सीमामा नाममात्रका हेल्थ डेस्क
कपिलवस्तु : कपिलवस्तुका सीमा क्षेत्रमा राखिएका हेल्थ डेस्कमा उपकरणबिनै स्वास्थ्यकर्मी खटिँदा परीक्षण प्रभावकारी छैन भने स्वास्थ्यकर्मी पनि संक्रमणको अत्यधिक जोखिममा छन्। कृष्णनगर, मर्यादपुर र चाकरचौडा सीमानाकामा हेल्थ डेस्क राखिएको छ। यी डेस्कमा ज्वरो जाँच्ने थर्मल गन, ग्लोब्स, मास्क, सेनेटाइजरलगायत कुनै पनि सामग्री छैनन्।
तौलिहवास्थित महेन्द्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा कोरोनाको लक्षण देखिएका २ शंकास्पदलाई १४ दिनका लागि राखिएको कपिलवस्तु अस्पतालका प्रमुख डा. किशोर बन्जाडेले बताए। कोरोना संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा कपिलवस्तु अस्पतालमा ४ बेडसहितको आइसोलेसन कक्ष तयार पारिएको छ। आइतबारदेखि भारतीय सवारीसाधनलाई नजिकको बजारसम्म जान दिने सुविधा अर्को आदेश नहुन्जेल रोक लगाइएको प्रमुख भन्सार अधिकृत तीर्थराज पासवानले बताए।
परीक्षणका आवश्यक स्वास्थ्य सामग्री नहुँदा आफूहरू नै उच्च जोखिममा परेको चाकरचौडाको हेल्थ डेस्कमा खटिएका मायादेवी गाउँपालिका, बलुहवा स्वास्थ्य चौकीका अहेब सागर थारुले बताए। कोरोनाको सबैभन्दा बढी जोखिम हेल्थ डेस्कमा खटिएका कर्मचारीमा रहेको मायादेवी गाउँपालिकाकी सिनियर अहेब माला झाले बताइन्। ‘आवश्यक स्वास्थ्य सामग्री नदिने अनि हेल्थ डेस्कको नाममा कर्मचारीलाई जोखिममा राखिएको छ,’ उनले भनिन्, ‘कोरोना भाइरस सर्छ कि भन्ने त्रासमा रहेर स्वास्थ्यकर्मीले कसरी काम गर्न सक्छन् ? ’
दिनहुँ भारतका विभिन्न सहरबाट आउने सर्वसाधारणको सघन स्वास्थ्य परीक्षण हुन सकेको छैन। सीमामा राखिएका डेस्क साँझ ६ बजेपछि बन्द हुन्छन्। त्यसपछि भित्रने सर्वसाधारणको कुनै जाँच हुँदैन। यसबाट कोरोना संक्रमण फैलन सक्ने त्रास जिल्लावासीमा छ।
प्रतिक्रिया दिनुहोस !