हिँड्न थाले प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ। शुक्रबार शिक्षण अस्पतालले विज्ञप्ति जारी गर्दै दोस्रो पटक मिर्गौला प्रत्यारोण गरेको तेस्रो दिन प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालिएको शिक्षण अस्पतालले जनाएको छ।
‘आजदेखि उहाँलाई हिँडडुल गराउन थालिएको छ। साथै, ठोस आहार दिन थालिएको छ’, विज्ञप्तिमा भनिएको छ', ‘उहाँको सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा छन्।’
त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको अवस्था पनि क्रमिक रुपमा सुधार हुँदै गएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले जानकारी दिए। उनका अनुसार संग्रौलालाई पनि ठोस आहार दिन थालिएको छ।
प्रधानमन्त्री ओलीको फागुन २१ गते दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको थियो। प्रत्यारोपणपछि ओली सीसीयूमा रहेर स्वास्थ्यलाभ गरिरहेका छन्। प्रधानमन्त्री ओली र मिर्गौला दाता भान्जी पर्ने संग्रौला फागुन १९ गते अस्पताल भर्ना भएका थिए। प्रत्यारोपणपछि ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन्।
प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौंमा सिंगापुर गएका थिए।त्यहाँ उनले 'प्लाज्माफेरेसिस' गरिएको थियो। त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।