छोरीहरूको छहारी
तपाईंलाई तपाईंकी छोरी कुन कोणबाट छोरी भएकै कारणले अपहेलित र अपमानित हुन योग्य लाग्छिन् ?
हामी अस्ट्रेलियामा पढिरहेका थियौं। निष्प्रभ र मैले पढाइ र कामलाई सँगै लैजाने भनेर दुवै जनाले काम गर्दै पढिरहेका थियौं। यसैक्रममा हामीले वैवाहिक जीवन र करियरको सन्तलुन नबिगारी अगाडि बढिरहँदा विवाह गरेको चार वर्ष बितिसकेछ।
हामीलाई अझै दुई वर्ष बच्चा जन्माउने मन थिएन। र, हाम्रै इच्छाअनुसार ६ वर्षपछि मात्र इरा हाम्रो जीवनमा पहिलो सन्तानका रूपमा आइन्। तर, इरा जन्मिनु अगाडि परिवारले चिन्ता व्यक्त गर्न थाल्नुभयो। त्यसलाई हामीले असामान्य ठानेनौं र परिवारलाई अब दुई वर्षपछि मात्र सन्तान पाउँदा सजिलो हुने भनेपछि उहाँहरूले बुझ्नुभयो। तर अझै बुझाउनुपर्ने भयो आफन्त र साथीभाइलाई।
हामीले कहिल्यै सुन्न नचाएका प्रतिक्रियाहरू सुन्न थाल्यौं।
‘यो बार व्रत बस्नू’
‘यो क्यालेन्डर विधि अपनाउनू’
‘नेपालमा आऊ, एउटा पूजा गरौं’
साथीहरूले वा आफन्तले यतिखेर पनि हाम्रो सन्तान होस् भनेरै चासो दिएका हुन् भनेर हामीले यसलाई पनि असामान्य ठानेनौं। हामीलाई साथीभाइ वा आफन्तको व्यवहार असामान्य लाग्ने सिलसिला इरा जन्मिएपछि सुरु भयो। इरा जन्मिनुभन्दा पहिले मिसक्यारेज भएकाले हामीलाई इरा गर्भमा रहँदा र जन्मिँदा मिलेको खुसी असीमित थियो। इरा जन्मिएपछि जतिले पनि हामीलाई भेट्न आउनुभयो, प्रायः सबैले यस्ता अभिव्यक्तिहरू दिनुभयो,
‘पहिलो त छोरी नै ठीक’।,
सायद यसको अर्थ, दोस्रो छोरी बेठीक होला।
‘ठीकै छ, पहिलो त लक्ष्मी नै ठीक’,
सायद यसको अर्थ, दोस्रो लक्ष्मी बेठीक होला।
‘छोरी पाउनी त भाग्यमानी हुन्छन्’,
सायद यो सान्त्वना होला, यदि होइन भने यसको अर्थ, छोरा पाउने अभागी हुन्छन् होला।
‘अब दोस्रो त पक्का छोरा हुन्छ’,
यसको अर्थ खुलाउन नपर्ला। छोरीहरू सायद छोरा नपाइन्जेल जन्माइरहनु पर्छ।
०००
निष्प्रभ र मैले शिक्षित मानिएका साथी र आफन्तबाट पनि लैंगिक भेदभाव छुट्टिने खालका प्रतिक्रियाहरू पाइरहँदा बेलाबेलामा उहाँहरूलाई यस्ता अभिव्यक्तिहरू नदिन पनि विनम्र अनुरोध गरेका छौं।
निष्प्रभलाई म गर्भवती हुने वा कुनै पनि नारी गर्भवती हुने कुरा एकदमै जोखिमपूर्ण लाग्थ्यो। एक किसिमको फोबियाजस्तै। निष्प्रभले इरा जन्मिएपछि अर्को बच्चा नजन्माउने जस्तो विचार राखिरहँदा मैले इराको साथीका लागि पनि दोस्रो बच्चा ढिलो नगरी पाऊँ भन्ने राय राखेँ। मलाई यस्तो किन पनि लाग्यो भने, निष्प्रभलाई नेपाल फर्किन मन छ। सकभर केही वर्षमै, त्यो सम्भव भएन भने इरा युनिभर्सिटी गएपछि।
यदि हामी नेपाल फर्कियौं भने इरा एक्लै हुन्छिन् भन्ने मेरो सोच, निष्प्रभलाई पनि सही लाग्यो। हामीले साढे दुई वर्षको अन्तर पारेर इमा जन्मायौं। हामीले दोस्रो सन्तान आफ्नो लागिभन्दा बढी इराको साथीका रूपमा खोजेका थियौं। त्यो अर्थमा इराले बहिनी पाउँदा हामी बेहद खुसी थियौं। तर, हामीले इमा जन्मिएपछि इराको पालामा भन्दा पनि घिनलाग्दा प्रतिक्रिया पायौं।
‘अस्ट्रेलियामा त तीन, चारवटा पनि सजिलै हुर्काउन सकिन्छ, पिर नगर’,
अरे पिर कसले गरेको छ ? अनि मेरो शरीर बच्चा पाउने मेसिन हो ?
