कोरोना धपाउन कुखुरा काटेर प्राकृतिक पूजा !
गोरखा : कोरोनाको सम्भावित जोखिमबाट बच्न गोरखाको एक दुर्गम गाउँका बासिन्दाले गाउँमा कुखुरा पूजा गरेर कुखुरा चढाएका छन् ।
धार्चे गाउँपालिका ३ उहियागाउँका बासिन्दाले गाउँ प्रवेश गर्ने चारैदिशामा शनिबार दिनभर लगाएर पूजा गरेको वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।
‘उहिया गाउँमा आउने सबै बाटोमा कुखुरा काटेर पूजा गरिएको छ’, गुरुङले भने, ‘तातोपानीबाट आउने बाटो, खोर्लाबाट आउने बाटो, दोभानबाट आउने बाटो र जगत, दुङ्ला हुदै आउने बाटोमा पूजा गरियो ।’ धामीझाँक्रीले भाले काटेर, धुप बालेर करिब चार घण्टासम्म प्रकृति पूजा गरेको उनले बताए ।
पूजामा गाउँका प्रत्येक घरधुरीबाट अक्षता, भेटी र पूजा खर्च उठाइएको थियो । पूजाको दिन शनिबार दिनभर बारीको काम बन्द(बारना) गरिएको पनि वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
प्राकृतिक देवता खुशी भएभने गाउँमा अनिष्ट नभित्रिने जनविश्वास छ । यसअघि गाउँमा बिभिन्न खालका महामारी आउँदा पनि यसखालको पूजा गरिने गरिएको अध्यक्ष गुरुङको भनाइ छ । भूकम्पका बेला पनि गाउँलेको सुरक्षाका लागि यसखाले पूजा गरिउको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !