अझै बेला भएको छैन ?

अझै बेला भएको छैन ?

हामीले देवत्वकरण मात्रै गरिरह्यौं। फेरि दानवीकरण मात्र गर्न लागिरहेका छौं कि ?


एक दिन म साथीसँग गफ गर्दै थिएँ। उसले भनी, ‘बुवाआमाप्रति हाम्रो केही दायित्व हुन्छ। जिम्मेवारी हुन्छ। छोरी भएकै कारण जिम्मेवारीबाट पन्छन हुन्न। हाम्रा ब्याक सपोर्टर बुवाआमा नै हुन्।’

‘सबैका आमाबुवा ब्याक सपोर्टर हुन्छन् ? सबै आमाबुवा सन्तानका लागि असल नै हुन्छन् र ? ’

‘पागल, धेरै सोचेर नबस। तिमी कमाउन थाल। छोराछोरी एकै भनेसी बुवाआमा पाल्ने जिम्मेवारी अब तिमीले लिनुपर्‍यो नि।’ यति भनेर ऊ हिँडिहाली।

ऊसँग यो विषयमा अझै बहस गर्न चाहन्थँे। अब भने यो बहस तपाईंसँग गर्न मन छ।

म पर सरेको एक वर्ष भइसकेको थियो। बुवासँग अँगालो हालेर सुत्ने बानी हटेकै थिएन। एक रात हामी बाउछोरी सुतिरहेका थियौं। म बुवाभन्दा छिटै ब्यूँझिएँ। मेरो हात बुवाको छातीमाथि थियो। बुवालाई च्याप्प पारेर सुतेकी थिएँ। डर लाग्यो, बुवाले थाहा पाउनुभयो भने बर्बाद हुन्छ। बुवालाई नछोईकन कुनापट्टि सुतेकी मैले कसरी बुवासँग अँगालो हाल्न पुगेँ, मेसो नै पाइनँ। बिस्तारै अँगालो खुकुलो बनाएँ। नजानिँदो पाराले आफ्नो हात बुवाको छातीबाट तल झारेँ र सुत्न अप्ठ्यारो भएजस्तो गरेर कोल्टो फेरेँ।

त्यसै बेला बहिनीले निद्रामै कोल्टो फेरेको देखेँ। ऊ निदाएका बेला सधैं बर्बराउँथी। निद्रामा क, ख, ग पनि भन्थी। सबै कुरा बेलीबिस्तार लाउँथी। म उसका कुराले दंग पर्थें।

ऊ आँखा मिच्दै उठेपछि उसलाई सोध्थेँ, ‘अघि केके भनेकी ? ’

ऊ ‘थाहा छैन’ भन्थी।

‘तँ निद्रामा पनि पढ्दै थिइस्।’

ऊ पत्याउँदैनथी। आँखा चिम्लेर बोलेपछि अरूले निद्रामै बोलेको भन्ठान्छन्। यो कुरा मैले बहिनीबाट जानेकी थिएँ। ऊ सानै थिई। उसले थाहा नपाएजस्तो गर्ने उमेर भएकै थिएन। मैले भने अलिअलि थाहा पाएर पनि थाहा नपाएजस्तो गर्न सिक्दै थिएँ।

त्यो रात मैले निद्रामा छु जस्तै गरी बुवासँग भनेँ, ‘मलाई गर्मी भयो।’ साँच्चै नै मलाई हपहपी गर्मी भइरहेको थियो। जेठको बेला, त्यसमाथि बुवा र मैले तन्ना ओढेका थियौं। बुवालाई च्याप्प पारेर सुतेपछि झन् शरीर तातिने नै भयो। बुवाले मेरो मुखनजिकै आफ्नो कान ल्याउनुभयो। मैले फेरि उसैगरी भनेँ, ‘मलाई गर्मी भयो।’

बुवाले हातले भेटिने ठाउँमा रहेको एउटा किताब उठाउनुभयो र मेरो मुखमा हम्किन थाल्नुभयो। मेरो लथालिंग कपाल मिलाएर सुम्सुम्याउनुभयो। घाँटीमा कसिएको कुर्ताको सल निकाल्दिनुभयो। म निदाएको नाटक गर्दागर्दै साँच्चै निदाएँ।

बिहान उठेँ। बुवा पहिल्यै उठिसक्नुभएको रहेछ। भान्सामा फर्सीको मुन्टा केलाउँदै हुनुहुन्थ्यो। उहाँले कडा स्वरमा भन्नुभयो, ‘बल्ल उठिस्। ऊ त्यो अम्खोरा लैजा अनि मुख धोएर पढ्न बस्।’

