अवैध रुपमा काम गरिरहेका ८ चिनियाँ नागरिक पक्राउ
गोरखा : अबैध रुपमा काम गरिरहेका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। नौलोनेपाल हाइड्रोपावर कम्पनीअन्तर्गत अपरबूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका आठ जनालाई सोमबार नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेमा ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन्। उनीहरु सबैलाई आरुघाट गाउँपालिका-३ सोती भन्ने ठाउँमा काम गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको उनीहरुलाई सोमबार साँझ नै अध्यागमन विभागमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
यसअघि नौलो नेपाल हाइड्रोपावर कम्पनीले १५ जनाभन्दा धेरै चिनियाँ नागरिकलाई कामदारको रुपमा ल्याएको थियो। ‘यसअघि पनि उनीहरुले आधिकारिक कागजपत्र बिना काम गरेको भन्ने जानकारी आएको थियो। हामीले तत्काल आवश्यक कागजपत्र जुटाउन आग्रह गरेका थियौं’, प्रजिअ पौडेलले भने, ‘तर कागजपत्र जुटाउनुको साँटो कोहीले काम छोडेर भागिसकेछन् आठ जना भने अझै काम गरिरहेका रहेछन्। त्यसैले नियन्त्रणमा लिएका हौं। सबैलाई अध्यागमन बिभागको जिम्मा लगाउँछौं।’
कतिपयसँग पर्यटन भिजा रहेको, तर काम गर्न पाउने कागजात नभएको र कतिपयसँग भने भिजा नै नभएको भेटिएको उनले बताए। एकहप्ताअघि नै सचेत गराउँदा पनि अटेरी गरेकाले नियन्त्रणमा लिइएको एसपी अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस !