सहकारीले लिन छाड्यो दूध
दमौली : बजार बन्द भएका कारण खपत नभएपछि तनहुँका दूध उत्पादक किसानको छाता संस्था तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानको दूध संकलन गर्न छाडेको छ।
दैनिक झण्डै ५ हजार लिटर खपत हुने गरेकामा दुई सय लिटरभन्दा खपत नभएपछि संघले किसानबाट दूध लिन छाडिएको हो। संघका व्यवस्थापक राजु भुजेलले मौज्दात दूध प्रसस्त भएकाले किसानसँग खरिद नगरिएको जानकारी दिए। ‘हिजो अस्तिकै दूध भण्डारमा छ’, उनले भने, ‘थप राख्ने ठाउँ पनि छैन।’
संघले दैनिक दुई हजार लिटर दूध र परिकार तनहुँसहित आसपासका जिल्लामा बिक्री गर्ने गरेको थियो। पोखराको सुजल डेरीले भने दैनिक तीन हजार लिटर दूध खरिद गर्ने गरेको थियो। ‘हामीसँगको दूध लिने सम्झौता सुजलले गरेको हो’, संघका अध्यक्ष यज्ञप्रसाद शर्माले भने,‘उसले गाडी नै नपठाएपछि थप दूध खरिद गर्न सकिएन।’ उनका अनुसार सुजलले कर्मचारी कम भएकाले प्लान्ट चलाउन नसकिएको बताएको छ।
सुजलले संघको दूध प्याकेट र धुलो दूध बनाएर पनि बेच्दै आएको छ। दैनिक आउने ट्यांकरले संघको दूध लगे पनि सोमबार आधा र मंगलबार लिन नै नआएकाले दूध स्टक रहेको शर्माले बताए। संघको दमौलीस्थित बिक्री केन्द्र तथा व्यास १० डिहिगाउँस्थित कारखानामा क्षमता अनुसारको मौज्दात पूरै रहेको उनको भनाइ छ।
उनले सुजलले गाडी पठाउने भने पनि एक दिनका लागि मात्र हो कि के प्रष्ट नभएकाले दूध कहिलेसम्म नलिने भन्ने अन्योल पैदा भएको बताए। ‘सुजलले नकिन्दासम्म किसानको दूध खरिद गर्न सकिने अवस्था छैन’, शर्माले भने,‘उताको जवाफ कुरेका छौं।’
प्रतिक्रिया दिनुहोस !