‘छोरो त पाउनै पर्छ।’
निष्प्रभले सायद यो प्रतिक्रिया धेरै उहाँकै साथीहरूबाट पाउनुभयो’, मेरो प्रश्न किन ?
‘दोस्रो छोरो भइदिएको भए, अर्को पाउनै पर्दैनथ्यो, अलिकति दुःख हुने भयो तिमीलाई।’
तपाईंले भर्खरै दिएको अभिव्यक्तिले झनै पो दुःखी बनायो त। छोरीहरूले त हामीलाई खुसीमात्र दिएका छन्। हामीलाई दुःखी बनाउने तपाईं कस्तो साथी, कस्तो आफन्त ?
‘छोरो भनेको छोरै हो’,
हाउ डेयर यु, मेरा छोरीहरूले नै सुन्ने गरी यस्तो भन्ने आँट कसरी गर्नुभयो तपाईंले ?
यो वर्ष छोरीहरूलाई सकभर धेरैभन्दा धेरै आफन्तहरूसँग परिचित गराऔं भन्ने चाहना थियो। आफ्नो भूगोल, भाषा र संस्कृतिसँग नानीहरू अझै निकट रहून् भन्ने चाहना थियो। र सँगसँगै हाम्रो पनि नेपाललाई अझै बढी चिन्ने इच्छा थियो।
हाम्रो चाहनाअनुसार नै हामीले नेपालमा हुनु भएका निष्प्रभ र मेरा प्रायः आफन्त र साथीहरूलाई भेट्यौं। खुसी आदानप्रदान गर्र्यौं। तर दुर्भाग्यवश छोरीहरूको बाआमा भएकाले होला नेपालमा पुरानै प्रसंगहरू दोहोरिए।
‘स्थायी परिवार नियोजन त गरेकी छैनौ नि ?
‘एउटा छोरो त पाउनैपर्छ, नत्र पछि पछुतो हुन्छ’
अल्लि अगाडि मेरै साथीकी आमाले मेरी कान्छी छोरी इमालाई हेर्दै भन्नुभयो, ‘ठ्याक्कै बा जस्तै, यत्ति छोरी छोरो भइदिएको भए।’
उहाँ मेरो आमाको उमेरको हुनुहन्छ। तर आमा हुनुहुन्न। सायद, आमा जस्तो पनि हुनुहुन्न। किनभने आमा जस्तो भएको भए, मेरी छोरीलाई लैंगिक तराजुमा जोखेर झट्काल्नु हुँदैनथ्यो। इमाले त आमाको कुरा बुझिनन्। इरा भने कोठामै थिइन्। इराले घर फर्किंदा, आमाले के भन्नुभएको भनेर सोधिन्। मैले इरालाई भनेकी थिएँ, ‘आमाले इमा कति राम्री भनेर भन्नु भएको’। माफ गर इरा मेलै झुट बोलें।
हाम्रो समाजमा हामीलाई भन्दा पनि हाम्रो चिन्ता अरू छिमेकी, गाउँले, आफन्तहरूलाई बढी हुन्छ। विवाह भएको केही वर्षमा सन्तान नजन्मिए पनि अरूलाई चिन्ता, छोरी जन्मिए पनि अरूलाई चिन्ता। केही नजन्मिए झन् ठूलो चिन्ता। अहिले कति जोडीहरू स्वेच्छाले सन्तान नजन्माउने पनि निर्णय गर्छन्। कतिलाई चाहेर पनि हुँदैन। उनीहरूको अनुभव झनै कति कहालीलाग्दो होला ?
०००म १२ वर्षअघि नेपालमा हुँदा एउटा गैरसरकारी संस्थामा केही समय अनुसन्धानका लागि आबद्ध थिएँ। अनुसन्धानको विषय थियो, ‘प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन’। मलाई त्यतिखेर केही महिलाहरूले रुँदै आफ्नो लोग्नेलाई छोरा नभए पनि हुन्छ भनेर सम्झाइदिनुस् न भनेर बिन्ती बिसाउँदा म मेरो समाज र देशको, छोरीहरूप्रतिको सोच देखेर मन गरुंगो बनाउँदै घर फर्किन्थेँ। अहिले एक दशकपछाडि त हामीले फड्को मारेका छौं भन्न पाए पनि हुन्थ्यो।
यस पटकको नेपाल यात्रामा एकजना आफन्तले मलाई निःसंकोच सल्लाह दिनुभयो, ‘नआत्तेऊ, अहिले त सजिलो छ, चेक गर्न मिल्छ, छोरी बसे फाले हुन्छ।’
मैले उहाँलाई विनम्रतापूर्वक, हाम्रो अर्को बच्चा जन्माउने कुनै चाहना नभएको कुरा राख्दा, उहाँले पछि पछुतो हुन्छ भन्दै दबाब दिन छोड्नु भएन।
मेरा दुईजना दाइ हुनुहुन्छ र एकजना दिदी। दुवै जना दाइहरूको एक–एक छोरी छन्। दिदीको पनि एउटा छोरी छन्। हामी सबैको परिवार खुसी छ। निष्प्रभ र म, आफूलाई, इराले आफ्नो साथी जस्तो बहिनी पाएकामा, यो संसारकै भाग्यमानी बुवाआमामध्येका एक मान्छौं। मेरा बुवा आमाहरूले कहिल्यै छोरा त पाउनुपर्छ भनेर भन्नुहुन्न।
अल्लि अगाडि बुवाआमा तीर्थस्थलको भ्रमणका लागि स्वर्गद्वारी जानुभएको थियो। एक जना शिक्षित आफन्तले बुवाआमा नातिको इच्छा बोकेर स्वर्गद्वारी जानुभएको होला, अब इच्छा पूरा हुन्छ भनेर तीर्थयात्राको सन्दर्भलाई पनि छोराकै प्रसंगमा जोड्नुभयो। सोसियल मिडियामा खुलेरै प्रतिक्रिया दिनुभयो।
हाम्रा यी अनुभवको आयातनको केन्द्रबिन्दु पितृसत्तात्मक संस्कृति र धर्मको मियो समातेर उभिएको छ। छोरो नपाए स्वर्ग पुगिँदैन। बुढेसकालको सहारा कोही हुँदैन। मरेपछि लास उठाउने कस्ले ? दागबत्ती दिने कसले ? क्रिया बस्ने कसले ? यी सबै प्रश्नहरूले भयको जालो बुनेका छन्। हाम्रो पुस्तासम्म पनि यो भयको हाँगो फैलिएको छ।
अस्ट्रेलियाजस्तो विकसित देशमा उच्च शिक्षा हासिल गरेर बस्ने नेपालीहरूको सोच त यस्तो छ भने, देशमा, गाउँमा, जहाँ अभाव छ, जनचेतानको कमी छ, त्यहाँको अवस्था कति भयावह छ ? छोरीमात्रै पाउने बुवाआमाहरूले कस्तो पारिवारिक र सामाजिक दबाब झेल्नुपर्छ भनेर कल्पिँदा मात्रै पनि कहाली लाग्छ। हामीले हाम्रो बुवाआमा वा हजुरबुवा हजुरआमाको पुस्तालाई बदल्न गाह्रो होला, तर समकालीन साथीहरूप्रति मेरो विनम्र अनुरोध छ, हामी बदलिनु पर्छ। तपाईंको घरमा पनि छोरी होलिन्। एकचोटि आँखा जुधाएर हेर्नुस्। तपाईंलाई तपाईंकी छोरी कुन कोणबाट छोरी भएकै कारणले अपहेलित र अपमानित हुन योग्य लाग्छिन् ?