्तविक भारतीय हुन् भन्नमा ऊ गलत थियो भनी तिमीले भन्यौ। यसको मतलब ऊ वास्तविक अमेरिकी थिएन ? किनभने ऊ त तिमीहरूले हार्टफोर्डमा देखेको जस्तो मोटो गरिब मान्छेहरूजस्तो थिएन ? रिसाएर हतारिँदै, आफ्नो चप्पलले बालुवा उडाउँदै ऊ तिमीभन्दा केहीअघि सरेर हिँड्न थाल्यो तर फेरि फिर्ता आएर आफ्नो हात तिम्रो हाततर्फ बढायो। तिमीले पनि आफ्नो रिस छाडिदियौ र तिमीहरू दुईले त्यहीँ सम्भोग गर्‍यौ। हातले एक अर्काको कपाल मुसार्‍यौ। उसको नरम सुनौलो कपाल बढ्दो मकैको बोटको जुँगाजस्तो थियो र तिम्रोचाहिँ कालो र भुक्क परेको सिरानीको रुवाजस्तो। धेरै घाम भएका कारण उसको गोरो छाला पाकेको खर्बुजाजस्तो भएको थियो। तिमीले उसको ढाडमा चुम्यौ र लोसन लगाइदियौ।

तिमीलाई ननिदाउन्जेलसम्म घाँटीमा अँठ्याउने त्यो चीज खुकुलो हुन थाल्यो। तिमी त्यसबाट मुक्त हुन थाल्यौ।

मानिसहरूको प्रतिक्रियाका कारण उसको र तिम्रो जोडी असामान्य थियो भन्ने कुरा तिमीलाई थाहा भइसकेको थियो। तिमी दुईलाई सँगै देखेर अप्रिय मानिसहरूले धेरै नै अप्रिय भइदिन्थे भने राम्राहरू धेरै नै राम्रा। ती बूढा गोरा बूढाबूढीहरू जो उसलाई हेर्दै खासखुस गर्थे, ती काला पुरुषहरू जो तिमीलाई हेरी आफ्नो शिर झुकाउँथे, ती काला महिलाहरू, जसका दयालु आँखाहरू तिम्रो स्वाभिमान र आत्म–घृणा देखी दुःख प्रकट गर्थे, अथवा ती काला महिलाहरू जो ऐक्यबद्धताको मधुर हाँसो हाँस्थे, ती काला पुरुषहरू जो उसलाई ‘हाई’ भनेर तिमीलाई माफ गरिदिन निकै कठिन प्रयास गर्थे, ती गोराहरू जो तिमीहरूलाई देखि निकै उँचो स्वरमा ‘कति राम्रो देखिने जोडी’ भन्थे, मानौं आफैंले आफूलाई आफ्नो उदारता प्रमाणित गर्न चाहन्छन्।

तर उसका माता–पिता भने भिन्न थिए। उनीहरूले झन्डैझन्डै सबै कुरा सामान्य छ भन्ने महसुस गराउँथे। उसकी आमाले उसले अहिलेसम्म हाइस्कुलको प्रोमडेटबाहेक कुनै अन्य केटीलाई आफूहरूसँग भेटाउन नल्याएको बताउनुभयो। उसकी आमाले यति भन्दा उसले तिम्रो हात समातेर अररो हाँसो हाँस्यो। उसले तिम्रो हातलाई आफ्नो हातले हलुका च्याप्यो, तिमीले पनि त्यसै गर्‍यौ। आफ्ना आमाबुवासँग बोल्दा उसको त्यो एक्स्ट्रा भर्जिन ओलिभ आयलजस्तो हरियो रङको आँखामा अँध्यारो कालो रङ किन छाउँछ र हात किन अररो हुन्छ भनी तिमी विष्मयमा पर्‍यौ। उसकी आमाले तिमीलाई नवाल इल सदावी पढ्छौ भनेर सोध्दा तिमीले पढ्छु भनेपछि उहाँ आनन्दित हुनुभएको थियो। उसका बुवाले तिमीलाई नाइजेरियन खाना भारतीय खानासँग कत्तिको मिल्दोजुल्दो छ भनी सोध्नुभयो र बिल आएपछि तिमी पैसा तिर है भनी जिस्क्याउनुभयो। तिमीले उहाँहरूलाई हेर्‍यौ र कृतज्ञ महसुस गर्‍यौ। कमसेकम उहाँहरूले त तिमीलाई एउटा आकर्षक ट्रोफी अथवा हात्तीको दाँतजसरी नियाल्नुभएन।

तत्पश्चात्, उसले तिमीलाई आफ्नो आमाबुवासँगको खटपटको बारेमा सुनायो। कसरी उहाँहरू आफ्नो माया जन्मदिनको केक जसरी भाग लगाउनुहुन्थ्यो, कसरी उहाँहरूले उसलाई ल स्कुल जान माने मात्र आफ्नो मायाको ठूलो अंश दिनेवाला हुनुहुन्थ्यो। तिमीलाई ऊप्रति सहानुभूति देखाउन मन थियो तर त्यसको साटो तिमी क्रोधित बन्यौ।

