बजेट सरकारको, नाम नेताको

बजेट सरकारको, नाम नेताको

गोरखा :  चुमनुब्री गाउँपालिकाको पाँचौं गाउँसभाले उपप्रमुख कुमारी गुरुङका नामबाट ‘कुमारी कोसेली कार्यक्रम’ लागु गरेको छ। दस लाख रुपैयाँको कार्यक्रम गर्भवती, सुत्केरी तथा महि नावारी भएका महिलाको स्वास्थ्य सुधारका क्षेत्रमा केन्द्रित छ।

सोही गाउँपालिकाका प्रमुख धनबहादुर गुरुङले ‘अध्यक्ष ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम ल्याएका छन्। हिमाली भेगमा पर्ने यो गाउँपालिकाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न अध्यक्षको नामबाट खर्च गरिनेछ। त्यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।

स्थानीय तहका प्रमुख÷उपप्रमुखले आफ्नो शान, मान, रवाफ बढाउन बजेट उपयोग गरेका घटना बढिरहेका छन्। गोरखाका अधिकांश तहले व्यक्तिगत लोकप्रियताका लागि आफूसँग नाम जोडेर कार्यक्रम बनाउने क्रम बढेको छ। नौ गाउँपालिका र दुई नगरपालिका रहेको गोरखाका तीन वटाबाहेक सबैले प्रमुख÷उपप्रमुखसँग जोडेर कार्यक्रम बनाएका छन्। एउटै स्थानीय तहमा चारवटासम्म यस्ता कार्यक्रम बनाइएका छन्।

धार्चेका प्रमुख सन्तोष गुरुङले गाउँपालिकाको नीति तथा कार्यक्रममा ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिता समावेश गरेका छन्। यस वर्षको यो कार्यक्रम सम्पन्न भइसकेको अध्यक्ष गुरुङले जानकारी दिए।

सोही गाउँपालिकाले ‘उपाध्यक्ष महिला उत्थान कार्यक्रम’ निर्धारण गरेको छ। कार्यक्रमअन्तर्गत लैंगिक समानता तथा सामाजिक समावेशीकरण, महिला सशक्तिकरण, उद्यमशीलता तथा सीप विकासका लागि काम गर्ने अध्यक्ष गुरुङले बताए।

बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले ‘अध्यक्ष गरिबी निवारण कार्यक्रम’ गाउँसभाबाट पारित गराएका छन्। त्यसका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए।

त्यस्तै उपप्रमुख सनमाया गुरुङले ‘बारपाक सुलीकोटकी चेली, उपाध्यक्षको कोसेली’ कार्यक्रम लागु गरेकी छन्। त्यसका लागि तीनलाख रुपैयाँ विनियोजन गरिएको उनले बताए।

पालुङ्टार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले ‘मेयरसँग गरिब बिरामी’, ‘नगरप्रमुख कल्याणकारी कोष’ र ‘मेयरकप फुटबल’ कार्यक्रम नगरसभाबाट अनुमोदन गराएका छन्। त्यस्तै उपमेयर पम्फा बसेलले ‘उपप्रमुखसँग स्वास्थ्य शिक्षा’ र ‘उपप्रमुखसँग लिगलिग लगानी सम्मेलन’ पारित गराएकी छन्। मेयर कपका लागि २० लाख, उपप्रमुख लिगलिग लगानी सम्मेलनका लागि १० लाख बजेट रहेको लेखा अधिकृत सुवन शर्माले जानकारी दिए।

भीमसेन थापा गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले ‘अध्यक्ष वृद्धवृद्धा स्वास्थ्य’ कार्यक्रम र ‘अध्यक्ष ज्येष्ठ नागरिक लौरो वितरण’ कार्यक्रम बनाएका छन्।

त्यसैगरी गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले नगरसभाबाट ‘मेयरकप फुटबल’, ‘नगरप्रमुख छात्रवृत्ति’, ‘विपन्न, अशक्त, ज्येष्ठ नागरिक नगरप्रमुख स्वास्थ्य बीमा’ कार्यक्रम ल्याएका छन्।

उपप्रमुख बिनाकुमारी श्रेष्ठले पनि ‘उपप्रमुख सबल नेतृत्व विकास’ कार्यक्रम चालु आर्थिक वर्षदेखि लागु गरेकी छन्। नगरप्रमुख स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत यस वर्ष एकसय जनालाई स्वास्थ्य बिमा गराउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए।

त्यस्तै उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रमअन्तर्गत २५ लाख रुपैयाँ विनियोजन गरिएको सामाजिक विकास शाखा प्रमुख विजयभक्त तिवारीले बताए।

सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले गाउँसभाबाट ‘गाउँपालिका अध्यक्ष शैक्षिक सुधार’ कार्यक्रम लागु गरेका छन्। उपाध्यक्ष रीता देवकोटाले ‘उपाध्यक्ष स्वास्थ्य सुधार’ कार्यक्रम पारित गरी लागु गरेको प्रमुख प्रशासकीय अधिकृत भेषबहादुर कुँबरले जानकारी दिए।

त्यस्तै अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले ‘अध्यक्ष साना किसान कार्यक्रम’ लागु गरेका छन्। उपाध्यक्ष चन्द्रमाया गुरुङले ‘उपाध्यक्ष महिला उत्थान कार्यक्रम’ ल्याएकी छन्। दुवै शीर्षकमा १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको छ।

आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका र शहीद लखन गाउँपालिकामा भने अध्यक्ष, उपाध्यक्षसँग जोडेर कार्यक्रम राखेका छैनन्। ‘अध्यक्ष, उपाध्यक्षसँग जोडेर कार्यक्रम बनाउन हाम्रा प्रमुख, उपप्रमुख मान्नु भएन’, गण्डकीका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले भने, ‘काम देखाउने हो, नाम किन जोड्नु पर्‍यो भन्नुभयो।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.