निम्तोपत्रकै रूपमा सम्बोधन
यसलाई पनि निम्तोपत्रकै रूपमा सम्बोधन गरेको छु, अन्यथा नलिइदिनुहोला। यो निम्तोपत्र मलाई नमस्ते काकाकी कान्छी छोरी संगीताले दिएकी हुन्। यसबाट मैले नमस्ते काका, कालापानी पञ्चकन्या, इलामले यस धरतीलाई छोडेर गएको करिब पचास दिन पुगिसकेको थाहा पाएँ। हुन त उनको महाप्रस्थानका सातै दिनमा मैले संगीता बहिनीको गोजीसन्देश प्राप्त नगरेको भने होइन, तथापि व्यस्तता र बाध्यताअघि घुँडा टेकेर समयका कठघरामा जिन्दगी गुजारिरहँदा मेरो संवेदनशील हृदयले पनि मलाई छोडेर बसाइँ सरिसकेछ, त्यसैले त ती प्रिय काकाको मृत्युमा मभित्र वेदनाको बाढी बढेन। न त उनको ममतामा छल्किन नै सक्यो मेरा आँखामा जमेको तलाउ।
मडारिएन मनको कुनै कुनामा भावनाको संवेदनशील बादल। सुकिरह्यो मेरो सिंगो कठोर आयतन। उनका सम्झनामा ढिलो भयो कलम। उम्रिएनन् शब्दहरू र प्रतिक्रियाशून्य हिँडिरहेँ म, बोकेर बाध्यताका पुरानै भारीहरू।
स्वर्गीय नमस्ते काकाको वास्तविक नाम यसैपालि चाल पाएँ मैले। उनले बाँचेको संस्कारले उनलाई कर्णबहादुर मोक्तानको चिनारी दिएको रहेछ तर मलगायत मेराहरू उनलाई नमस्ते भनेरै चिन्दथ्यौं र यसै नामले नै उनलाई बुझ्दै छौं अझै। टोलछिमेक र अलि परकाहरू उनलाई नमस्ते देशी भनेरै सम्बोधन गर्थे। उनको अनुपस्थितिमा प्रायः सबैले उनलाई नमस्ते देशी नै भनेको मैले सुनेको छु। मेरा पिता पनि उनको यही परिचयमा जोडिएर प्रवेशिका परीक्षाको डेराको प्रबन्धनार्थ उनको आँगनीमा पुग्नुभएथ्यो। तिनताक हामीकहाँ प्रवेशिका परीक्षाको केन्द्र थिएन। हामीले करफोक विद्यामन्दिर गएर प्रवेशिका दिनुपथ्र्याे। यही मेसोमा मिसिएर हाम्रो परिवारले नमस्ते काकासँग जोडिन पाएको हो।
भारतीय सेनाबाट सेवानिवृत्त भई आफ्नै घरव्यवहार सम्हालेर बसेका नमस्ते काकालाई स्थानीय सम्बोधनले नमस्ते देशी बनाएको हो। हाम्रातिर भारतीय तथा बेलायती सैनिकमा सेवा गर्ने अहोभाग्यप्राप्त व्यक्तिलाई देशी भनेर प्रिय सम्बोधन गरिन्छ। यही प्रिय सम्बोधन नमस्ते काकाले पनि पाएका हुन्। तर देशीका अघिल्तिर नमस्तेचाहिँ कसरी जोडिन गयो यस विषयमा भने म अनभिज्ञ नै छु। सबैलाई अनेक आशयले नमस्ते गरी सम्मानसूचक अभिव्यक्ति प्रकट गरिहिँड्नेलाई पनि कतिले नमस्ते उपनाम दिएर पुकारेको थुप्रै पटक नसुनिएको भने होइन तथापि कर्णबहादुर काकालाई कसरी नमस्ते उपनाम आइलाग्यो सोध्ने साहस गरिएन। यो सबै खोतल्ने मन पनि भएन।
भारतीय सेनामा रहँदा हाम्रै गाउँका छविलाल सिवाकोटी दाइसँग एकै पल्टनमा दिनहरू बिताएका साइनाले हाम्रा पिताजीले डीबी दाइको प्रवेशिका परीक्षाको अस्थायी डेरा नमस्ते काकाकहाँ जमाइदिनुभएको रहेछ। छविलाल दाइका साइनाले राम्रै काम गरेको पिताजीको ठम्याइ थियो। यो करिब दुई हजार चालीस सालतिरको कुरा हो। विद्यालयका सारा विद्यार्थीमध्ये एक जना मात्रै उत्तीर्ण भएर हाम्रा डीबी दाइले रचेको त्यस ऐतिहासिक सफलतासँग नमस्ते काकाको अभिभावकीय भूमिका जोडिएपछि नयाँबजारको भण्डारी परिवार कालापानीका नमस्ते देशीसँग लिसोझैं टाँसियो।
