‘कोरोनाबाट जनतालाई जोगाउन सडकमा छौँ हामी’
लकडाउनको बेला ट्राफिक प्रहरीले कसरी काम गरिराखेको छ ?
लकडाउनको समयमा ट्राफिक प्रहरी उपत्यका र उपत्यकाबाहिर धेरै ठाउँमा खटिएको छ। विषेश गरी, चोक, भीडभाड हुन सक्ने ठाउँ, मानिसको आवतजावत बढी हुन सक्ने स्थानमा ट्राफिक प्रहरी तैनाथ छन्। दिउँसो उपत्यकाका १ सय ५२ ठाउँमा खटिएका हुन्छन् भने राति ५७ ठाउँमा खटिएका हुन्छन्। बाहिर पनि सबै ठाउँमा खटाइरहेका छौँ।
ट्राफिक प्रहरी फिल्डमा खटेर काम गर्छन्। यस्तो अवस्थामा कोरोनाबाट संक्रमित हुने जोखिम रहन्छ। यसबाट जोगिन कस्ता सुरक्षाका उपाय अपनाइएको छ ?
नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनबाट जुन सचेतनाका कुरा आइरहेका छन्, ती कुरालाई फलो गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छौँ। मास्क लगाउन, बेला–बेलामा साबुन पानीले हात धुन, स्यानिटाइजर प्रयोग गर्न, ड्युटी गर्दा मान्छेहरूबाट दुई मिटर टाढा रहन भनेका छौँ। भीडभाड भएको ठाउँमा सावधानीपूर्वक जान, ब्यारेक अथवा घरमा बस्दा पनि सचेत रहन आग्रह गरेका छौँ। यसअनुसार काम गरे-नगरेको पनि अनुगमन गरिरहेका छौँ।
लकडाउनमा कस्ता गाडी चल्छन् र कुन–कुनलाई रोक लगाइएको छ ?
अत्यावश्यक सेवासँग सम्बन्धित साधन चल्छन्। जस्तोः औषधि बोक्ने, फोहोरमैला बोक्ने, खानेपानी, दूध, इन्धन, ग्यास, खाद्यान्नलगायत गाडीलाई छुट दिइएको छ। जिल्ला प्रशासन कार्यलयले पास दिएका जरुरी सरकारी काम–कारबाहीसँग सम्बन्धित साधन पनि चलिरहेका छन्। तीबाहेक अन्य गाडीलाई रोक लगाइएको छ। जनताले पनि साथ दिएका छन्। लकडाउनप्रति सबै सकारात्मक रहेको पाएका छौँ।
कारबाही गरिएका समाचार पनि त आइरहेका छन् नि ?
जबर्जस्ती गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिइरहेका छौँ। यो आफैँमा एउटा कारबाही हो। जसले गर्दा पास नभएका गाडी चल्न निकै कम भएको छ।
खासै पसल खुलेका छैनन्। यदि घरमा आवश्यक सामानको खोजीमा गाडी लिएर टाढा जानुपर्यो भने कारबाहीमा परिने डर रहेछ नि ?
घरका लागि चाहिने आवश्यक सामान र खाद्यान्नका लागि बेला–बेलामा पसल खोल्न दिइएको छ। त्यसमाथि नेपाल सरकारले मोबाइल पसल चलाउने भनेको छ। गाडीले उपत्यकाका विभिन्न ठाउँ घुमेर उपभोक्तालाई सामान किन्ने सुविधा दिनेछ। अतिआवश्यक सामग्रीका लागि नेपाल सरकारले सहज वातावरण बनाउने प्रयास गरिरहेको छ।
लकडाउनको समयमा कस्ता चुनौती सामना गर्नुपरेको छ ?
नेपालभरिकै ट्राफिक प्रहरी र अन्य प्रहरीले राम्रोसँग काम गरिरहेका छन्। मानिस घरमा छन्। उनीहरूको सुरक्षाका लागि प्रहरी सडकमा छन्। यसमा हामीलाई दुई वटा चुनौती देखिएका छन्। एक, नागरिकको सुरक्षा गर्नुपरेको छ। अर्को, आफैँ पनि संक्रमणबाट जोगिनुपर्ने चुनौती रहेको छ। भाइरसले ‘यो ट्राफिक हो, यसलाई छुनु हुँदैन’ भन्दैन। आफू पनि जोगिने र अरूलाई पनि बचाउने चुनौती हामीसामु रहेको छ।
ड्युटीमा खटिँटा ‘आफू पनि संक्रमित हुन्छु कि’ भन्ने त्रास ट्राफिक प्रहरीमा छ कि ?
अहिले राष्ट्र नै संकटमा छ। जसरी भूकम्पको बेलामा जीउज्यानको बाजी थापेर काम गर्नुपरेको थियो, अहिले पनि त्यस्तै अवस्था सिर्जना भएको छ। तर, हाम्रो दुःख, त्यागको सबैले प्रशंसा गरेका थिए। जनताबाट स्याबासी पाइएको थियो। यो पनि त्यस्तै खालको चुनौती हो। ‘हामीले खटेर काम गर्नुपर्छ, काम देखाउने समय यही हो’ भन्ने भावना लिएर प्रहरीले काम गरिरहेका छन्। हाम्रो काँधमा ठूलो जिम्मेवारी आएको छ। त्यो जिम्मेवारी राम्रोसँग पूरा गर्दै छौँ। नागरिकलार्ई कोरोना संक्रमणबाट बचाउन हामी सडकमा छौँ। त्यस्तै, उनीहरूलाई घरमा बस्न आग्रह गरिरहेका छौँ। त्रुटिरहित तरिकाले जिम्मेवारी निर्वाह गर्ने प्रयास गरिरहेका छौँ।
प्रस्तुतिः सुमित सुवेदी