कोरोनाको त्रासले तोरन ल्ह खल्लो

कोरोनाको त्रासले तोरन ल्ह खल्लो

बेनी : विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको त्रासले यसपल्ट म्याग्दी र मुस्ताङका अल्पसंख्यक थकाली समुदायले मनाउने प्रमुख पर्व तोरन ल्ह (फागु पूर्णिमा) खल्लो बनेको छ। १० हजारजति रहेको थकाली समुदायले फागु पूर्णिमामा बर्सेनि परम्परागत तोरन ल्ह पर्व ३ दिन धुमधामसँग मनाउने गर्छन्। पहिलेजस्तो बाहिर र विदेशमा रहेका थकाली तोरन ल्ह मनाउन घर फर्किएर भेला भएनन्।

थकाली सेवा समितिको विभिन्न क्षेत्रीय समितिले आयोजना गर्दै आएको तारो हान्ने खेल यसपटक आयोजना भएन। कोरोनाकै त्रासले स्थानीय प्रशासन र थकाली सेवा समितिको आग्रहअनुसार यसपालि कुनै पनि औपचारिक कार्यक्रम नगरेको समितिको बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए। ‘कोरोनाको डरले तारो हान्ने र होली खेल्ने कार्यक्रम आयोजना गरिएन,’ थकाली अगुवा गोपाल भट्टचनले भने, ‘घरपरिवारमै सीमित भएर फागु मनाउन लागेका छौं। कोरोनाले फागु खल्लो बनायो।’

तोरन ल्हफागु पूर्णिमाको अघिल्लो दिन सुरु हुन्छ। आफन्त डाकेर विभिन्न परिकार खुवाउने र तारो हान्ने चलन छ। मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। थकाली समुदायको धेरै बसोबास घरपझोङ र थासाङ गाउँपालिकामा छ। म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा पनि थकाली समुदायको बसोबास छ।

औपचारिक कार्यक्रम स्थगित

कोरोनाबाट जोगिन म्याग्दीमा आयोजना गरिएका औपचारिक कार्यक्रमहरु स्थगित भएका छन्। ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आइतबार म्याग्दीमा कुनै पनि औपचारिक कार्यक्रम भएनन्। स्थानीय तहका महिला तथा बालबालिका शाखाले दिवस मनाउने तय भए पनि प्रशासनको अनुरोधमा कुनै कार्यक्रम गरेनन्।

फागुन २७ र २८ गते बेनीमा हुने नेपाल मगर विद्यार्थी संघको विशेष भेलासमेत कोरोनाकै कारण तत्कालका लागि स्थगन भएको संघका अध्यक्ष बिष्णुकुमार थापाले बताए।

होटल सुनसान

म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन्। फागुन पर्यटक आउने पिक सिजन हो। तातोपानी, घोडेपानी, पुनहिल, अन्नपूर्ण आधारशिविर, धौलागिरि सर्कल, अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्गका होटल सुनसान छन्।

चिनियाँ नयाँ वर्षमा घुम्न आउने चिनियाँको घोडेपानीमा घुइँचो लाग्थ्यो। यस वर्ष चिनियाँ नयाँ वर्षको सुरुवातमै कोरोना संक्रमण भएपछि चिनियाँ न्यून संख्यामा आएको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजाले बताए।

कोरोनाको त्रास फैलिएपछि विदेशी पनि नआएका र स्वदेशीको संख्या पनि न्यून रहेको भुरुङ तातोपानी कुण्डका सञ्चालक बाबुराम गर्बुजाले बताए। दैनिक ५ सय पर्यटक भित्रने घोडेपानी, पुनहिलमा मुस्किलले सय जना पर्यटक पनि आएका छैनन्।

स्थानीय प्रशासनको सतर्कता

जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट जोगिन सतर्कताका लागि मेला महोत्सव सञ्चालनमा रोक लगाएको छ। ससाना पारिवारिक भेटघाटबाहेक ठूला जमघट, मेला, महोत्सव, प्रदर्शनी सञ्चालन नगर्ने, नगराउने र सहभागी नहुन अनुरोध गरेको छ। सहायक सीडीओ महेश सुवेदीले अर्को निर्णय नभएसम्म मेला महोत्सवको स्वीकृति नदिन स्थानीय तहसँग अनुरोध गरिएको जानकारी दिए।

सञ्चालन अनुमति लिइसकेका मेला महोत्सवका आयोजकलाई समेत स्थगन गर्न आग्रह गरिएको छ। उच्च जोखिममा रहेका बिरामीलाई केही समय क्वारेन्टाइनमा राख्न बेनी अस्पतालमा ३ शड्ढयाको आइसोलेसन वार्ड तयार पारिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.