झरेका पात र छुटेका प्रेमिका
एउटा बोन्साईको सारै रहर थियो। नेपालमा निकै महँगो पथ्र्यो पहिला। अहिले सजिलै सस्ता बोन्साई पाइन थालेछन्। जस्तो अप्ठ्यारोमा पनि हुर्किन, सुन्दर देखिन सकिन्छ भन्ने जापानी सन्देश। मैले एउटा बरको बोन्साई किनेर ल्याएँ। छ वर्ष पुरानो बरको रूख, मुस्किलले एक फिट अग्लो। सानो कचौरा जत्रो भाँडोमा ऊ खुसी छ।
सुरु सुरुमा ऊ रिसायो। पातहरू झर्न थाले उसका। मैले फकाएँ। मीठा मीठा गीत सुनाएँ। दिनमा केही छिन समय ऊसँग कुरा गर्न निकालेँ। अहिले खासै पात झर्दैनन् उसका। झरे फेरि नयाँ पलाउँछन्। झरेका पात माटोमा मिल्छन् र माटै बन्छन्। नयाँ उम्रिने पातलाई पोषण। अहिले त हाँगाबाट भुइँ चुम्न लहरे जरा पलाउँदैछन् उसका। सायद आफूबाट छुटेका पातलाई एकपल्ट भेटेर केही भन्न चाहन्छ ऊ।
रूखहरू गीत गाउँछन्। माटो पनि गीत गाउँछ। वैज्ञानिकहरूले नै भनेका। उनीहरू कहिले बिरुवामा त कहिले माटोमा यन्त्र घुसारेर उनीहरूले निकाल्ने संगीत रेकर्ड गर्छन्। युट्युबमा यस्ता माटो र बिरुवाले निकालेका संगीतहरू प्रशस्तै सुन्न पाइन्छन्। मैले मेरो बोन्साईको गीत बुझ्ने भए सायद ऊ मलाई भनिरहेको हुँदो हो, ‘झरेका पात सम्झेर नरुनू। जतन गरेर बटुल्नू र जलाइदिनू। जलाउन माया लागे भिज्न दिनू। माटोमा मिल्न दिनू। केही पक्कै फुल्नेछ एक दिन त्यही माटोमा। जे फुल्छ फुल्न दिनू।’
म मेरो जीवनबाट झरेका पात बटुलेर कविता र कथा फुलाउँछु। छुटी गएका मेरा प्रेमिका मेरा झरेका पात हुन्।
एउटी प्रेमिका हुने गर्थी वर्षौंअघि। तेस्री प्रेमिका थिई ऊ मेरी। गरिब थिएँ म। पशुपतिको जंगल डेट जान्थ्यौं। एकपल्ट उसलाई चुम्बन गरिरहेकै बेला पछाडिबाट कसले हेरिरहेको झैं लागेर म झट्ट पछाडि फर्किएको थिएँ। हामीलाई हेरेर मान्छे कसरी बन्ने भनेर सिक्दै गरेको एउटा बाँदर मपछाडि फर्किंदा झसंग भएको थियो र मेरो गालामा एक थप्पड हान्न भ्याएर भागेको थियो। अहिलेका केटाकेटीलाई खुच्चिङ। पशुपतिको जंगलमा अचेल प्रेमीहरू जान पाउँदैनन्। सरकारको आदेश हुँदो हो सायद, प्रेमीहरू देखिए समात्नू। सहरका हरेक कुनाकाप्चामा पुलिस प्रेमीहरू समात्न चियाइरहेका हुन सक्छन्। त्यसो त उबेला पनि सरकार प्रेमवादी थिएन।
उसको पछि लुरुलुरु लाग्दै गर्दा अलि पर पुगेर ऊ फनक्क फर्की। आँखा बन्द गरेर ओठओठका पत्रदल जोडेर एउटा मीठो गुलाब फुलाइदिई। मेरो हृदय बगैंचा भयो।
चैते दसैंको एक साँझ त्यही प्रेमिकासँग स्वयम्भूको भर्याङमा हात समातेर बसेको बेला एक प्रहरी सज्जन आएर थर्काएका थिए। दसैंको दिन दशा होला तेरो भनेर। मेरो मोटरसाइकल थिएन। ट्याक्सी चढ्ने पैसा थिएन। जानुपर्ने रुटमा बस चल्दैनथ्यो। प्रेमिका र म हिँड्दै न्युरोड पुगेका थियौं त्यसपछि। थाकेकी उसले एउटा पसलमा बेच्न राखेको जुत्ता देखाउँदै, ‘कस्तो राम्रो जुत्ता’ भनेकी थिई।
मेरा आफ्नै जुत्ता काठमाडौंका सडक नापेर प्वाल परेको बेलामा मैले उसको इसारा कसरी बुझ्नु ! न मैले उसलाई उसले मन पराएको जुत्ता किनिदिन सकेँ न उसलाई मोटरसाइकलमा चढाएर सहर घुमाउन सकेँ। हामी डेट जाँदा उसको सर्त हुने गर्थ्यो बरु मेरो शरीरमा जहाँ छुनु छ छोऊ, जहाँ चलाउनु छ चलाऊ, मेरो फोन नछोऊ। किन त्यस्तो भन्थी भन्नेमा ध्यान जाँदैनथ्यो। फोनबाहेक सबै छुन चलाउन पाउँदा जाबो फोनमा किन ध्यान जानु। एक दिन थाहा पाएँ— उसले मलाई आफ्नो नामसमेत ढाँटेकी रहिछ। उसका तीन चार अरू प्रेमी रहेछन्। हरेक प्रेमीले चिन्ने उसका अर्कै अर्कै नाम रहेछन्।
यो थाहा पाएको दिन हाम्रो ब्रेकअप भएको थियो। मैले दिनभर भित्तामा मुड्की हानेर बिताएको थिएँ। मुड्की खाएजति भाग रातै भएको थियो भित्ताको। पछि उसले उसका प्रेमीहरूमध्ये एउटा छानेर बिहा गरी। अहिले भए मलाई उसका अरू प्रेमी छन् भन्ने थाहा पाउँदा पनि केही फरक पर्ने थिएन। मलाई बुझ्न समय लाग्यो, मान्छेको शरीर एउटा हो। एउटा शरीरभित्र प्याज जसरी पत्र पत्र छन् मान्छेका, सबै पत्रका आआफ्ना आवश्यकता छन् जुन एउटा मान्छेलाई पूरा गर्न हम्मे हम्मे पर्छ।
त्यसैले विवाह भएकै मान्छे पनि प्रेमी वा प्रेमिका खोज्दै हिँडिरहेको हुन्छ। मनले माया चाहन्छ। शरीरले शरीर। आत्माले अर्कै केही चाहँदो हो। बुद्धिले अर्कै केही चाहँदो हो। यस्तोमा एउटा मान्छेको एउटा मात्र प्रेमी हुनुपर्छ भन्नु त बाँकीका पत्रहरूलाई झ्यालखाना पठाइदिनु हो। अहिले भए म भित्तामा मुड्कीले हान्ने थिइनँ। फोन गरेर उसलाई तथानाम भन्ने थिइनँ। बरु खुसी हुने थिएँ, मैले किनिदिन नसकेको जुत्ता, मैले चढाउन नसकेको मोटरसाइकल कहीँ त पाइछे उसले भनेर।
झरेका पातहरू मलाई छुटेका प्रेमिका सम्झाउँछन्। त्यसैले सकेसम्म ती नकुल्ची हिँड्छु बाटामा हिँड्दा। कुल्चिए मन्दिरमा बसेर मुख छाडेजस्तो महसुस हुन्छ मलाई। सबै कुरा बितेर जान्छ, तिम्रो जोबन ढलेर जान्छ। तिम्रो माया मरेर जान्छ भन्ने कुरा बुद्धलाई घाटले सिकायो रे। मलाई भने झरेका पातले सिकाए। छुटी गएका प्रेमिकाहरूले सिकाए। मैले सासै फेर्न गाह्रो हुने खालको देखी हरेक सास तान्दा गुलाबको बास्ना आउनेसम्मको किसिमको प्रेम गरेको छु। हृदय तोडेको छु। अनिँदा रातहरूमा खुनको आँसु रोएको छु। रुवाएको छु। यो अर्थमा प्रेम नै मेरो पाठशाला हो। मेरो आत्मा प्रेमको भट्टीमा पाकेको हो।
स्कुलले कहाँ केही सिकाए ? विश्वविद्यालयले समेत त्यति सिकाएन जति प्रेमिकाहरूले सिकाए। प्रेमले सिकायो, झरेका पातले सिकाए। त्यसै कहाँ भनिएको हो र, प्रेम नै ईश्वर हो। मैले भावनाहरूका अनेक रंग अन्त कहाँ चाख्न पाउँथेँ नत्र। आफू भित्रका राक्षसहरूलाई ऐना देखाउन कहाँ पाउँथेँ नत्र। म भित्रका ईष्र्यालु सर्प र विषालु वासनाहरूलाई प्रेमले नै हो ऐना देखाइदिएको। मलाई खुट्टामा समातेर उल्टो झुन्ड्याइदिएको। अचेल शान्त भएर बसेको बेला मेरो दिमागमा समाधिको शीतल बतास बहिरहेको हुन्छ।
शान्तिको बगैंचा त्यो बतासमा सुफी गायकहरूझैं आनन्दले झुमिरहेको हुन्छ। मलाई फकिरी पनि प्रेमले नै सिकायो। साँच्चै भन्दा यो संसारमा आफ्नो भन्ने केही छैन। खाली हात आएको र खाली हातै बिदा लिनुपर्ने संसारमा हामी प्रेमको नाममा एकअर्काको मालिक बन्ने खेल खोइ किन सुरु गर्छौं। कसैले एकै क्षण मायाले हेरिदेओस् मलाई, ज्यानै दिएभन्दा कम लाग्दैन अचेल। वर्षौंको गुड मर्निङ र गुड नाइट रुटिनभन्दा आत्मा निचोरेर दिएको एक क्षणको प्रेम राम्रो। एउटा सुफी कथा सुनेको हुँ कतै, बीच बजारमा एउटा केटो आफ्नो सिल्की स्मुथ हृदय हातैमा लिएर ठूल्ठूलो कुरा गर्दै थियो रे, ‘हेर सबैजना, कस्तो सफा स्निग्ध हृदय। कसैको छ यस्तो सफा हृदय ? भगवान् पनि गर्व गर्दा हुन् मेरो हृदय देखेर।’
यो तमासा देखिरहेको एउटा सुफी फकिरले हाँस्दै आफ्नो हृदय निकालेर देखायो, अनि भन्यो रे, ‘मेरो हृदय हेर ! ईश्वरले गर्व गर्ने त्यस्तो हैन यस्तो हृदय देखेरचाहिँ हो बरु।’
फकिरको कुरा सुनेर केटो त हाँस्यो नै, बजारका मान्छेहरू पनि हाँसे रे। कारण, फकिरको हृदय काठमाडौंको सडकजस्तै थियो रे। कतै खाल्टो, कतै पोखरी, कतै ढिस्को।
फकिरले व्याख्या गर्दै भन्यो रे त्यसपछि, ‘मैले मेरो हृदयका टुक्रा निकालेर धेरैलाई दिएँ। कतिल्ट सट्टामा मैले दिएको भन्दा ठूलो टुक्रा फिर्ता आए। मैले तिनलाई आफ्नै हृदयमा गाँसे र यी ढिस्कोहरू बने। कैयौंपल्ट मेरो हृदयको टुक्रा लिनेहरूले सट्टामा केही दिएनन् र यी खाल्टाहरू बने। हृदय दिन बनेको हो। लिन बनेको हो। चाहे जोडियोस् वा तोडियोस्। नडराई हृदयका टुक्राहरूको लेनदेन गर्नसक्ने सौदागरहरू मात्र हुन् ईश्वरका प्यारा पात्र।’
