नेपालमा कोरोना फैलिए के हुन्छ ?

नेपालमा कोरोना फैलिए के हुन्छ ?

-सुमित सुवेदी

नोभेल कोरोना भाइरस (कोभिड–१९) ले संसार सन्त्रासमा छ। चीनबाट सुरु भएको यो भाइरस हाल करिब १ सय ६० देशमा फैलिसकेको छ र यो क्रम जारी छ। विश्वभर १ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित छन् भने ७ हजार ५ सय बढीले ज्यान गुमाइसकेका छन्।

पछिल्लो कोरोना भाइरसबाट बढी प्रभावित भएको देश इटाली हो। त्यहाँको सरकारले सिंगो देशलाई ‘लकडाउन’ गरेको छ। त्यहाँ २७ हजारभन्दा बढीमा कोरोना भाइरस देखिएको छ भने २१ सय बढी मानिसको मृत्यु भएको छ।

विज्ञहरू नेपाल सरकार कोरोना भाइरस विरुद्धको पूर्वतयारीमा चुकेको बताउँछन्। तर, आत्तिहाल्नुपर्ने अवस्था नभएको उनीहरूको ठहर छ।

कोरोनाविरुद्ध लड्न संसारका सबै देशले यथासक्य प्रयत्न गरेका छन्। तर, नेपाल सरकार भने यस विषयमा गम्भीर नभएको विज्ञहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ‘सरकारले क्वारेन्टाइनको व्यवस्था गर्न सक्दैन’ भन्नु अपरिपक्वता भएको हेम्स हस्पिटलका सरुवा रोग विषेशज्ञ डा. अनुप सुवेदी बताउँछन्। ‘सरकारले कोरोनाको विषय कति गम्भीर छ भन्ने बुझेकै छैन,’ डा. सुवेदीले भने, ‘यसलाई नियतमा खोट भन्न त मिल्दैन तर, कोरोनाको महामारी कति खतरनाक छ भन्ने विषयमा बुझाइ कम भएको भन्न सकिन्छ।’

कोरोेना फैलिए अवस्था विकराल

अहिले नेपालमा कोरोना परीक्षण गर्ने एउटा मात्र ल्याब छ। कोरोनाको संक्रमण फैलिएमा एकै पटक धेरै बिरामीलाई परीक्षण गर्नुपर्ने हुन्छ। त्यस्तो अवस्था आएमा अवस्था विकराल बन्ने सुवेदी बताउँछन्। भन्छन्, ‘यदि कोरोनाको संक्रमणले कुनै एक जना बिरामी मर्‍यो भने त्यो समयसम्म धेरैलाई रोग फैलिसकेको हुनेछ। तर, एउटा मात्र ल्याबको व्यवस्था भएकाले यसले पक्कै पनि गम्भीर असर गर्नेछ।’ कोरोनाको विषय गम्भीर भएकाले दैनिक कार्यविधिले यसबाट उम्किन नसकिने उनको धारणा छ। ‘नेपालका उच्च पदस्थ नेताहरूसँग कल्पनाशीलता छैन,’ उनी भन्छन्, ‘कोरोना नियन्त्रण गर्न ठूलो अठोट लिएर काम गर्नुपर्छ। दैनिक कार्यविधिले यो चुनौती सामना गर्न सकिँदैन।’

सरकारले खाली निर्देशन दिने काम गरेको, तर पूर्वतयारीका लागि लगनशीलता नदेखाएको सुवेदीको आरोेप छ। ‘सबैले साबुन पानीले हात धुनू भनिएको छ,’ उनी भन्छन्, ‘तर, खै हस्पिटलहरूमा धारा ? सम्पूर्ण हस्पिटललाई साबुनसहित धाराको व्यवस्था गर्न त लगाउनुपर्‍यो नि।’

आईसीयू र भेन्टिलेटरको अभाव

चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि १० दिनमा सयौँ अस्पताल निर्माण गर्नेदेखि रंगशालालाई नै अस्पतालामा बदल्ने काम भयो। तर, हाम्रो जस्तो देशमा संक्रमण फैलिहालेमा हस्पिटलकै अभाव हुने डा. जीवन क्षत्री बताउँछन्। ‘हाम्रो स्वास्थ्य प्रणाली ओभरस्ट्रेन्ड छ,’ डा. क्षत्री भन्छन्, ‘जति माग हो, त्यसअनुसार आपूर्ति छैन। सरकारी हस्पिटलको त कुरा छोडौँ, प्राइभेट हस्पिटलमा पनि रिजर्ब भेन्टिलेटर र रिजर्ब बेड पाउन निकै मुश्किल छ।’ कोरोना नेपालमा भित्रिए नेपालको क्षमताले नधान्ने उनको तर्क छ। ‘पाँच प्रतिशत कोरोना संक्रमितलाई भेन्टिलेटरमा नै राखेर उपचार गराउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘त्यसका लागि नेपालमा भेन्टिलेटरको चरम अभाव हुन्छ।’

