कोरोना नियन्त्रण : विदेशबाट आएका ४ सय ६६ जनाले क्वारेन्टाइनमा बस्नै मानेनन्
दमौली : लकडाउनअघि तथा पछिसम्म पनि विभिन्न मुलुकबाट गृह जिल्ला आउनेको संख्या रोकिएको छैन।हालसम्म कोरोनाको प्रकोप यता संक्रमित देशबाट आउनेको संख्या बढे पनि उनीहरु कोही पनि सरकारी व्यवस्थापनमा राखिएको क्वारेन्टाइनमा बस्न मानेका छैनन् । कोरोना प्रभावित खाडीदेखि छिमेकको भारत, बंगलादेश र केही युरोपेली मुलुकबाट समेत गरी यस बीचमा घर फर्किनेको संख्या बढेर ४ सय ६६ पुगेको छ । तर उनीहरु कोही पनि सरकारी अस्पताल तथा स्थानीय तहले व्यवस्थापन गरेको भनिएको क्वारेन्टाइनमा छैनन् ।
बंगलादेशबाट आएकी एक चिकित्सा विद्यार्थी दमौलीस्थित आफ्नो घर पनि नबसेर आफ्नै लगानीको कलेज भवनमा बस्दा केही स्थानीयले सुरुमा विरोध पनि गरे । तर पछि आफै सतर्कताका लागि अलग्गै बसेको बुझेपछि विरोध कम भयो । उनी अहिले पनि सोही कलेज भवनमा छन् ।
उनीबाहेक अरु जति पनि विदेशबाट आएका छन्, सबै घरमा नै छन् । अझ कतिपय त गाउँमा हिंडिरहेको र सरकारी टोलीबाट लुकेको सार्वजनिक भएको छ । ऋषिङ १ झापुटारमा खाडी राष्ट्र कतारबाट आएका एक युवक प्रहरी खोज्न गएको थाहा पाए पछि आफन्तले नै लुकाएका कारण भेटिएनन् । सामान्य अवस्थाकै भए पनि घर परिवारले तथ्यांक दिने काममा नै असहयोग गरे पछि प्रहरी टोली रित्तै फर्कियो ।
कतिपय अवस्थामा परिवारको असहयोग र कतै स्थानीय तहको उदासिनताका कारण पनि जोखिमयुक्त क्षेत्रबाट आएका कोही पनि क्वारेन्टाइनमा छैनन् । यसले स्थानीयमा भने त्रास बढाएको छ । बन्दीपुर गाउँपालिकामा शुक्रबारसम्म पनि छिमेकी मूलुकबाट घर फर्कने आएको गाउँपालिकाको तथ्यांक छ ।
आएका मध्ये केही बिरामी पनि परे । तर पनि उनीहरुलाई क्वारेन्टाइनमा राख्ने झण्झट कसैले गरेन । जिल्लाबाट सरकारी टोली पनि ती बिरामीको जानकारी लिन पुग्यो । तर सामान्य झाडापखाला भएको भन्दै घरमै उपचारको जानकारी लिएर टोली फर्कियो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले सामान्य स्वास्थ्य समस्या रहेको पाइएको बताए। गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले घरमै उपचार भएको र होम क्वारेन्टाइनमा बिरामी राखिएको बताए । 'सामान्य बिरामीको घरमै उपचार भैरहेको छ,' उनले भने ।
जिल्लाभर सरकारी तथा गैर सरकारी क्षेत्रबाट गरी हालसम्म क्वारेन्टाइनका लागि भनि ८८ स्थान छुट्याइएको कोरोनासम्बन्धी मामिला हेर्ने जिल्ला स्वास्थ्य कार्यालयका अधिकारी शंकरबाबु अधिकारीले बताए । किन कोही पनि क्वारेन्टाइनमा नबसेको भन्ने प्रश्नमा उनले भने, 'खास स्वास्थ्य समस्या नदेखिएकाले स्थानीय तहले होम क्वारेन्टाइनमा राखेका हुन् ।'
भीमाद नगरपालिकामा मात्र एक सय बढी यस्तो क्वारेन्टाइनमा छन् । यसले अवस्था सामान्य नै देखिए पनि स्थानीयमा त्रास छ । पदम थापाले भने, 'होम क्वारेन्टाइनमा भएकाहरु गाउँ र छिमकेमा हिंडिदिँदा त्यसले जोखिम बढाएको छ ।' प्रमुख जिल्ला अधिकारीले भने जिल्लामा आवश्यक सतर्कता नै रहेको दाबी गरे ।
गाउँ प्रवेशमा निषेध
सरकारी व्यवस्थापनमा विश्वास नभएकैले जिल्लाभर नै टोल तथा गाउँमा नचिनेकालाई प्रवेशमा रोक लगाउन थालिएको छ । व्यास नगरपालिकाको वीरता टोलदेखि ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका लगायत विभिन्न तहका युवाले आफ्नो क्षेत्रमा आउने अपरिचितलाई प्रवेशमा रोक लगाएका छन् ।
होम क्वारेन्टाइनमा रहेका नै घुमफिर गर्ने त्रासमा पनि उनीहरुले गाउँमा प्रवेशमा रोक लगाएको देखिन्छ । व्यास ४ की वडा सदस्य बसुन्धरा घर्तीले भनिन्, 'बाहिरका मानिस आउँदा त्रास देखिएकैले युवाले बाटामै बार लगाएर निगरानी गरेका हुन् ।'
प्रतिक्रिया दिनुहोस !