बुवा दिनमा मुटु थर्काउने गरी बोले पनि राति भने सकेसम्म हामी छोरीहरूको निद्रा नबिथोलियोस् भन्ने चाहनुहुन्थ्यो। म प्रायः सुतेपछि एकैचोटि बिहान ब्यूँझन्थेँ।

अर्को एक रात म फेरि छिटो ब्यूँझिएँ। उठ्न खोज्दा बुवा र मेरो हात सँगै थियो, बुवाको छातीमाथि।

‘घरिघरि मात्रै मेरो हात बुवाको छातीमाथि हुने हो कि सधैं ? ’ बुझ्न मन भयो मलाई। त्यसैले जस्तो अवस्थामा थिएँ, त्यस्तै अवस्थामा सुतिरहेँ। बुवाको उठ्ने बेला भइसकेको थियो। उहाँले मेरो हात अलक्क तल झारिदिनुभयो र हातमुनि सिरानी राखिदिएर जानुभयो। म ब्यूँझँदा प्रायः मैले सिरानीमाथि हात राखिरहेकी हुनुको कारण बल्ल बुझ्दै थिएँ।

‘बुवा यति कोमल...!’ होमवर्क गरेन भनेर देखिनसहने मेरो बुवाको यो रूप देखेर म छक्क परेकी थिएँ।

त्यसपछि मैले बुवाको व्यवहारमाथि निगरानी राखिरहेँ। उहाँको बोलीबाहेक सबै व्यवहार प्रेमिल हुन्थ्यो।

एक दिन मैले ममीसँग सोधेँ, ‘बुवाले मलाई माया गर्नुहुन्छ ? ’

ममीले चकित आँखाले हेर्नुभयो र भन्नुभयो, ‘तँलाई नगरे कसलाई गर्ने हो त नि ? ’

‘बहिनीलाई।’

‘गर्नुहुन्न बहिनीलाई।’

बुवाले बहिनीलाई माया गर्नुहुन्न रे ! मलाई माया गर्नुहुन्छ ? किन ? ऊ पनि त छोरी हो। ऊ झन् सानी छ। सानालाई झन् माया गर्नुपर्ने। ममीसँग कुनै सवालजवाफ गरिनँ। मनमा आफैं कुरा खेलाइरहेँ। आखिर मलाई नै किन माया गर्नुपर्ने ?

म नौ कक्षामा पढ्दै थिएँ। एकजना मेरी बेस्ट फ्रेन्ड थिई। उसलाई म आफ्ना सबै कुरा बताउँथेँ। बुवाका बारेमा अझै बढी। बुवाले कसरी नुहाइदिनुहुन्थ्योदेखि खाना कति मीठो पकाउनुहुन्छ र राति सुत्दा केके हुन्थ्यो सबै सुनाउँथेँ।

छाती बढेपछि भने ममीले नुहाइदिन थाल्नुभएको थियो। कुवामा मान्छेहरूले कुरा काट्थे, ‘यति ठूली भएकी छोरीलाई नि नुहाइदिनुपर्छ र भन्या।’

त्यसपछि मैले आफैं नुहाउन थालेँ। तर जाने पो। एउटीले प्याच्च भनिहाली, ‘बरा ! नुहाउनसमेत जान्दिनन् रच।’ ममी लुगा धोइसकेर मलाई नुहाइदिएर घर फर्कनुभयो। त्यस दिनदेखि भने म सकेसम्म आफैं नुहाउँथेँ। ममी अझै पनि म नुहाउँदै छु भने कताकताबाट पानी खन्याउन मात्रै भए पनि आइपुग्नुहुन्छ। बुवाममीका अगाडि छोराछोरी कहिल्यै ठूला हुँदैनन् भनेर मान्छेहरूले त्यही भएर भन्या हुन् कि ?

उसलाई मैले बुवाको बारेमा बताइरहँदा उसले आफ्ना परेला तन्काउँदै सोधेकी थिई, ‘साँच्चै तिमी अझै बुवासँगै सुत्छ्यौ ? ’

‘लौ, आफ्नै बाउसँग सुत्दा पनि ! किन नसुत्नु त ? ’

‘केही हुन्न तिमीलाई ? ’

‘झन् मीठो निद्रा लाग्छ। एक्लै सुत्दा त डर लाग्छ बाबै।’ मेरा कुराले ऊ अँध्यारिई। त्यस दिनदेखि ऊ मसँग बोल्न छाडी। किन बोल्न छाडी मैले चासो देखाइनँ।

नौ कक्षा पास भएर हामी दसमा पुग्यौं। ऊ मसँग त टाढिएकै थिई, अरूसँग पनि टाढिई। सकेसम्म एक्लै बस्न रुचाउँथी। मैले घरमा ममीलाई सबै कुरा बताएँ। ममीले ‘उसको संगत नगर्नू, त्यसको घरका मान्छे राम्रा छैनन्’ भन्नुभयो।

‘उसका घरका मान्छे नराम्रो भएर के भो त ? ऊ मलाई मन पर्छ। उसले कसैलाई नराम्रो गर्दिन।’

‘त्यसको बाउले रक्सी खान्छ। जहाँ पायो त्यहीँ सुत्छ। संगत पनि गतिलाको गरे पो हुन्छ।’

हाम्रो एसएलसीअघि लिइने टेस्ट परीक्षा आउन एक महिना एक दिन मात्रै बाँकी थियो। मैले उसलाई आफ्नो बनाउन प्रयास गरेँ। मैले भन्ने कुरा प्रायः मेरा बुवाका बारेमा नै हुन्थ्यो। बुवाले कसरी मैले गल्ती गर्दा ममीलाई कराउनुहुन्छ भनेर सुनाएँ। उसले सकेसम्म मेरो यस्तो गन्थन सुन्न मन पराइनँ।

मैले बिस्तारै उसको रुचि बुझ्न थालेँ। उसलाई पढ्न, कविता लेख्न, अनि झ्यालबाहिर हेरेर आफूभन्दा एक कक्षा सानो फुच्चेसँग आँखा जुधाउन खुब मन पथ्र्यो। ऊ त्यो केटाका बारेमा भनेर कहिल्यै थाक्दैनथी। कविता र गजल सुनाउन पाउँदा कहिल्यै निराश हुन्नथी, भलै उसको कवितामा निराशा र दुःख नै किन नहोस्। उसले आफ्नो घरपरिवारको कुरा कहिल्यै गरिन। कहिलेकाहीँ मैले सोध्थेँ तर उसले भन्न उति सारो रुचि देखाइन।

एक दिन म कक्षाकोठामा बसेर गणितका सूत्र कण्ठस्थ गर्दै थिएँ। ऊ नजिकै आई र मेरो किताब पढ्न थाली। म रिसाएँ, ‘आफ्नै किताब पढ न। मलाई डिस्टर्ब भयो।’ ऊ सरक्क उठेर पछाडि गई। मैले उसलाई फकाएँ। हामीले सँगै बसेर पढ्यौं। उसले एउटा मात्रै कापी बोकेर आएकी रहिछे। घर फर्किंदा उसले भनी, ‘मेरा किताबकापी सबै बुवाले जलाइदिनुभयो।’

उसका कुरा सुनेर म मजाले हाँसेँ। ‘जेपिटी नभन न। बुवालाई त्यो किताबकापी चाहिन्छ भन्ने थाहा नभएर होला। किन्दिहाल्नुहुन्छ नि।’

‘नपढोस् भनेर हो।’

‘कसैका बाउआमाले आफ्ना छोराछोरी नपढून् भन्ने सोच्छ कतै ? कस्तो वाहियात कुरा।’

‘तिमी यस्तो कुरा बुझ्दिनौ।’ यति भनेर ऊ रिसाएर गई। ऊ के भन्दा खुसी हुन्थी मलाई कहिल्यै थाहा भएन।

घरमा आएर बुवालाई कुरा लगाएँ। बुवाले भन्नुभयो, ‘त्यसलाई पढाउने जिम्मा म लिन्छु। एसएलसी आइसक्न लाग्यो। के गर्‍या होला ? ’

भोलिपल्ट मैले उसलाई यो कुरा सुनाएँ। उसले आँखाभरि आँसु पारी र भनी, ‘तिमी भाग्यमानी छौ। बाउ होऊन् त तिम्रोजस्तो। म अभागी...’ यति भनेर ऊ रोई।