सक्रमणको शंकामा आएकालाई टेकु अस्पतालमा आइसोलेसनमा राख्नु, उनीहरूको मोनिटर गर्नु, टेस्ट गर्नु भनेको सबैभन्दा सजिला काम भए पनि त्यसमा अस्पताल चुकेको डा. क्षत्री बताउँछन्। ‘हस्पिटलको आइसोलेसनमा बिरामीको मोनिटरिङ गर्ने काममा समेत अस्पताल चुकेको छ,’ उनी भन्छन्, ‘आइसोलेसनबाटै बिरामी भाग्नु सामान्य कुरा होइन।’

नेपालमा कोरोनाको संक्रमण फैलिएमा अन्य देशको भन्दा नेपालको मृत्युदर उच्च हुने डा. क्षत्रीको आशंका छ। ‘इटाली, दक्षिण कोरिया, इरानमा जस्तै फैलियो भने हामीसँग पर्याप्त आईसीयू र भेन्टिलेटर छैनन्,’ उनी भन्छन्, ‘जसका कारण भेन्टिलेटरमा राखेमा जीवित हुने संक्रमितलाई पनि बचाउन सकिँदैन। मृत्युदर चीन, इटालीलगायत अन्य देशको भन्दा पनि बढी हुने पक्का छ।’

अहिले नै काठमाडौँका सरकारी अस्पताल अस्तव्यस्त छन्। बिरामीहरूको चापाचाप छ। ‘सरकारले अन्तरंग सेवालाई एकदमै विस्तार गर्नुपर्ने हो,’ क्षत्री भन्छन्, ‘तर, अहिलेसम्म सरकारले त्यसतर्फ  ध्यान दिएको पटक्कै पाइँदैन।’

सरकारले गर्न खोज्ने हो भने अहिले पनि धेरै कुरा गर्न सकिने डा. क्षत्री बताउँछन्। अन्य देशले के गरिरहेका छन्, त्यसबाट पनि पाठ सिक्न सकिने उनको भनाइ छ। ‘चीनले गरेजति गर्न नसकिएला,’ उनी भन्छन्, ‘तर, भेन्टिलेटर थपेर हुन्छ कि, आईसीयू बढाएर हुन्छ कि, सक्दो सेवालाई विस्तार गर्नुपर्छ।’ काठमाडौँ, महाराजगञ्जस्थित शिक्षण अस्पतालका प्रयोगमा नआएका भवनलाई अस्थायी आईसीयूमा परिवर्तन गरेर पनि सेवा दिन सकिने डा. क्षत्री बताउँछन्। ‘टिचिङ हस्पिटलको सुरेश वाग्ले भवन सेन्टर बनिसकेको छसात वर्षसम्म पनि प्रयोगमा आएको छैन,’ उनी भन्छन्, ‘सरकारले चाहने हो भने भेन्टिलेटर किनेर त्यसलाई अहिले अस्थायी आईसीयू बनाउन सकिन्छ।’

आत्तिहाल्नुपर्ने अवस्था छैन

नेपालभन्दा पहिले अन्य देशमा कोरोना भाइरस देखिनु नेपालका लागि राहतको कुरा भएको टेकु हस्पिटलका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन्। ‘नेपालमा कोरोना भाइरस सुरुमै देखिएन, त्यो हाम्रा लागि फाइदाजनक कुरा हो,’ उनी भन्छन्, ‘जसले गर्दा हामीलाई पूर्वतयारी गर्ने समय मिलेको छ।’ अन्य देशका अनुभवलाई सूक्ष्म रूपमा अध्ययन गरेर विज्ञहरूको सल्लाहमा पूर्वतयारी गर्नुपर्ने उनी बताउँछन्।

अहिलेसम्मको तथ्यांकमा नेपाली समुदायमा कोरोना नभएको डा. पुन बताउँछन्। ‘कोरोना फैलिएमा पाँच प्रतिशत बिरामीलाई यसले आईसीयूमै पुर्‍याउँछ,’ उनी भन्छन्, ‘अहिलेसम्म त्यस्तो समस्या कतै नदेखिएकाले कोरोना आएको छ, तर पत्ता नलागेको हो भन्नु गलत हो।’ कोरोना भाइरसका कारण मृत्यु हुनेमा ७० वर्ष उमेर कटेका धेरै छन्। त्यसैले पनि यसबाट आत्तिहाल्ने स्थिति नभएको डा. पुन बताउँछन्। ‘माइल्ड फेजमा भएको कारोनाले खासै असर गर्दैन,’ उनी भन्छन्, ‘नेपालमा अहिले देखिने मौसमी रुघाखोकी हो। त्यसैले रुघा लागिहाल्यो भने पनि कोरोना नै हो भनेर डराउनुपर्दैन, तर सावधानी भने अपनाउनुपर्छ।’

कोरोना भाइरस विदेशमा बसेका व्यक्तिले ल्याउने भएकाले विदेशबाट आउने व्यक्ति १४ दिनसम्म घरपरिवार र समुदायबाट टाढा रहे यसको खतरा न्यून हुने उनको सुझाव छ। ‘सरकारले नाकाहरूमा परीक्षण गरिरहेको छ,’ उनी भन्छन्, ‘नेपाल प्रवेश गरेकालाई पनि निरीक्षणमा राखिन्छ। त्यसैले आत्तिहाल्नुपर्दैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.