काण्ड
कहिलेकाहीँ तपाईंले जानाजान एउटा लिंक थिच्नु भनेको जानी–नजानी कसैको घाँटी थिच्नु हो।
यो कुनचाहिँ काण्ड होला त ? घरेलु कि इन्टरनेसनल ? दैलेख कि, अस्ट्रेलिया कि जापान ? केटी मात्रै छे कि केटा केटी ? जवान होला कि अधबैंसे ? ट्रायल रुम होला कि घरमै ? ओहो ! सोच्दै काउकुती ! केही त रोमाञ्चक होला नि, काण्ड त रोमाञ्चक हुन्छन् यार !
शीर्षक नै मसलेदार छ। शीर्षकले तानिएर आउनुभएका सबैका लागि कुर्सी छ। ल यता आउनुभयो, सारै खुसी लाग्यो। स्वागत छ। बस्नुस्। एकछिन तपाईंको मन र म भएर गन्थन गरौं है त ? ह्याँ, राष्ट्रिय दैनिक पत्रिकामा पनि कहाँ लिंक राख्छ भनेर नभाग्नुस् है !
केही महिनाअगाडि नेपालबाहिर बस्ने एक जोडीको निजी भिडियो भाइरल भयो। याद छ ? निजी भिडियो त्यसमाथि भाइरल भनेपछि किन त भनिराख्नै परेन। मैले यति भन्दा नै प्रायःलाई देशको नामसहित फलानो काण्ड भनेर याद आइहाल्यो होला।
फेसबुकमा चलेका ग्रुपको चनाखो सदस्य अनि इन्टरनेटको कीरा म, तपाईंजस्तै। चाहियो नभनेरै थुप्रै जानकारी आइलागे। सामाजिक सञ्जालले असामाजिक काम भन्दै सामाजिक पर्व जसरी मनायो केही दिन त्यो भिडियोलाई।
हेरियो।
सुनियो।
पठाइयो।
दोहोर्याइयो।
‘कसैलाई फलानो काण्ड चाहिए इन्बक्स गरम् है !’
‘साथीहरू, लिंक पठाम् न यार !’
‘काण्डवाला ग्रुपमा एड गरम् न हौ कोइ !’
लेखिएका पोस्ट अनि त्यो जोडीको फोटोसहितका ट्रोल दौडेर आइहाले।
भिडियो सबलाई चाहियो। सबैलाई हेर्नु परिहाल्यो। मानौं, त्यहाँ भर्खर ओस्कार जितेको अनि टोरेन्टमा पनि नभेटिने सिनेमा छ। मानौं, त्यहाँ हिन्दी सिरियलमा भन्दा बढी ड्रामा छ। मानौं, दुनियाँभरका पोर्न सिनेमा डायनोसर भइसके। मानौं, ओली बाले पोर्नमुक्त क्षेत्र घोषणा गरेदेखि यो देशमा यौन उत्सुकता मेट्न सब उपाय सकिए।
केही दिनमा सो जोडीको अर्को भिडियो आको थ्यो। स्पष्टीकरणसहित। स्पष्टीकरण काण्ड हैन नि त। योचाहिँ धेरैलाई थाहा छैन होला। इन्बक्समा मगाउने/पठाउने त कुरै आएन। र जजसले हेरे, धेरैले कमेन्ट गरे :
— गर्दा सजिलो, ऐले बोल्दा के अप्ठ्यारो भएको नाटक गर्या ?
— पार्ट २ पनि हेरम् न !
— फिल्म खेल्ने योजना छैन ?
स्पष्टीकरणलाई कसैले सिरियस्ली लिएनन्, तर काण्ड सिरियस्ली भाइरल बनाए।
भिडियो भाइरल गर्दा उनीहरूको सहमति ?
— कुन चराको नाम त्यो ?
उनीहरूको इज्जत ?
— इज्जत सोच्नेले त्यस्तो रेकर्ड गर्छ ?
हामीले साथी साथी भन्दै फर्वार्ड गर्दा उसैको आफन्तसम्म पुग्यो भने ? बाउआमालाई धक्का ?
— लोल !
मोबाइलसँगै टिनेजर केटाकेटीसँग काण्डको सबैभन्दा लामो अनुभव छ। २ जीबीको फोन मेमोरीमा सेयर गरेकादेखि इन्बक्समा पाएकासम्म। ब्लुटुथदेखि फेसबुकसम्मको यात्रामा कति फोटो/भिडियो बाथरुमका थिए होलान्, कति ट्रायल रुमका, त कति चौतारीमा आफूलाई ‘मुनामदन’ नै सोच्ने जोडीका।
ती भिडियोभित्रका कति अनुहार अहिले आफूलाई डिप्रेसनभित्र लुकाउँछन् होला ! कति अनुहार चिहानभित्र लुके होलान्। थाहा छैन। खास हल्ला भएन, खबर छैन। काण्ड भाइरल हुन्छ। पछुतो लाग्ने समाचार बाहिरसम्म आउन पाउन्न।
यी काण्ड फैलाउने कोहीको आपराधिक मनशाय छैन। यी सेयर गर्ने कोही अपराधीको वर्गमा पर्दैनन्। उनीहरू कोहीलाई आफूले गलत गरे नै लाग्दैन। गलत सहीको प्रश्न नै उठेको छैन। कसैले केही भनिहाले पनि रेडिमेड जवाफ छन् :
— मैले खिचेको हो र ?
— म एउटाले नहेरेर भाइरल हुन बन्द हुने हैन।
— बजारभरि हल्ला छ, अपडेटेड हुन हेरेको।
— गर्नेलाई लाज छैन, हेर्नेलाई के !
— मलाई यस्तोमा रुचि छैन, तर जिज्ञासा लागेर हेर्या नि।
— बेस्ट फ्रेन्डलाई फर्वार्ड गर्या हो, फैलिँदैन क्या।
(अरू केही तपाईंले पनि सम्झिनु भो होला।)
०००
केही महिनाअघि मेरो एकजना खुब मिल्ने भाइले भ्वाइस मेसेज गर्यो। ‘१० दिनको उकुसमुकुस छ दिदी, मिल्दा फोन गर न है’ भनेर, अति रुन्चे आवाज लगाएर।
कल गरेँ। एक सासमा बोल्यो :
दिदी, भनेको थिएँ नि, उसको र मेरो ब्रेकअप भएको, दुई वर्ष भइसक्या थ्यो। उसको अर्कै ब्वाइफ्रेन्ड थियो। छ। रुममा पनि जान्थी। त्यो ब्वाइफ्रेन्डले त्यसको कपडा फेरेको भिडियो बनाएछ। खै केमा मन मिलेको थिएन अब ! त्यसपछि जहिल्यै ब्ल्याकमेल गरेर ‘यो भिडियो अब सब कलेजकालाई पठाइदिन्छु भनेर धम्क्याउने रे ! विचरी, कसैलाई भन्न पनि सकिन होला। मसँग अरूअरू कुरा गर्दै मेसेज गरेकी थिई। म बोल्न त राम्ररी बोलेँ तर ब्रेकअप भइसक्या मान्छे, कति बोल्दा हुने, नहुने नापतौल गरेर बोलेँ। मज्जाले खुलेर बोलिनँ। उसलाई केही भन्नु रै’छ। मैले पुरानो म भएर सुन्न सकिनँ, दिदी। जानिनँ। हामी सँगै हुँदा म उसको आमा, बैनी दुवैलाई राम्ररी चिन्थेँ। तर ऊ यति डराउँथी कि मलाई पनि मिल्ने साथी भनेर मात्रै चिनाएकी थी। बहिनीसम्मलाई थाहा हुन्थ्यो केही। घरमा ब्वाइफ्रेन्ड ‘छ’ भन्न त डराउनेले ब्वाइफ्रेन्डसँग आफ्नो ‘नांगो भिडियो छ’ कसरी भनोस्। दिनदिनै ब्वाइफ्रेन्डले भिडियो भाइरल बनाइदिन्छु भन्दो रैछ, सुनाउने कोही भेटिन होला। सुन्ने बैनी सानै थिई। मलाई कसरी कसरी भन्ने आँट बटुलेकी थिई होला, मैले पनि खुलेर बोलिनँ। दिदी, अस्ति पो उसकै बैनीले फोन गरेर भनिन्। मेरो जीउ अझै हल्लिर’को छ दिदी। पेट घुमाउँछ। उसले सुसाइड गरिछे।
सुन्नेबित्तिकै दाङबाट नाइट बस चढेर काठमाडौं आएँ। उसकी मम्मी त मलाई देख्ने बित्तिकै गम्लंग अँगालो हालेर कस्तो नमज्जाले रुनुभयो दिदी। झल्झली त्यही अनुहार देख्छु, मम्मी रोको सुन्छु। दिदी, मैले उसलाई सुन्देको भए ! बरु मसँग ब्रेकअप नभएको भए...।
भाइले यो सबै एक सासमा भन्यो।
भाइलाई आफ्नी भूतपूर्व प्रेमिका (जसलाई उसले सधैं प्रेम गर्यो, छुट्दैमा माया थिएन भन्ने हुन्न नि त) सधैंलाई हराएकोमा यति गाह्रो छ। तर जसले भिडियो बनायो, डर बेचेर आफ्नो स्वार्थ किन्न खोज्यो, ऊ त मस्त जिन्दगी बाँचिरहेछ। उसका बाआमालाई थाहासम्म छैन कि घरमा एउटा हत्यारा सुत्छ। उसका साथीलाई पनि थाहा छैन कि आफ्ना एडिट गरिएका फोटोमा एउटा हत्यारालाई ट्याग गर्दै लेखिराछन् उनिहरू, ‘फिलिङ प्राउड विथ... !’
मैले नदेखेको, तपाईंले मान्ने/नमान्ने सबै भगवान् साछी राखेर भन्छु, यो सब सत्य हो। साँच्चै केही महिनाअगाडिको सत्य हो। तबबाट मैले सोचेँ, अहिलेसम्म सोचिरहन्छु, यस्ता कति सत्य गुमनाम छन् होला है ?
सत्य धेरै भयो। अब अलि फरक गरम केही। ल आउनुहोस्। कल्पना !
कल्पना गर्नुहोस्। यही लेख पढिरहँदा तपाईंको मोबाइल स्क्रिनमा फुत्त एउटा साथीको टाउको देखायो। ट्याङ ट्याङ दुई/तीन मेसेजसहित मेसेन्जरले बोलायो। लेख बीचमै रोकेर उता जानुभयो। हेर्दा भित्र माथि भिडियो छ। बाहिरबाट हेर्दै थाहा हुन्छ, यो त्यस्तै भिडियो हो। भित्र जे पनि हुन सक्छ।
त्यस्तै भिडियो। त्यही भिडियो। जुन हेरेर कसैलाई डर लाग्नेवाला छ अनि कसैलाई मज्जा। ट्रु लभ गर्ने केटाले खिचेको। ट्रु लभ गर्दै गर्दा खिचेको।
उसले ट्रु लभ गरेकी मान्छेले भन्दिई, ‘अब सँगै बस्न सकिँदैन, माया बाँकी छैन, म सक्दिनँ है अब।’ कति फकाउन खोज्दा पनि मानिन। सबको अगाडि रोएर सँगै बसम् न प्लिज, सब ठीक गर्छु म भन्दा पनि आइन। आँसुले पग्लिइन्। धम्कीले पनि डराइन। लौ जा !’
‘माया पनि सकिन्छ ? मलाई छोड्ने त्यसले ? मैले त्यस्तो माया गर्या बढी भयो हैन ! त्यसलाई अब देख्छे। मलाई छाडेपछि कहाँ जाँदी रैछ। अब थाहा हुन्छ कसलाई छाडेको !
यो भिडियो यस्तै सोचेर ट्रु लभवालाले बाहिर निकालेको हुन सक्छ। छाडेर जानेलाई पाठ सिकाउन। उसलाई थाहा छ, तपाईंजस्ता हजारौं विद्यार्थी सिक्नका लागि ढुकेर बसेका छन्। यो पाठ फैलाउन उनीहरू सित्तैमा, अझ ओभरटाइम श्रमदान गर्नेछन्। बस् एउटा पोस्टमा भिडियो छाडिदिएर हराए हुन्छ। बाँकी काम काण्डलाई कोर्सबुक मान्ने विद्यार्थीले बिना अर्डर गर्छन्।
ओहो ! कहाँ पुगिएछ। हामी कल्पनामा पो थिएम् त। अँ, कल्पना गर्नुहोस्। भिडियो हातमा आइसक्यो। पठाउनेवालाले ‘फलानो काण्ड हेर ओइ साले, मोज गर !’ लेखेर मेसेज पठाइसक्यो। अब तपाईंले हेरेर आफ्नो श्रमदान गर्नुपर्ने हो सधैंको अनुसार। तर हेर्नुभएन। नहेरी श्रमदान गर्ने कुरो आएन। तपाईं त सोचेको सोच्यै पो हुनुभो एकछिन।
सोच्नुभो। सोच्नुभो। सोच्नुभो। सस्पेन्स छ है अझै।
ला ! तपाईंले मोज गर्नुभएन, शान्ति रोज्नुभो।
प्रकृतिको नियम भत्कियो, तपाईंले हेर्नुभएन। तर यत्तिकै छाड्नु पनि भएन। नहेरेरै पोस्टको लिंक फर्वार्ड गर्नुभयो। आफ्ना सबैभन्दा भरपर्दा साथीहरूलाई। नजिकका हरूलाई। बस् भिडियोमुनिको मेसेज फरक थ्यो। ‘ओइ साले सुन न, कसले मेरो मिल्ने साथीको के के गरेर भिडियो बनाएछ, यो बाहिर आको त्योसम्म नपुगोस्, भिडियो नहेरी पोस्ट रिपोर्ट गर्दे न ओइ ! प्लिज ! तेरो मिल्ने साथीलाई पनि भन है !’