हिन्दीका प्यारा कवि गुलजार पनि त त्यस्तै भन्छन्, ‘दिल जलाओ के दिल रोशनी देता है। हाथ पे रखके दिल, रोशनी में चलो।’
हुन पनि, टुट्यो नै हृदय भने पनि त्यो आवाज झंकार बन्छ। अलंकार बन्छ। झरेका पात कतै जाँदैनन्। स्वरूप बदलेर हाम्रै वरपरै हुन्छन्। कहिले माटो बन्छन्, कहिले कहानी।
एउटी केटी हुने गर्थी एउटा जमानामा। शिरबाट झरना भएर बगेको कपाल नितम्ब आउँदा नदी बनेर बगेको हुन्थ्यो उसको। सुन्दरतामा आँखा नलागोस् भनेर गालैमा चौकीदार बनेर बसेको कालो कोठी। पहिलो पल्ट उसलाई देख्दा मलाई कुनै साँझ पशुपतिको सत्तलमा बसेर कीर्तन गर्दाको जस्तो आनन्द आएको थियो। टुसा पलाउँदै गरेको पात। हिम्मत गरेर ऊसँग बोलेँ। उसका औंला गितारका तार खेलाएजसरी खेलाएँ। हृदय झंकृत भयो। पातहरू सुस्तरी हल्लिए। मनले भन्यो, यतिले पुगेन, अझै चाहियो। दुई शरीर एक हुँदासम्म हृदयले भनिरह्यो। यतिले पुगेन अझै।
हामी लोभी भयौं। म जंगली झार थिएँ, उसले गमलामा सजाउन खोजी। उसले ममा अफिस सकाएर साँझ घर फर्कंदा एक मुठा साग लिएर आउने पति देख्न चाही। मैले पर्खालको बन्धन स्वीकारिनँ। सारा संसार आफ्नै ठानेर हिँडेको म, तिमी मात्र मेरी बाँकी सबै पराई भन्न जानिनँ। पातहरू पहेँलिएलान् जस्तो लाग्यो। मैले ठ्याक्कै त्यस बेला बिदा मागेँ। प्रेम त स्वर्गबाट बहेर आएको बतास हो। यसको स्वाद चाख्नु छ भने यसलाई पर्खालमा बन्द नगर्नु। उडेर जान चाहे उडेर जाओस्। दुःखी नहुनु। बरु ढोका खुल्लै राख्नु। त्यो बासन्ती बतास आउन चाहे आफैं आउँछ फेरि। प्रेमिकालाई पत्नी बनाउनु वा प्रेमीलाई पति बनाउनु प्रेमको उद्देश्य हैन। बरु अन्त्य हुन सक्छ। छुट्दै गर्दा उसलाई भनेँ, ‘पहेँलिएर झर्नुभन्दा ठ्याक्कै अघिको पात सबैभन्दा हरियो हुन्छ। त्यही बेला हो बिदा माग्ने सही बेला। सम्बन्ध हरियै हुँदा बिदा मागेको राम्रो।’ ऊ यसकारण छुटी।
रंगका वाचा लिएर आउने केहीले अन्त्यमा दाग दिए, घाउ दिए। जाने बेलामा भने, दाग पनि त रंग नै हो। घाउ पनि त रंग नै हो। केही प्रेमिकाहरू यसकारण पनि छुटे। एक दिन एउटा चिसो देशबाट बहत्तर घण्टाको उडान भरेर एउटी केटी आई। भनी, तिमीलाई नै भेट्न आएकी। उता उसको हृदय कठ्यांग्रिएको हुँदो हो। न्यानो खोज्दै आएकी थिई सायद। जाडोयाममा मानसरोवर छिचोलेर चक्रपथका रूखमा गुँड हाल्न अलास्कादेखि उडी आउने पानीहाँसहरू जस्तै। रूखमा ईश्वरको बास नदेख्नेहरूले यो हिउँद चक्रपथ नंग्याए। त्यत्रो बाटो उडी आएका पानीहाँस अब कता जालान् ? मेरी पानीहाँसलाई यताको मौसम फापेन। उसले भनी, ‘हिँड मेरै देश जाऊँ।’
हरियो देशमा हुर्केको म उसको बाह्रै मास हिउँ फुल्ने देशमा कहाँ रमाउन सक्थेँ होला त। भनेँ, ‘हावा हुँ म। जाडोमा लुगाको भारीले छोपिँदा मलाई आफ्नै जीउ भारी हुन्छ। बरु तिमी यतै बस न।’ उसले भनी, ‘तिम्रो देश मलाई गनाउँछ। यहाँको ट्वाइलेटमा मलाई सुसु आउँदैन।’ प्रेमको न्यानोभन्दा सफा ट्वाइलेट प्यारो ठानेर ऊ आफ्नै चिसो देश फर्किई। हातका रेखा नै मेटिँदै थिए जब, अरू के को लोभ। जान्छु भन्नेलाई मेरो आकाशको तारा जून इन्द्रेणी सबै दिएर पठाएँ। त्यसको ठ्याक्कै दस वर्षपछि ऊ त्यही पुरानो न्यानो खोज्दै मेरो हरियो देश फेरि फर्की आएकी थिई। त्यो कथा अर्को पल्टलाई। ओइलिएका पात झरेकै राम्रो।
प्रेम सायद टाढैबाट गरेको राम्रो। हातैले रूखका पात सुम्सुम्याए छोइपासो लागेर ती झर्दा हुन्। सात समुद्र पारि बस्ने एउटी प्यारी केटी छे। माघको चिसो साँझ उसलाई मैले एक दिन सोधेँ, ‘मैले चिन्ने कोही आउँदै छ तिम्रो देश। भन के पठाइदिऊँ ? ’ उसको उत्तर अक्षरमा लेख्दा अहिले आँखा रसाए। उसले भनी, ‘यसो गर्नु। एउटा चुरोट सल्काउनु। आधा पिउनु, बाँकी निभाउनु। त्यही पठाउनु। अलिकति आफ्नो ओठको स्वाद पठाउनु। ’ काठमाडौंको जाडोमा तलतल मेटाउने एउटा सही बहाना पाइयो। खाममा हालेर पठाएको आधा जलेको चुरोट कसोकसो परदेश पुग्यो। प्रेम ओसार्न चुरोटले पनि परेवाको काम गर्ने रहेछ कहिलेकाहीँ।
पात आफैं झर्दैनन् कहिलेकाहीँ। हुन्डरीले झार्छ। के के न नाप्छु झैं गरेर हावा चल्यो भने त्यो हुन्डरी हो। के मन हावा हो ? मन मात्तिए अहंकारको हुन्डरी बन्छ। प्रेमका टुसा बित्थामा निमोठिन्छन्। आमाले बुहारी ठान्ने एउटी केटीलाई भेट्दै थिएँ एकपल्ट एउटा क्याफेमा। त्यसो त ऊ घरमै पनि आउँथी। चकलेट, फलफूल लिएर आउँथी। त्यसरी आएकी ऊ खाली हात जान कहाँ पाउँथी ? आमाले न्यानो स्नेह फुकेर दिएको पाउजु पाउँथी कहिले त कहिले बहिनीले सुमसुम्याएर लगाइदिएको नङपालिस टल्काएर जान्थी। क्याफेको त्यो भेट अन्तिम भेट हुनेछ हाम्रो भनेर कहाँ थाहा हुनु त्यस बेला मलाई।