जब उसले गर्मीयाममा आफ्नो आमाबुवासँग एक दुई हप्ताका लागि क्यानडामा क्वेबेकको गाउँतिर रहेको उनीहरूको कटेजमा जान अस्वीकार गर्‍यो, तब तिमी झनै बढी क्रोधित भयौ। उहाँहरूले तिमीलाई पनि ऊसँगै ल्याउने आग्रह गर्नुभएको थियो। उसले तिमीलाई कटेजका फोटाहरू देखायो। त्यसलाई किन कटेज भनिएको होला भनी तिमी सोच्न लाग्यौ, किनभने नाइजेरियामा आफ्नो घरको वरिपरि त्यति ठूला बिल्डिङहरू त बैंक र चर्चहरू हुने गर्थे। तिमीले सिसाको ग्लास भुइँमा झार्‍यौ, जुन झरेर चकनाचुर भयो। उसले के भएको छ तिमीलाई भनी सोध्यो तर तिमीले केही होइन भन्यौ, यद्यपि मनमनै सोच्यौ, धेरै कुरा भइरहेको छ। पछि बाथरुममा नुहाउँदै गर्दा तिमी रुन थाल्यौ। सावरबाट झरेको पानीले आफ्नो आँसुलाई फिका बनाइरहेको तिमीले हेर्‍यौ। आफू किन रोइरहेकी थियौ, तिमीलाई नै थाहा थिएन।

अन्त्यमा तिमीले घर पठाउन चिठी लेख्यौ। तिमीले आमाबुवाका लागि लेखेको सानो पत्र खरो डलरको नोटभित्र छिरायौ र आफ्नो ठेगाना पनि लेख्यौ। तिमीले केही दिनपछि नै कुरियरबाट जवाफ प्राप्त गर्‍यौ। माकुराझैं अक्षरहरू र अशुद्ध हिज्जे देखेर बुझिहाल्यौ— आमाले पत्र आफैं लेख्नुभएको थियो।

तिम्रा बुवा बितिसक्नुभएछ, आफ्नो कम्पनीको कारमा ड्राइभरको सिटमा मृत अवस्थामा भेटिनुभएछ। आज पाँच महिना भयो, आमाले लेख्नुभएको थियो। तिमीले पठाइदिएको पैसा चलाएर उहाँहरूले बुवाको व्यवस्थित अन्तिम संस्कार गर्नुभएछ। मलामीका लागि एउटा खसी काट्नुभएछ र बुवालाई राम्रो बाकसमा हाली चिहानमा गाडिदिनुभएछ। आफ्नो खाटमा बटारिएर तिमीले घुँडा छातीमा दबायौ र सोच्न लाग्यौ— तिम्रो बुवाको मृत्यु भइरहेको बेला तिमी के गरिरहेकी थियौ ? उनी यत्रो महिना मृत हुँदा तिमी के गरिरहेकी थियौ ? सायद तिम्रो बुवाको मृत्यु त्यस दिन भएको थियो जब तिमीले वर्णन नै गर्न नसक्ने गरी तिम्रो पूरै शरीरमा नपाकेको चामलजस्तै कडा काँडा उम्रिएका थिए। वानले त्यति बेला तिमीलाई ‘किचनमा कुकको ठाउँ लिने हो कि, भान्साको गर्मीले तिमीलाई न्यानोपन देला’ भन्दै जिस्क्याएको थियो। सायद तिम्रो बुवाको मृत्यु त्यस दिन भएको थियो जुन दिन तिमी कनेक्टिकटको मिस्टिक भन्ने ठाउँ गएकी थियौ, अथवा त्यस बेला जब तिमी म्यानचेस्टरमा एक नाटक हेरिरहेकी थियौ, वा त्यस बेला जब तिमी चाङ्समा डिनर गरिरहेकी थियौ।

तिमी रुँदाखेरि उसले तिमीलाई सम्हाल्यो, तिम्रो कपाल मिलाइदियो, तिम्रो फिर्ती टिकट किनिदिन प्रस्ताव गर्‍यो र तिमीसँगै तिम्रो परिवार भेट्न जान दिन अनुरोध पनि निकै गर्‍यो। तिमीले भन्यौ, ‘नाइँ, म एक्लै जान जरुरी छ।’ उसले सोध्यो, ‘के तिमी फर्केर आउँछ्यौ ? ’ तिमीले उसलाई तिम्रो ग्रिनकार्ड भएको र एक वर्षभित्र फर्की नआए तिम्रो ग्रिनकार्ड रद्द हुने सम्झना गरायो। उसले भन्यो, ‘तिमीलाई राम्रोसँग थाहा छ, म के सोधिरहेछु भन्ने कुरा। के तिमी फर्केर आउँछ्यौ, मसँग ? ’

तिमी अर्कातिर फर्कियौ र केही बोलिनौ। उसले तिमीलाई एअरपोर्टसम्म पुर्‍याइदिँदा, तिमीले धेरै बेरसम्म उसलाई अँगालो हाल्यौ र त्यसपछि उसलाई मुक्त गरिदियौ। 

@nehasharma1224


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.