कोरोना त्रास : संक्रमण रोक्न ‘लक डाउन’मा नेपाल

कोरोना त्रास : संक्रमण रोक्न ‘लक डाउन’मा नेपाल

काठमाडौं : विश्वभर फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न सरकारले ‘मिनी लक डाउन’ गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गर्दै ‘लक डाउन’ गरेका हुन्। 

‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने। 

प्रधानमन्त्रीले सम्बोधनमा टेलिफोन, यातायात, प्रेस, सञ्चार, खानेपानी, पर्यटन, इन्धन, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स, औषधि विक्री वितरण, फोहोरमैला व्यवस्थापन, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुलगायत राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि नगर्न आह्वान गरेका हुन्। 

सुरक्षित रहन आह्वान 
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोक्न सर्वसधारणलाई विशेष आह्वान गरेका छन्। सम्बोधनको सुरुमै आफ्नो स्वास्थ्य नभएर जनस्वास्थ्यको बारेमा विमर्श गर्न उपस्थित भएको बताएका ओलीले नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै सबैलाई सुरक्षित रहन आह्वान गरेका हुन्। 

‘विश्वका अधिकांश मुलुक कोरोना महामारीको संक्रमणबाट आक्रान्त छन्। सुखद पक्ष, अहिलेसम्म यस संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन’, ओलीले भने, ‘तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा छैनौं। देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले सुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ।’ 

सम्बोधनका क्रममा आम सर्वसाधारणलाई प्रधानमन्त्रीले सेल्फ क्वारेन्टाइन अर्थात् सकेसम्म घरमै बस्ने, भीडभाडबाट टाढै रहने, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्ने, चिकित्सकको सल्लाह पालना गर्न, सावधान हुन, आतंकित नहुन, धैर्यवान हुन, संयमता अपनाउन, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुन आग्रह गरेका छन्। 

दैनिकी परिवर्तन जरुरी 
विश्व कोरोना संक्रमणबाट आक्रान्त भएको अवस्थामा केही समयका लागि व्यवहार परिवर्तन गर्नु आवश्यक भएको प्रधानमन्त्रीको भनाइ छ। ‘महामारीसँग जुध्न सजिलो छैन। हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ’, प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, ‘यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ। तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन।’ 

प्रधानमन्त्रीले सरसफाईमा उचित ध्यान दिन, साबुन पानीले पटकपटक हात धुन र स्यानिटाइजर प्रयोग गर्न, भीडभाडबाट टाढै बस्न, हल्लाबाट प्रभावित नहुन, धैर्य हुन र आतंकित नहुन आह्वान गरेका छन्। 

संक्रमित मुलुकबाट नेपाल आएका सबैलाई प्रधानमन्त्रीले कम्तिमा १४ दिन घरमै क्वारेन्टाइनमा बस्नसमेत आह्वान गरे। यसले आफू, आफ्नो परिवार र समुदायलाई संक्रमणबाट जोगाउने प्रधानमन्त्रीको भनाइ छ। उनले अप्ठेरो परिस्थितिमा सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरेका छन्। 

चिकित्सक नर्स र सुरक्षाकर्मीलाई प्रोत्साहन
प्रधानमन्त्री ओलीले संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने प्रतिवद्धता जनाएका छन्। स्वास्थ्य र सुरक्षा क्षेत्रमा काम गर्ने चिकित्सक, नर्स र सुरक्षाकर्मीलाई प्रोत्साहन गर्ने घोषणासमेत ओलीले गरेका हुन्। 

‘देशभरका अस्पतालबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायलगायतका जनशक्तिलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ।’ 

घरबाटै काम गर्न आग्रह 
प्रधानमन्त्री ओलीले सम्भव भएसम्म निजी क्षेत्रका कर्मचारीलाई घरबाटै काम गर्न प्रोत्साहित गर्ने बताएका छन्। यद्यपि सरकारी र निजी क्षेत्रका पनि अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयमै उपस्थित भएर काम गर्न सक्ने छन्। 

‘विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवा सम्बन्धित कर्मचारी र सेवाप्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ’, ओलीले भने, ‘सबै सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भएर नियमित कामकाज गर्नुहुनेछ।’ 
लामो दूरीका सवारीमा रोक लगाए पनि सरकारले निजी क्षेत्रका आवश्यक सवारी साधनमा भने रोक लगाएको छैन। संक्रमणको फाइदा उठाउँदै कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गरेको पाइए कडा कारबाही गर्ने प्रधानमन्त्रीले प्रष्ट पारेका छन्। 

प्रभावित पाँच क्षेत्र 
प्रधानमन्त्रीको सम्बोधनपछि अन्तर्राष्ट्रिय उडान र लामो दूरीका सवारी साधन र यात्रु प्रभावित हुने भएका छन्। ओलीले जनताकै स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो बाध्यकारी अवस्था ल्याउनुपरेको प्रष्ट पारेका छन्। 

-नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित,
-सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था र यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय, 
-देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द, –आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक, 
-मानिसको भिडभाड हुने स्थान सिनेमा घर हाललाई बन्द, 
-विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित, 
-महामारीको अवस्थालाई हेरेर थप कदम चाल्न सकिने छ।

‘कूटनीतिक नियोगमा सम्पर्क गर्नू’

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गरेको सम्बोधनमा मुलुक बाहिर रहेका नेपालीको पनि चिन्ता व्यक्त गरेका छन्। उनले यस घडीमा नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै कूटनीतिक नियोगमा सम्पर्क राख्न आग्रह गरेका हुन्। 

‘मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाइ रहँदै आउनु भएको छ। कोरोना भाइरसको महामारीका कारण तपाईलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्छु। आवस्यक पर्दा बसेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु।’ प्रधानमन्त्रीले कूटनीतिक नियोगले समस्या हल गर्न सहयोग गर्ने प्रष्ट पारेका छन्। 

सार्क कोषलाई नेपालको १० करोड 
कोरोना संक्रमण नियन्त्रणका लागि खर्च गर्ने सार्क क्षेत्रको कोषमा नेपालले १० करोड दिने भएको छ। सार्क राष्ट्र प्रमुखको कन्फरेन्समा गरेको प्रतिवद्धता अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनमा यो रकम घोषणा गरेका हुन्। 

‘दक्षिण एशियाली राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ। कोरोना भाइरस महामारीविरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नु भएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ’, प्रधानमन्त्री ओलीले भने, ‘सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपैयाँ योगदान गर्ने समेत जानकारी गराउँदछु।’ 

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको त्रासलाई २०७२ सालको विनासकारी भुकम्प र त्यसपछि सिर्जित प्रतिकुलतासँग तुलना गरेका छन्। उनले त्यसलाई दृढताका साथ सामना गरेको सम्झना गर्दै अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढतासहित सबै नागरिकले सरकारले अघि सारेको कदममा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.