अचम्म ! या सायद हुनुपर्ने सामान्य। हजुरको साथीले मान्यो। साथीका केही साथीले माने। त्यो भिडियो अब कसैले हेरेन। सोच्नुस् त। एउटा काण्ड बजारमा आयो, कसैले हेरेन। नेटको दुनियाँमा रहनै पाएन। ट्रु लभ वालाले सिकाउन खोजेको पाठ कसैले सिक्न पाएन।
सक्नुहुन्छ, बोर लागेको छैन भने अझै कल्पना गर्नुहोस्। भिडियो पाएपछि, त्यसबारे कुनै परिपक्व, नआत्तिने मान्छेलाई खबर गर्नुभयो। उसले पुलिसलाई खबर गर्यो। उसँग भएको भिडियो जफत भयो, नाशियो, उसले सजाय पायो। जेलमा मात्रै हैन, डब्ल्यूआरआर, एमआरआर सबतिर भाइरल भयो। काण्ड हैन, समाचार। ट्रु लभ वालाले पो उल्टै पाठ सिक्न पायो। ऊसँगै हजारौं अरूले।
यति कल्पना गरुन्जेल तपाईंलाई नराम्रो लागेन। खासमा राम्रो लाग्यो। तपाईं असल मान्छे नै हो। तर सोच्नुभो— कस्तो मीठो तर असम्भव कुरा। यसो हुनेवाला हैन। म एक्लैले गरेर के ?
तर अब एउटा अन्तिम कल्पना गर्नुस्। यसपछि भन्दिनँ। पक्का।
त्यो भिडियोभित्र, तपाईंकी बहिनी रहिछन्। हो हो, तपाईंकै बुने। घरमा आमा, दिदीबहिनी छैनन् ? वाला क्लिसे हैन, साँच्चिकै बहिनी। भाइटीकामा तपाईंले खाममा हालेर दिएको दक्षिणा खामबाट निकालेर, सबैको सामु ‘मेरो गिफ्टभन्दा थोरै पैसा रै’छ’ भन्दै उडाउने बहिनी ! ‘तेरो बिहे मात्रै होस् न, जुत्ता लुकाको पैसाले त म पोखरा घुम्छु, तँ गएपछि त यो कोठा सब मेरो, राज गर्छु ‘भन्दै सपना बुन्ने बहिनी।
भिडियोमा त्यही बहिनी रहिछन्।
एकछिन त हात लुला भए होलान्। होशमा आउनुस् अब।
अब तपाईं असल मान्छे मात्रै हैन, आफ्नो मान्छे हो। अब डर छ। अब माथिको कल्पना मीठो तर असम्भव होइन, सत्य हो। त्यो सत्य हो जसलाई सत्य बनाउन तपाईं दिनरात प्रार्थना गर्नुहुन्छ। अनि अब तपाईं आफैं नै त्यो परिपक्व मान्छे बन्न चाहनुहुन्छ। तपाईंले पाठ सिकिसक्नुभयो। पाठ सिकाउन मन छ। पाठ सिकाउन थाल्नुहुन्छ।
कल्पना गर्नुभएकोमा धन्यवाद। अब बोनस, एउटा कामना पनि। कामना, मलम खोज्नका लागि पहिला घाउ नै नबनोस्। कामना गर्नुस्, पाठ सिक्नका लागि प्रेमले परीक्षा नमागोस्। अब कसैले पनि ‘हामी सधैंभरि यस्तै हुन्छौं, सँगै हुन्छौं’ भन्ने भावनामा बगेर ‘त्यस्ता’ केही नखिचून्। न फोटो, न भिडियो। मीठो समय वा मीठो याद जोगाउन आज बनाएको भिडियोले भोलि याद जोगाउने हैन सम्बन्ध र जिन्दगी नै बिगारिदिन सक्छ। अत्यन्तै निजी यादहरू जोगाउन क्यामेरा वा मोबाइल सुरक्षित हैनन् किनकि मन नभएका मिसिनहरूसँग मनहरू सुरक्षित हुन्नन्। उमेरमा गरिएका कति कुरालाई त्यसरी नै छुट्न दिनुपर्छ जसरी उमेर छुट्छ।
