वनको राहत : एक परिवारलाई दुई साबुन !
गोरखा : सरकारले गरेको लकडाउनमा पनि विभिन्न संस्थाले साबुन र माक्स वितरण गरेका छन्। कोभिड-१९ कोरोना भाइरसबाट जोगाउन भन्दै गोरखामा वडा कार्यालय तथा विभिन्न सामाजिक संघसंस्थाले साबुन तथा माक्स वितरण गर्न थालेका छन्। सिरानचोक गाउँपालिका-१ केराबारीमा र अजीरकोट गाउँपालिका-१ घ्याच्चोकमा मा वडा कार्यालयले र भीमसेन थापा गाउँपालिका-७ मा चार वटा सामुदायिक वन उपभोक्ता समूहले साबुन तथा माक्स वितरण गरेका हुन्।
सिरानचोक-१ मा गठित वडाअध्यक्ष सुकमान गुरुङ संयोजकत्वको विपद व्यवस्थापन समन्वय समितिले स्थानीय पाँच सय ६४ घुरधुरीमा दुई दुई वटाका दरले साबुन वितरण गरेको नेकपाका वडा संयोजक उत्तम गुरुङले जानकारी दिए। सबैलाई गरेर दुई हजार चार सय थान माक्स र एक हजार ९२ थान साबुन वितरण गरिएको उनले बताए।
त्यस्तै अजीरकोट-१ घ्याच्चोकका नौ वटा टोलमा गरी करिब पाँच सय घरधुरीमा पनि वडा कार्यालयले साबुन वितरण गरेको छ। वडास्तरको विपद व्यवस्थापन समन्वय समितिले निर्णय गरेर साबुन वितरण गरिएको वडा अध्यक्षसमेत रहेको समन्वय समितिका संयोजक मनु गुरुङले जानकारी दिए।
त्यस्तै भीमसेन थापा गाउँपालिका-७ का चार वटा सामुदायिक वनले वडाभित्रका सबै घरधुरीलाई चारचार वटाका दरले साबुन र परिवार संख्या सबैलाई पुग्ने गरी माक्स वितरण गरिएको छ। भूमेश्वर सामुदायिक वन, गण्डकी सामुदायिक वन, रानीबेल सामुदायिक वन र राम्चे देउराली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कोषको बजेटबाट साबुन र माक्स खरिद गरी स्थानीय सातसय घरधुरीमा वितरण गरेको शिक्षक सञ्जय ढकालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !