विदेशबाट फर्किएका आफन्तबाट पहिलाे पटक परिवारमा संक्रमण : ९ जनामा कोरोना पुष्टि
काठमडौं : धनगढीमा एक स्थानीय महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परिक्षणमा नेपालमा पहिलो पटक स्थानीय महिलामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना पुष्टि भएकी ति महिलाको कुनै पनि ‘ट्रभल हिस्ट्री’ नभएको जानकारी दिए।
शनिबार मात्रै सुदूरपश्चिम प्रदेशमा स्थानीय एक महिलासहित तीन जनामा कोरोना पुष्टि भएको हो। योसहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार पुगेको छ।
शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएकी महिला चौथो कोरोना संक्रमित पुरुषको नातामा भाउजू पर्ने पारिवारिक स्रोतले बताएको छ। यो पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।
धनगढीका संक्रमित ३४ वर्षीय पुरुष दुबईबाट भारतहुँदै नेपाल आएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित युवतीकी ५ वर्षीया छोरीलाई पनि सन्चो नभएकाले शनिबार नै अस्पताल लाने तयारी परिवारले गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र भारतकै उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा पनि शनिबार कोरोना पुष्टि भएको हो।
शनिबार पुष्टि भएका तीन जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। जसमध्ये एकजना डिस्चार्ज भइसकेका छन्। अन्य आठ मध्ये चार जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ। दुई जनाको बागलुङ र दुईजनाको टेकुमा उपचार भइराखेको छ।
आइसोलेसनमा ६९ बिरामी
अहिलेसम्म नेपालभर गरेर ६९ जना बिरामी आइसोलेसनमा छन्। नेपालमा अहिलेसम्म १४ सय ४१ को कोरोना टेष्ट भएको छ। उपत्यकासहित देशका विभिन्न ६ ठाउँमा कोरोना परीक्षण सुरु भएको छ।
प्रवक्ता देवकोटाका अनुसार जनकपुर, धरान, हेटौंडा र पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु भएको हो। चितवन र बुटवलमा भने आइतबारबाट परीक्षण गर्नेगरी तयारी भइरहेको प्रवक्ता देवकोटाले बताए।
मन्त्रालयको मोबाइल एपमार्फत् सम्पर्कमा आएका मध्ये १६२ जनालाई रेड जोडनमा राखेर सम्पर्क गर्ने प्रयास भइरहेको प्रवक्ता देवकोटाले बताए।
पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले व्यक्तिगत सुरक्षा सामग्रीको दुरुपयोग बढेको भन्दै त्यो नगर्न सबैलाई आग्रह गरेका छन्। उनले १४ दिन क्वारेन्टाइनमा बसेर मात्र नहुने भन्दै थप समय धैर्य गरेर बसिदिनसमेत आग्रह गरेका छन्।
‘१४ दिन मात्र क्वारेन्टाइनमा बसेर हुँदैन’, प्रवक्ता देवकोटाले भने, ‘अझैपनि क्वारेन्टाइनमै बस्नुपर्छ। लक्षण देखिएन राम्रो भयो। पुनः परीक्षणमा लक्षण देखिन सक्छ। क्वारेन्टाइनमै बसिदिनुहोस्।’
‘यो पहिलो केस संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा नेपालभित्रै सरेको पहिलो उदाहरण हो’, प्रवक्ता देवकोटाले भने, ‘संक्रमण फैलिन नदिन विदेशबाट आउने सबैले अनिवार्य क्वारेन्टाइनमा बस्ने र सावधानीका सबै उपाय अवलम्बन गर्नुपर्ने हुन्छ। जसले गर्दा परिवारका सदस्यलाई यो रोग नसरोस्।’