लिसोमा टाँसिएको चरो बरु फुत्किएर भुर्र उड्न सक्ने सम्भावना जीवितै रहन्छ तर भण्डारी परिवारले त कसैगरी पनि छोड्दै छोडेन नमस्ते काकालाई। हाम्रा डीबी दाइपछि लीला दाइ, गोविन दाइ, सूर्या दिदी, कमल दाइ, नरनाथ दाइ, मीरा दिदी, हिमा दिदी, भोला दाइ, प्रेम दाइ, मन्कु दिदी हुँदै मसम्मले नमस्ते काकाकै संरक्षकत्व र अभिभावकत्वमा प्रवेशिकाको फलामे गेट कुशलतापूर्वक पार गरेको इतिहास भण्डारी परिवारसँग सुरक्षित छ। हाम्रो परिवारबाहेकका अरू सयौंले उनको छहारी प्राप्त गरेका थिए जसको सम्झना लाभ ग्रहण गर्नेहरूका पोल्टामा सुरक्षितै होला भन्ने ठान्दछु।
हुन त नमस्ते काकासँग हामी सबैले आआफ्नो स्तरअनुसारको निकटता कायम गरेकै थियौं तथापि मेराहरूमध्ये उनीसँग म नै बढी निकट थिएँ कि झैं लाग्छ। भारतीय भूमिमा बिताएको लाहुरे जीवनका क्षणहरूको प्रासांगिक व्याख्या उनी बडो स्वादिलो भाषामा गर्थे। उनको अभिव्यक्तिकला सबैलाई मुग्ध पार्ने शैलीमा प्रसार हुन्थ्यो। गणित र विज्ञानका जटिलताका माझबाट एकैछिन सुटुक्क छिरेर उनका अनुभवले कथेका कहानी श्रवण गर्दा खुबै आनन्द आउँथ्यो। उनले सुनाउने त्यस्ता कहानी ज्यादै रोचक लाग्थे मलाई। उनी माया गरेर मलाई कान्छा भनी सम्बोधन गर्थे। घर छोड्ने बानी नपरेको म, उनको आत्मीय सम्बोधनले तानिएको थिएँ सायद। एउटै प्रयोजनका लागि मसँगै बसेका मेरा गाउँले मित्र धर्मप्रसाद, मेरा जिज्ञासामा बगेका नमस्ते काकालाई चाख मानेर केवल श्रवण गर्थे, प्रतिक्रिया दिँदैनथे।
प्रवेशिकापछि पनि म नमस्तेनिवासमा बराबर पुगिरहेँ। भेट जतिसुकै दोहोरिए पनि उनले, प्रवेशिकामा मलाई प्राप्त सफलताको मुक्तकण्ठले प्रशंसा गर्न कुनै दिन बिर्सिएनन्। सपनाको पोको बोकेर राजधानीमा चर्को संघर्ष गरिरहँदा पनि मनको कुनाबाट नमस्ते काका हटेका भने होइनन्। समयले हाम्रो सन्दर्भ पर्खिन मानेन। उनको धरतीको बसाइ सिद्धियो र आज मैले कर्णबहादुर मोक्तानको घेवाका लागि तयार पारिएको निम्तोपत्र प्राप्त गरेँ। कर्णबहादुर अर्थात् उनै प्रिय नमस्ते काका, अर्थात् नमस्ते देशीको शुद्ध्याइँ कर्मको प्रयोजनका निम्ति निर्मित निमन्त्रणापत्र।
यहाँ अल्झिएको छु, त्यहाँ मन पुगे पनि मेरो शरीर कसरी पुग्न सक्ला र खै ! सोच्दै छु, जिन्दगी नामको यस यात्रामा आफन्तहरूको लामो लहरले मलाई छोडिसक्यो। मलाई थाहा छ यस जुनीमा ती कसैसँग सशरीर मेरो भेट हुने छैन अब। अतीत स्मरण गर्नुसिवाय के नै पो गर्न सक्छु र म ? मन भाँचिन्छ, सम्झेर आफन्त अनुहार। अप्ठ्याराले घेर्छ मलाई। गोरेटो समातेर हिँडिदिन्छु अनि जोडिन्छु शब्दहरूमा। त्यहीँ कतैबाट सुटुक्क प्रवेश गर्छन् नमस्ते काका, छिचोलेर मनका तहहरू। हामी विनासंवाद अनुभूतिका खाल्डामा खसिरहन्छौं।
नमस्ते काका, तिम्रो श्रद्धाञ्जलिमा जोडिएका यी हरफहरू तिमीले दिएको प्रेरणाका सम्मानमा उभिएका मनहरू हुन्। परत्रमा तिम्रो आत्माले शान्ति पाओस्। तिमी सीमान्त नेपालीले बाँचेको लाहुरे संस्कृतिका इतिहास हौ। मेरो सम्मान सलाम उभिन्छ तिम्रो संघर्ष र सत्प्रेरणाका नाममा। तिमीसँग जोडिएको भावनाको बलियो डोरी चुँडिने छैन युगयुगान्तर। बाँचिरहनेछौ, हाँसिरहनेछौ मन र मनहरूका आँगनीभरि तिमी। ...शब्दका बगैंचामा जतिसुकै डुले पनि निम्तोपत्रका छायामुनि बिदाइको हात त हल्लाउनै पर्दो रहेछ। सम्झनाका तरेलीहरूमा तैरिँदै बोकेर मनका गह्रौं पत्रहरू, साँचेर मनभरि उनैलाई हल्लाउँदै छु म बिदाइको हात, रोकेर छातीभरि मुरीका मुरी उकुसमुकुसहरू।