भिडियो बनाउँदा मात्रै प्रेम रहने हो भने, यी क्यामेराको आविष्कार हुनुअघि कसैले प्रेम नै गरेनन् त ? ‘मेरो विश्वास छैन ? म माया गर्दिनँ ? भन्दै भिडियो बनाउन खोज्नेहरूलाई त्यही दिनबाट अन्धो विश्वास गर्न छाड्नुहोला। कामना गर्नुस्, मनले थोरै शंकाका लागि पनि ठाउँ छुट्याओस्। कहिलेकाहीँ, ‘तिमीबिना बाँच्न सक्दिनँ’बाट ‘तिमीसँग बाँच्न सक्दिनँ’सम्मको यात्रा छोटो मात्रै हैन, डरलाग्दो हुन्छ। यो डरलाग्दो बाटो तपाईं हिँड्न नपरोस्। कोही हिँड्न नपरोस्।
सन् २०१७ मा एउटा सिनेमा रिलिज भएको रैछ। ‘पुरियथा पथिर’ नामको। हिन्दीमा डब नभएर हो या ‘डियर कमरेड’हरू जस्तो मसला नभएर, धेरैलाई यो सिनेमाबारे थाहा छैन। फुर्सद भए हेर्नुहोला। बिनाआवाजका काण्ड त हेर्नुहुन्छ, यसमा त नबुझिने भए नि भाषा छ, नेटफ्लिक्समा सबटाइटल पनि छ अझ।
सोही सिनेमामा एक पात्र अन्त्यमा आफूले सबैभन्दा प्रेम गरेको मान्छेको लास बोकेर चिच्याइरहँदा ब्याकग्राउन्डमा एउटा मात्रै वाक्य सुन्छ, ‘हामी तबसम्म केही महसुस गर्दैनौं, जबसम्म आफूलाई पर्दैन।’
भनाइ पुरानो हो। क्लिसे। सामान्य छ। तर सत्य, यही हो। यत्ति हो।
शरीर हजुरको पनि छ। प्रेम हजुरको पनि हो। भावना हजुरका पनि छन्। नपर्दासम्म त हामी आफूले जति सावधानी कसैले अपनाउँदैन भनेरै ढुक्क हुन्छौं। तर केही गरी परिहाल्यो भने ? अब आत्तिन पनि आत्माले दिनेछैन। आज
– जिज्ञासु भएर हेरेका,
– मिल्ने साथी त हो यो भनेर अर्कोलाई पठाएका,
– इन्बक्स गरम् न साथी हो, भनेका सारा काण्डले चिट्चिट् पसिना आउने गरी गिज्याउनेछन्। रुमाल दिने एकाएक कम हुनेछन्। कोही भइहाले पनि, पसिना पुछ्न आफ्नै हात काम्नेछन्।
सझिँदै जीउ सिरिंग भयो ? चक्कर लाग्यो ?
यो डर चाहनुहुन्न ?
उसो भए एउटा वाचा गरम् आउनुस्।
काण्ड आउन छाड्नेछैनन्। तपाईंले फेरि अर्को काण्ड आएको थाहा पाउनुहुनेछ। तब तपाईंको जिज्ञासु दिमाग या उत्साहित शरीर, जसलाई पनि चाख लाग्न सक्छ।
लाग्नेबित्तिकै एकपल्ट आफ्नो नांगो जीउ सम्झिनुस्, जिन्दगीमा कतिपल्ट ट्रायल रुममा नांगिएँ सोच्नुहोस्, कतिपल्ट बाथरुममा नांगिएँ सोच्नुहोस्। एकपल्ट आफ्नी प्रेमिकाको अनुहार सम्झिनुस्, आफूले पवित्र मानेर गरेको प्रेम, त्यो प्रेमले कहाँ कहाँ छुनुभएको छ, हरेक सम्झिनुस्।
त्यो काण्डभित्र आफूले सबैभन्दा बढी प्रेम गरेको मान्छेको अनुहार भेटे के गर्नुहुन्थ्यो ?
ठ्याक्कै त्यही गर्नुस्।
कहिलेकाहीँ तपाईंले जानाजान एउटा लिंक थिच्नु भनेको जानी–नजानी कसैको घाँटी थिच्नु हो।
तपाईंले कहिलेकाहीँ केही नगर्नाले मात्रै पनि एउटा मान्छेको जिन्दगी बाँच्छ भने त्यही गर्नुस्। केही नगर्नुस्।
तपाईंले गर्दा कसैको मुटु शान्त नहोस्।
तपाईंको जिन्दगीमा शान्ति होस्।
–बीए एलएलबी अध्ययनरत