होस्टलका चिसा रातहरूमा न्यानो होस् उसलाई भनेर खास्टो किनेर लगिदिएको थिएँ मैले। रात रातभर बसेर पढ्थी। डाक्टर बन्छु भन्थी। त्यो दिन उसको डाक्टरीमा नाम निस्किएको रहेछ। हृदय एक्कासि कसरी चिसिन्छ मैले अझै बुझ्न सकेको छैन। मेरो खास्टोको न्यानोले नपुग्ने भयो त्यसपछि उसलाई। ओभरकोट किनिदिने ममा औकात र जाँगर दुवै थिएन। फोनमा के छ ? खाना खायौ ? भनेपछि कुरा सकिन थाले। ऊ बातबातमा रिसाउन थाली। आखिरमा एक दिन भनी, ‘म डाक्टर बन्छु। तिमी के बन्छौ ? कि एमबीएमा भर्ना गर कि मलाई बाई भन।’ मेरो एकमा एक जोडे एकै हुन्छ। हिसाबका परीक्षामा माइनसमा मार्क दिन पाए दिन्थे होला मलाई मास्टरहरूले। उसको हिसाबकिताब राखिदिने अर्कै कोही खोजोस् जस्तो लाग्यो। ऊ पात भई, म जरा भएँ त्यसपछि बिस्तारै। धेरै वर्षपछि एक दिन उसको फ्रेन्ड रिक्वेस्ट आयो फेसबुकमा। एक्सेप्ट बटन थिच्नै लागेको थिएँ, रिक्वेस्ट क्यान्सिल गरिसकिछ। सायद मेरो प्रोफाइल स्टक गर्दै थिई। झुक्किएर फ्रेन्ड बटन थिचिएछ होला। खुसी लाग्यो। जागिर छाडेर गएको कामदार वर्षौंपछि पुरानो अफिस घुम्न आएकोझैं लाग्यो। अफिस थोरै त राम्रै लागेको हुनुपर्छ त्यस्तो गर्नलाई। छुटेकी प्रेमिकाले वर्षौंपछि सुटुक्क चियोचर्चो गरेको थाहा पाउँदा हुने खुसी मलाई सोध्नु। त्यसको वर्षौंपछि एक दिन मैले उसको प्रोफाइल स्टक गरेँ। अस्ट्रेलिया पुगिछे केटी। बिहा गरिछे।
बूढो राम्रै रहेछ। खुसी लाग्यो। मेरै गमलामा हुर्किएकी भए बोनसाई भएर बस्नु पथ्र्यो उसले। अस्ट्रेलिया गएर झ्याम्मिन पाई। छुटेका प्रेमिकालाई वर्षौंपछि स्टक गर्ने, उसको सुखी जीवन देखेर खुसी हुने अरू को को छन् ? म उसको पहिलो प्रेमी थिएँ। ऊ भन्ने गर्थी, ‘केटा मान्छेको अन्तिम प्रेम र केटी मान्छेको पहिलो प्रेम अमर हुन्छ।’ ऊ मेरी अन्तिम प्रेमिका हुन सकिन। म उसको पहिलो प्रेमी सधैं बनिरहन्छु। पहिलो हुनुको फाइदा यही हुँदो हो। ऊ अब चाहेरै पनि मलाई दोस्रो वा तेस्रो प्रेमी भन्न सक्दिन। उसको हृदयमा म सधैं पहिलो प्रेमी बनेर बस्नेछु। अँध्यारो कुनैमा सही।
जिन्दगीको कुनै यामले गीतैगीत लिएर आयो भने धेरै मक्ख नपर्नू। कुनै गुलाब सधैंभरिलाई फुल्दैन। नझर्ने पात प्लास्टिकका मात्र हुन्छन्। त्यो एउटा पात झरेको याम मेरो मनमा गीतहरूको मेडले बनेर बसेको छ। केही चिनेका केही चिनिन बाँकी साथी बन्दीपुरको थानीमाई चढ्दै थियौं। सँगै हिँडेकी साथीकी साथीले मोबाइलमा गीत बजाई। क्रिष्टिना पेरीको थाउजेन्ड इयर्स। ‘तिमी भेटिनु अघिका हरेक दिन मरेतुल्य थिए।’ मैले ठ्याक्कै त्यही बेला उसलाई भेट्टाएँ। उसले पनि मलाई भेट्टाइछे। सबैका आँखा छलेर अलि माथि हामीले सुटुक्क हात समाएका थियौं एकअर्काको। बन्दीपुरकै एउटा हेरिटेज होटलको रुमभित्रको आँखीझ्यालबाट सडकमा हिँडेका भुसुना जस्ता मान्छेको आवतजावत हेरेर हामीले साँझ बितायौं। ऊ सुन्दै थिई, ‘आधा इस्क आधा है आधा हो जाएगा... कदमों से मिलोंका वादा हो जाएगा...’ संसारकै कम शब्द खपत भएको प्रेमको चर्चा गर्दा मेरो यो कथा नबिर्सिनू। घाम ढल्दासम्म मेरो मनमा पचासवटा कविता एकैपल्ट फुरे। राति समूहका सबै साथी मिलेर आगो बाल्यौं।
मासु पोल्यौं अनि भक्कुमार रक्सी पियौं। उसले भनी, ‘म मातेँ। सु गर्न साथी आइज।’ उसको पछि लुरुलुरु लाग्दै गर्दा अलि पर पुगेर ऊ फनक्क फर्की र आँखा बन्द गरेर ओठओठका पत्रदल जोडेर एउटा मीठो गुलाब फुलाइदिई। मेरो हृदय बगैंचा भयो। काठमाडौं फर्कंदै गर्दा बसमा हामी एकै सिट पारेर बस्यौं। हावाले उडाएको उसको कपालको मीठो बास्नामा सास फेर्दै गर्दा मलाई लाग्यो, यो बास्ना हिजो राति उसले फुलाइदिएको गुलाबको हो। काठमाडौं ओर्लेर छुट्ने बेला उसलाई भनेको थिएँ, ‘तेरो लागि मैले पचासवटा जति कविता लेखेको छु मनमा। कुनै दिन किताब निकाल्छु तँलाई डेडिकेट गरेर।’ उसको ओठको स्वाद चोर्न उसैको ब्यागबाट लिपगार्ड चोरेको थिएँ।
सोचेको थिएँ, कवितासंग्रहको नाम राख्छु, ‘चोरेको लिपगार्ड।’ उसको सम्झना बोकेको अन्तिम गीत बन्यो तमासाको ‘अगर तुम साथ हो...’ इम्तियाज अलीको तमासा चल्दै थियो सिनेमाघरहरूमा। मैले चारपल्ट हेर्न भ्याइसकेको थिएँ। जीवनमा सबैले दौडेको दौडभन्दा आफ्नो मन परेको दौड दौडनुपर्छ भन्ने भावनाले जरो हाल्दै हाँगाबिंगा फैलाउँदै थियो। उसले सोधी तिनै दिनहरूमा, ‘बिहा गर्छस् मलाई कि अर्कैसँग गरौं ? ’ काठमाडौंको एअरपोर्टले मेरा धेरै प्रेमिका लुटेर लगेको छ। अस्ट्रेलियाले पनि मेरा धेरै प्रेमिका लुटेर लगेको छ। ऊ एउटा इन्जिनियरसँग बिहा गरेर अस्ट्रेलिया गई।
उसको बास्नाको सम्झना लेभेन्डर फूलको सानो परफ्युम बोटल म मेरो कोटको भित्री खल्तीमा सधैं राखेर हिँड्छु। उसलाई भेट्नुअघि पनि यो बास्ना मेरो फेभरेट बास्ना हुने गथ्र्यो। तर उसले त्यसलाई झनै स्पेसल बनाइदिई। एक रात मेरो शरीरबाट आएको बास्ना सुँघ्दै उसले भनेकी थिई, ‘तेरो जीउको बास्ना कति मीठो। म रातभर कुकुरले झैं तँलाई सुँघ्दै बस्न सक्छु।’ लौ त भनेर मैले आफ्नो शरीरभरि लेभेन्डरको परफ्युम बोटल नै खन्याइदिएको थिएँ। उसले झूठो बोलेकी हैन रहिछे भनेर त्यसपछि थाहा भएको थियो। कहिलेकाहीँ सोच्छु, मेरा यी सबै पूर्वप्रेमिकाहरू एकै ठाउँ एउटा कोठामा जम्मा भए भने सबैभन्दा पहिला म कसलाई हग गर्दो हुँ ?
@swamianoopamaxl