नर्सिङ परिषद्को ध्याकर्षण
काठमाडौं : नेपाल नर्सिङ्ग परिषद्ले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचार र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार परिषद्ले सार्वजनिक गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको हो ।
नर्सिङ्ग लाइसेन्स परीक्षाको विषयमा परिषद्की एक सदस्यले पैसा बार्गेनिङ गरेको समाचारको सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको विज्ञप्तिमा बताइएको छ ।
सोधपुछमा उक्त सदस्यले फेक आइडी बनाइ अपराधिक समूहले उक्त कार्य गरेको बताएको विज्ञप्तिमा छ । 'उहाँले लिखित रुपमा यो विषयमा परिषद्लाई जानकारी गराउनु भएको छ र आफ्नो ‘फेक’ आइडी बनाएर अपराधिक समूहले सो कार्य गरेको परिषद्लाई जानकारी गराउनु भएको छ', विज्ञप्तीमा उल्लेख छ, 'फेक आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा उजुरीसमेत दिइसकेको बताउनुभएको छ ।'
समाचारको वास्तविकताबारे आवश्यक छानविन गरिरहेको परिषद्ले बतायो। नर्सिङ परिषद्ले लिने परीक्षा निष्पक्ष र पारदर्शी हुने परिषद्ले उल्लेख गरेको छ ।
'परिषद् अन्तरगत एक परीक्षा समिति रहने व्यबस्था छ । यसका सबै प्रश्नहरु बस्तुगत हुन्छन् । उत्तरपुस्तिका ‘कोडिङ्ग’ प्रणालीबाट तय गरिन्छ', विज्ञप्तीमा उल्लेख छ, 'परीक्षा केन्द्रबाट खामबन्दी भएर आएका उत्तरपुस्तिका परीक्षा समितिका सबै सदस्यहरुको रोहबरमा खोलिन्छ र जाँचका लागि स्क्यानिङ्गमा हालिन्छ । स्कानिङ्गमा हाल्ने बित्तिकै मेसिनले नै स्वत यसको रिजल्ट दिन्छ ।'
प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नहुने र भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न पनि परिषद्ले अपील गरेको छ । परिषद्ले आफूमाथि लगाएको लान्छानाको भत्सर्ना गरेको छ । परिषद् र परिषद्मा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संग्लनलाई छानबिनको दायरामा ल्याएर कडा कानुनी कारबाही गर्न परिषद्ले सम्वन्धित निकायसमक्ष माग गरेको छ ।