बेहोस बनाउने औषधि खुवाएर लुटपाट गर्ने चारजना पक्राउ
गोरखा : बेहोस बनाउने औषधि खुवाएर नगद तथा गहना लुटपाट गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा, चितवन, नवलपरासीलगायत विभिन्न जिल्लामा लुटपाट मच्चाउने चारजनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
गोरखाका विभिन्न तीन ठाउँमा लुटपाट मच्चाउने गोरखा बारपाक घर भएका हाल रत्ननगर ४ चितवन बस्ने ४६ वर्षीय प्रकाश गुरुङ, उदयपुर रानीबास गाउँपालिका २ सालघारीका ५३ वर्षीय अमृत राना, बारा जिल्ला निजगढ गाउँपालिका ७ का ३८ वर्षीय कृष्ण विक र सुनसरी जिल्ला इटहरी नगरपालिका ४ खनारका ४५ वर्षीय प्रदीप चौधरीलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका ३ संगमचोकबाट गत शुक्रबार प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई डाँडा मुद्दा दर्ता गरी अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको एसपी अधिकारीले जानकारी दिए ।
उनीहरुले गत माघ २० गते गोरखा नगरपालिका ५ नाङ्लेपानीकी भुवानी आचार्यको रिङ, तिलहरी, दुईथान, मोबाइल र ४० हजार रुपैयाँ नगद लुटेका थिए । त्यस्तै गत माघ २६ गते गोरखा नगरपालिका ८ हरमटारीकी सन्तुमाया रम्तेलको सुनको रिङ, ढुङ्ग्री र नगद १२ हजार लुटेका प्रहरीले जनाएको छ । त्यस्तै शहीदलखन गाउँपालिका ९ नाम्जुङकी जमुना बरामको रिङ, दुईथान, तिलहरी दुईथान र सुनको टिका एकथान चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरु सबैलाई जुसमा लठ्ठिने औषधि खुवाएर लठ्याई लुटपाट गरेको पक्राउ परेकाले स्वीकार गरेको प्रहरीले दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस !