सिरानचोक गाउँपालिकाको नयाँ अभ्यास : लकडाउनमा पाहुनालाई फिर्ता

सिरानचोक गाउँपालिकाको नयाँ अभ्यास : लकडाउनमा पाहुनालाई फिर्ता

गोरखा : सिरानचोक गाउँपालिका -७ डाँडागाउँका कृष्णबहादुर नेपालीका नाति सोमबार बिहान लम्जुङको बिचौरबाट पैदल हिँड्दै आइपुगे। गाउँमा नयाँ मान्छे भित्रिएको स्थानीय कोरोना प्रतिकार्य समितिले देख्यो। समितिका सदस्यहरु छिनमै भेला भए। उनीहरुले पाहुनालाई घरभित्र पस्न दिएनन्। बाहिरै ससम्मान खाना खुवाउन लगाए र तत्काल बिचौर फर्काएका वडाअध्यक्ष सुरज ढकालले जानकारी दिए।

सोही वडाको उपल्लो गोहोरेका तोयानाथ ढकालको घरमा आइतबार भीमसेन थापा गाउँपालिका, धावा घर भएका छोरी ज्वाईँ आए। उनीहरुलाई पनि स्थानीय प्रतिकार्य समितिले ‘कि क्वारेण्टाइनमा १४ दिन बस्न कि फर्कन’ प्रस्ताव गर्‍यो। उनीहरु घरभित्रै नपसी फर्किए। त्यस्तै रातामाटेका देउबहादुर बिककी छोरी बारपाक सुलीकोट ४ घुन्चोकबाट माइत आइन्। प्रतिकार्य समितिले ‘कि क्वारेण्टाइनमा बस्न, कि फर्कन’ आग्रह गरेपछि उनी पनि फर्किएको वडाअध्यक्ष ढकालले जानकारी दिए।

कोरोना संक्रमणको संत्रासका कारण देशभर लकडाउनको घोषणा हुनासाथ सिरानचोक गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको १४२ वटा टोलमा प्रतिकार्य समिति बनायो। सो समितिले आफ्ना गाउँकालाई पनि बाहिर जान नदिएको र अन्यत्रबाट गाउँ भित्रिन नदिएको गाउँपालिकाका प्रमुख राजु गुरुङले जानकारी दिए।

‘एकसय ४२ वटा प्रतिकार्य समिति बनाइयो। अभिमुखीकरण गरियो’, गुरुङ भन्छन्, ‘अहिले ती समिति यति चलाख छन् कि, गाउँपालिकाको सीमा क्षेत्रभित्र कोही पस्यो भने को हो, कहाँबाट आएको, कहाँ जाने सबै सोधखोज गरेर स्थानीयबासीले प्रतिकार्य समिति, समितिले वडा, वडाले गाउँपालिकामा खबर गर्छन्। अनि कि क्वारेण्टाइनमा राख्छन्, कि फर्काउँछन्।’

सिरानचोक गाउँपालिका ७ पाण्डेगाउँ।

चोरकाटे, खहरे, अर्कुल, फिनामटार, धारापानी, हर्मी, लम्जुङ लगायतका सबै नाका ठप्प पारिएको उनले बताए। ‘गाउँपालिकाका प्रमुख अहिले किरिया बिदा सकेर फर्कने तयारी गर्दैहुनुहुन्छ। तर यहाँ खटिरहनु भएका कर्मचारी र स्थानीयबासीहरु उहाँलाई अझै एकहप्ता बिदा दिने वा आउनु भयो भने पनि क्वारेण्टाइनमा राख्नुपर्छ भन्ने दबाब आइरहेको छ’, अध्यक्ष गुरुङले भने, ‘मलाई पनि गाउँपालिकाको गाडी नचढ्नू भनेका छन्। मोटरसाइकलमा कुदिरहेको छु।’

गाउँको रेखदेख गर्न प्रहरीलाई मोबाइल, हातेमाइक र मोटरसाइकलको तेल खर्च र एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा पोशाक(पिपिई)  पनि प्रदान गरेको उनले बताए।

सिरानचोक गाउँपालिकामा लकडाउनका आसपासका दिनमा १५ जना विदेशबाट आएका छन्। उनीहरुमध्य अधिकांशले १४ दिन होम क्वारेण्टाइनमा बिताइसकेका छन्। ‘उनीहरुलाई अझै तीनसातासम्म होमक्वारेण्टाइनमा राख्ने निर्णय भएको छ’, अध्यक्ष गुरुङले भने, ‘उनीहरुको दिनहूँजसो रेखदेख भइरहेको हुन्छ।’ सबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.