२५ विद्यार्थी एकै पटक विरामी, ७ सिकिस्त

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका-७ पुन्मास्थित सरस्वती माध्यमिक विद्यालयको २५ जना विद्यार्थी एकै पटक विरामी परेका छन्। विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको प्रधानाध्यापक धिरेन्द्र शाहले बताए। विद्यालयमा अहिले वार्षिक परीक्षा चलिरहेको छ।
त्यसमध्ये ७ जनामा सिकिस्त विरामी छन्। अन्यलाई सामान्य खालको रुघाखोकी छ। वार्षिक परीक्षा दिने क्रममा सोमबार ति विद्यार्थी विरामी परेका हुन्। कतिपय विद्यार्थी शनिबारदेखि नै विरामी भए पनि वार्षिक परीक्षा छुट्ने डरले परीक्षामा सहभागी भइरहेको स्थानीय दीपबहादुर शाहीले बताए। उनले केही दिन अघि परेको वर्षातका कारण गाँउमा रुघाखोकीका विरामी बढेको बताए।
केही विद्यार्थी विरामी भएको जानकारी आएपछि नगरपालिकाले एक स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए। 'त्यहाँको अवस्था बुझ्न र उपचार गर्नको लागि स्वास्थ्यकर्मीको टोली पठाएका छौं' उनले भने ‘अवस्था हेरेर आवश्यक उपचारको व्यवस्था मिलाउँछौ।’ विद्यालय सदरमुकाम खलंगाबाट सो विद्यालय पुग्न तीन घण्टाको समय लाग्छ।
जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा.अमिन शाहले पुन्मामा मौसमी रुघाखोकी देखिएको बताए।
प्रतिक्रिया दिनुहोस !
