पूर्वका होटल ८० प्रतिशत खाली

पूर्वका होटल ८० प्रतिशत खाली

इटहरी : नोबेल कोरोना भाइरसको संक्रमण त्रासका कारण पूर्वी नेपालका होटल व्यवसायमा ठूलो असर परेको छ। पूर्वमा मात्र नभएर नेपालमै अहिलेसम्म कोरोनाको संक्रमण भेटिएको छैन। तर, यसैको त्रासले होटल व्यवसायलगायत पर्यटन गतिविधिमा ८० प्रतिशतले गिरावट आएको पूर्वका पर्यटन व्यवसायीले बताएका छन्। यसले होटल व्यवसायी र त्यहाँ काम गर्ने जनशक्तिको आम्दानीमा प्रत्यक्ष असर पर्न थालेको छ।

होटल व्यवसायी महासंघ प्रदेश १ अध्यक्ष मणिन्द्र कटुवाल होटलको व्यापार ह्वात्तै घटेको बताउँछन्। उनका अनुसार आन्तरिक र बाह्य पर्यटक आइरहेका छैनन्। ‘८० प्रतिशत नै व्यवसाय खस्केको छ’, उनले भने, ‘यही अवस्था लामो समयसम्म रहे व्यवसायीलाई कर्मचार पाल्न र बैंकको ऋण तिर्न समस्या हुन्छ।’

इटहरीका होटल व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका स्किल कलेजका सञ्चालक पृथ्वी पराजुलीका अनुसार ४० प्रतिशत व्यवसाय कटौती भएको छ। उनका अनुसार राम्रो होटलमा पनि पर्यटकको संख्या घट्दो छ।

‘हाम्रो क्षेत्रमा असर देखिएको छैन। हुन त केही भन्न सकिन्न तर सम्भावना न्यून छ’, उनी भन्छन् ‘आफू सुरक्षित हुनुभन्दा पनि त्रस्त हुन थालेका छौं अनि आफैलाई लक डाउन गरेर बसेका छौं।’

यता इलामका होटलमा अहिलेसम्म त पाहुना छन्। माइभ्याली गोल्डकपको कारण होटलमा पाहुना भए पनि गोल्डकप सकिएसँगै होटल रित्तो हुने डरले होटल ग्रिन भ्यूका सञ्चालक डम्बर सापकोटालाई सताइरहन्छ।

‘नेपाल जोखिममा छ भन्ने समाचार आइरहँदा मानिस घरबाहिर निस्कनै छाडे’, उनी भन्छन्, ‘इलामका होटल प्रायःजसो ६० प्रतिशत प्याक हुने गरेकोमा अहिले १०–१५ प्रतिशत मात्र प्याक छन्।’

उनका अनुसार संक्रमण नभएको अवस्थामा हल्लैले पनि मानिसलाई निस्क्रिय बनाएको छ। ‘सबैले लगाएपछि आफूले पनि मास्क लगाएर बस्नुपरेको छ’, उनी भन्छन्, ‘कुन दिनदेखि ताला लगाएर बस्नुपर्ने हो।’

होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलका विचारमा पर्यटक घट्नुमा नचाहिने सरकारी होहल्ला पनि कारक रहेको बताउँछन्। ‘कोरोना सामान्य रोग रहेछ सचेतना अपनाउँदा हुने रहेछ’, उनी भन्छन्, ‘सबैसँगको छलफलमा उपयुक्त कदम चाल्नुपर्नेमा स्थानीय तह र सरकारले नै अनावश्यक हल्ला गरेकोले ठूलो असर पर्दै छ।’

उता गर्मी सुरु हुनै लाग्दा सधैं भरिभराउजस्तै हुने धनकुटाको भेडेटारका होटलमा पनि यतिबेला पर्यटक घटेका छन्। आन्तरिक र बाह्य दुवै पर्यटक घटेको व्यवसायीको भनाइ छ।

सरकारले पर्यटन वर्ष मनाइरहँदा उत्साहित देखिएका होटल व्यवसायी अहिले निराश देखिएका छन्। पर्यटकको आवागमन र कार्यक्रम ठप्प जस्तै भएपछि सरकारसँग विशेष सहयोग तथा कर र जरिवाना छुट माग गरिरहेका छन्।

यस्तै होटल व्यवसाय प्रदेश समितिले विज्ञप्ति जारी गर्दै व्यवसायीलाई सचेतता अपनाउन आग्रह गरेको छ। काउन्टरमा बस्नेले बारम्बार स्यानिटाइजर प्रयोग गर्न, सिरक, डसना बारम्बार परिवर्तन गर्न तथा कोरोनाको लक्षण भएको ग्राहक आएमा उपचार गर्न सल्लाह दिन आग्रह गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.