शहीद लखनका पाहुनालाई क्वारेन्टाइनको बास
गोरखा : शहीद लखन गाउँपालिकामा काम विशेषले जाँदै हुनुहुन्छ ? यदि हो भने तपाईँको बास घरमा होइन, सामूहिक क्वारेन्टाइनमा हुनेछ। मंगलबार सम्पन्न गाउँपालिका स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण विशेष समितिको बैठकले पाहुनालाई सामूहिक क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो।
‘चैत २५ गतेपछि शहीद लखन गाउँपालिकाभित्र स्वदेश वा विदेशबाट आएका नयाँ व्यक्तिलाई कम्तिमा १४ दिन सामूहिक क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले भने, ‘यदि कोही आफ्नै गाउँपालिकाका एउटा वडाबाट अर्को वडामा पाहुना स्वरुप गएका छन् भने पनि घरमा बस्न पाउँदैनन्। सामूहिक क्वारेन्टाइनमा नै बस्नुपर्ने हुन्छ।’
कसको घरमा को पाहुना आएका छन् भन्नेबारे स्थानीय स्तरको टोल विकास संस्थाले वडालाई, वडाले गाउँकार्यपालिकालाई खबर गरेपछि उनीहरुलाई सामूहिक क्वारेन्टाइनमा राखिने गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिए। ‘हामीले लकडाउनका बेला कमभन्दा कम आवतजावत होस् भनेर यस्तो निर्णय गरेका हौं’, उनले भने, ‘कोरोनाको संक्रमण फैलन नदिन सामाजिक दूरी नै अचुक उपाय भएकाले हामीले यस्तो निर्णय गरेका हौं।’
साथै शहीद लखन गाउँपालिकाको मंगलबारको बैठकले कसैले पिपिई, थर्मोगन, खाद्यान्न तथा नगद राहत दिन चाहेमा एकर नीति अवलम्बन गर्नुपर्ने निर्णय गरेको छ। राहत वितरणलाई व्यवस्थित गर्न एकद्वार नीति अपनाई गाउँपालिकामार्फत मात्र बाँड्ने निर्णय गरिएको अध्यक्ष थापाले बताए।
प्रतिक्रिया दिनुहोस !