‘किन ? ’ मैले सोधेँ।

उसले कसैलाई नभन्नू भनेर कसम खुवाई र भनी—

मेरी आमा माइत जानुभएको थियो। त्यति बेला म नौ वर्षको थिएँ। म र बा सँगै सुतिरहेका थियौं। म निदाएको बेलामा बाले उहाँको हात मेरो शरीरभरि दौडाउनुभयो। मेरो सु गर्ने ठाउँमा बेस्मरी चिमोट्नुभयो। म झस्केर उठेँ। बाले अझै त्यहीँ चिमोट्न छाड्नुभएन। म रोएँ। बाले काखमा लिनुभयो र साह्रो गरी समात्नुभयो। त्यस दिनदेखि म बाको छेउ कहिल्यै परिनँ। मैले आमा र भाइको साथ कहिल्यै छाडिनँ। तिमीजसरी बाउसँग निर्धक्क हुन कहिल्यै सकिनँ।

अस्ति घरमा कोही थिएनन्। सबै बजार जानुभएको थियो। म अँगेनामा खाजा बनाउन आगो फुक्दै थिएँ, मलाई कसैले छोएजस्तो लाग्यो। पछाडि फर्कन्छु त आफ्नै बाउ। नांगै। शरीरमा एउटा पनि कपडा थिएन। मैले आँखा छोपेँ र चिच्याएँ। बाउ मलाई समात्न आए। मैले आफूलाई बल्लतल्ल छुटाएँ। अनि ममी र भाइ बजारबाट नफर्किउन्जेल सानिमाको घर गएर बसँे। घर फर्कंदा बाउले मेरा किताबकापी जलाएर आगो ताप्दै रहेछन्।

सानोको कुरा बिर्सन खोज्दै थिएँ। फेरि अस्ति एक्कासि... ऊ रुन थाली। मसँग कुनै जवाफ थिएन।

मैले ‘मेरा बुवा त्यस्तो हुनुहुन्न, हाम्रो घरमा जाम्’ भनेँ।

उसले भनी, ‘आफ्नै बाउको त भर हुन्न। तिमी पो आफ्नी छोरी भएर केही गर्नुभएन। म उहाँकी छोरी होइन। उहाँले त्यस्तो नगर्नुहोला भनेर कसरी विश्वास गर्नु ? ’

‘तिम्रो आफ्नै बुवा होइन होला। त्यस्तो कसरी गर्छन् ? तिमीले झुठो बोलेकी त होइनौ ? ’ मैले यति भनेर सक्दानसक्दै ऊ उठेर हिँडी। जाँदाजाँदै भनी, ‘आफ्नो दुःख अरूलाई पोख्न हुन्न भन्ने आज थाहा पाएँ।’

मैले ममीसँग घटनाको बेलीविस्तार लगाएँ। ममीले आँखाभरि आँसु पार्नुभयो। ‘संस्कार नभएसी कसको के लाग्छ ? आफ्नै छोरीलाई नि, हरे ! पिशाचहरू...! तर तेरा बाउ त्यस्ता छैनन्। केही पीर नगर। रक्सीले मातेर छोरी चिनेन कि ? आफ्नै बाउबाट छोरी जोगाउन पर्ने भएसी कसको के लाग्छ ? ’

यसपछिका दिनहरूमा म कहिल्यै बुवाको नजिक पर्न पाइनँ। हामी बाउछोरी तरकारी केलाउँदै छौं भने पनि ममी टुप्लुकिनुहुन्थ्यो र मलाई पढ्न पठाउनुहुन्थ्यो। ममीले बुवासँग नजिक हुन र अलिकबेर कुरा गर्न पनि दिनुभएन।

‘ममी आज राति म बुवासँग सुत्छु नि है।’

‘ठूली भइस्। यत्री लाठे भएर बाउसँग सुत्छन्।’

‘बुवाले सबैभन्दा बढी माया मलाई गर्नुहुन्छ भन्या हैन। किन ? ’

‘अझै बिर्सेकी रहिनछे यो कुरा। किन हुनु नि। तँ जन्मँदा बूढा एकदम खुसी हुनुहुन्थ्यो। पहिलोचोटि बाउ बन्दा कसलाई खुसी नलागोस् ? हामीलाई भने बाँचिन्छ कि मरिन्छ भन्ने पिरलो हुन्छ। आनन्दभन्दा बढी डर हुन्छ’, ममीले तरकारी ओइरिँदै भन्नुभयो।

एघार कक्षाको दसैं बिदामा घर गएकी थिएँ। बहिनीलाई ममीले भन्नुभयो, ‘जा बुवासँग गएर सुत्। हामी आमाछोरी यहीँ सुत्छौं।’

बहिनी गएपछि मैले सोधेँ, ‘बैनीलाई बुवासँग किन सुत्न पठाउनुभएको ? म बुवासँग सुत्छु भन्दा ठुली भइस् भन्नुभाथ्यो त।’

