जीप दुर्घटनाका घाइते चारजनालाई हेलीकोप्टरबाट काठमाडौं पठाइयो
गोरखा : गोरखाको सौरपानीमा जीप दुर्घटनामा परी घाइते भएका चारजनालाई हेलिकोप्टरबाट उद्धर गरिएको छ । गम्भीर घाइते भएकी बिमला गुरुङ, रमा गुरुङ, क्षेत्रकुमारी गुरुङ र सुकमाया गुरुङलाई माउण्टेन एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित ग्रिनसिटी हस्पिटलमा लगिएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ।
सिटमा सुताएर लैजानुपर्ने भएकाले एकपटकमा दुईजनाका दरले दुईखेप गरी चारजनाको उद्धार गरिएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
बारपाक सुलीकोट ४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजे छहरेखोलाको भीरबाट खस्दा जीपमा सवार ११ जना घाइते भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका अनुसार बिमला गुरुङ, रमा गुरुङ, वुद्ध गुरुङ, श्रीमान गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ, सनिता गुरुङ, सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र जीप चालक आनन्द गुरुङ घाइते भएका हुन् । उनीहरुमध्ये बिमला, रमा र क्षेत्रकुमारी र सुकमायाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी प्रमुख सुकबहादुर विकले जानकारी दिए । उनका अनुसार जीप छहरे खोलाबाट करिब एकसय मिटर तल पुगेको थियो। 
प्रतिक्रिया दिनुहोस !