गोरखाका दुवै नाका बन्द गर्न प्रशासनको निर्देशन
गोरखा : जिल्ला प्रशासन कार्यालय गोरखाले कोभिड १९ भित्र नदिन तिब्बत सीमाको गोरखाकाको दुवै नाकामा कडाइ गर्न निर्देशन दिएको छ। चुमनुब्री गाउँपालिका १ स्थित रुइला नाका र चुमनुब्री ७ को ङुइला(मुलाढाज्यान) नाकामा आवतजावत गर्न निषेध गर्न सम्बन्धित क्षेत्रका प्रहरी इकाइलाई सोमबार निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
'गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी रुइला र ङुइला नाकाबाट मान्छे र याकचौरी, झोपा, घोडा, खच्चड लगायतका पशुचौपाया आवतजावत गर्न निषेध गर्न प्रहरी चौकीहरुलाई आजै पत्राचार गरेका छौं,' प्रजिअ पौडेलले भने, 'दुवै नाका वैधानिक नाका त होइनन्, तैपनि यदाकदा आवतजावत हुने हुनाले बन्द गरेका हौं।'
रुइला नाका तिब्बती अधिकारीको निर्णयमा वर्षमा एकपटक मात्र खुल्ने गर्छ भने ङुइला नाका बाह्रै महिना खुल्ला रहन्छ ।
प्रतिक्रिया दिनुहोस !