‘त्यो पनि ठूली भई अब। धेरै सुते यही वर्ष त हो। जवान भएसी छोरीहरूलाई आफ्नै बाउबाट अलग राख्नुपर्छ।’ ममीले लामो सास तानेर भन्नुभयो, ‘बाउले छोरीलाई केके गरे भन्ने घटना सुन्नमा आइराख्छ। डरै लाग्छ आफैंले जन्माएको रगतलाई पनि कसरी स्वास्नी देख्न सक्छन् भनेर। तिनारूको त आँखा फुटाइदिन पर्ने।’ बहिनी फर्केर आई र भनी, ‘ममी, तपार्इं जानु रे बुवासँग सुत्न। दिदीबैनी सुताओ भन्नुभयो।’

यी घटनाहरू मेरो दिमागको कुनै फोल्डरमा चुपचाप बसिरहेका थिए।

उसले आमाबुवाको बारेमा बताएपछि मैले नौ कक्षामा पढ्दाकी बेस्ट फ्रेन्डलाई सम्झिएँ। मैले बुवाका बारेमा जोशिँदै कुरा गर्दा ऊ किन अँध्यारिन्थी। ऊ किन बुवाको प्रशंसा सुन्न रुचि देखाउँदैनथी। आमाबुवाका बारेमा सोध्दा ऊ किन मुन्टो बटार्थी ?

हामीले देवता मानेका आमाबुवाका बारेमा कुरा गर्दै गर्दा ब्याक सपोर्टर हुन् भन्दै गर्दा बुवाआमाबाटै राक्षसी व्यवहार पाएका बच्चाहरूले कसरी आमाबुवाको स्मरण गर्दा हुन् ? एउटी छोरीका लागि सबैभन्दा सुन्दर पुरुष उसलाई जन्म दिने, हुर्काउने, बढाउने पिता हुन्छ भनिरहँदा बाउबाटै असुरक्षित रहेर जिन्दगीको सफर गरिरहेकाहरूको मनमा के बित्दो हो ? आमा जति महान् कोही हुन्नन् भनेर महिमा गाइरहँदा बच्चा पाएर बाँसघारीमा फालेर हिँड्ने आमाहरूले आफूलाई के सोच्दा हुन् ? ती बेवारिसे बच्चाहरूले आमा भनेर भन्दा के महसुस गर्दा हुन् ?

मिडियामा आइरहने बलात्कार, हत्या, हिंसाको घटनाले सुसूचित गराउनेभन्दा पनि अविश्वास र डरको भावना बढाइरहेको छ। हामीले कस्तो समाज बनाइरहेका छौं ? किन एउटी आमाले निर्धक्क आफ्नी छोरी बाउको काखमा छाडेर हिँड्न सक्दिन। अपवादमा घट्ने यस्ता घटनाहरूको बढी पब्लिसिटी भइरहँदा एउटा बाउ आफ्नी छोरीसँग बोल्दा मात्रै पनि सशंकित देखिन्छ। आफैंमा शंका गर्नुपर्ने अविश्वासको बीउ कसले रोपिरहेको छ ? हामीले आमाबुवालाई देवत्वकरण मात्रै गरिरह्यौं। यो समय आएको छ, सकेसम्म दानवीकरण गर्न लागिरहेका छौं।

साथीको बुवासँगको घटना ममीलाई नसुनाएको भए बुवासँग म टाढिनु पर्दैनथ्यो कि ? जवान छोरी आफ्नो बाउसँग कुरा गर्दा मात्रै पनि ममी डराउन पर्दैनथ्यो कि ? हामीले विश्वासयोग्य मान्छेलाई पनि शंका गरिरहेका छौं।

मिडियामार्फत हामीले कस्ता कथाहरू भनिरहेका छौ ? सधैं बलात्कारको घटना मात्रै किन लेखिरहेको छ यो समय ? मीटु भनेर पत्रिकामा लामोलामो आर्टिकल आइरहँदा बाउले छोरी बनाउन गरेका संघर्षका कथाहरू किन आउन सकिरहेका छैनन् ? अझै निराश बनाउने कथा, कहानी मात्रै पढिरहने अनि त्यस्तै बिक्छ भनेर लेखिरहने हो कि समाजका राम्रा–नराम्रा दुवै पाटोहरू खोतल्ने हो ? सन्तुलित रूपमा हाम्रा कथाहरू सुनाउन के अझै बेला भएको छैन ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.