अर्को संसार सुरु हुनेछ अब
मधुसुदन पाठक ‘सीतेबा’
उन्मत्त मान्छेलाई प्रकृति र प्राकृतिक नियमले बेला–बेला सम्झाइदिएको छ। अब लोभ, मोह, ईष्र्या, घृणा र नकारात्मक दृष्टिकोणका कुरा हटाएर माया, सद्भाव, त्याग, समर्पण र सकारात्मक सोचविचारसहितको समाज यही लकडाउनले तय गर्ला।
मानिसको मन स्थिर बस्न सक्ने हो भने सायद यो संसार नै अर्कै हुँदो हो। यही अस्थिर स्वभावकै कारण बेला–बेलामा मन बरालिनु स्वाभाविकै हो। तर, मानिसको मन यसरी पैसा, पद र प्रतिष्ठाको प्रलोभनमा मानवता नै खलबलिने गरी बरालिनु चिन्ताजनक मात्र नभई भयावह पनि हो। हरेक ठूला देश र ठूला शहर हरेक दिन र हरेक साँझ आफूलाई भयंकर र रंगिन बनाउन उद्यत हुन्छन्।
खास अर्थमा बुझ्दा यसरी बरालिनुको खास अर्थ नबुझिरहेका ती ठूला र साना सबै देशका शहर नै आज नतमस्तक छन्। न केही बोल्न सक्छन्, न केही गर्न नै सक्छन्। कुनै कारण वा अकारण पनि हिजो उठेका सबै आवाज आज मौन बस्न बाध्य छन्। खै के रहेछ त आखिर ? प्रकृतिसँग झुक्नै पर्ने रहेछ नि ! सानातिना झिनामसिना कुरा र कारोबारमा नै सम्बन्ध तोड्नु अनि स्वार्थमा द्रवीभूत भएर सम्बन्ध जोड्नुको पनि केही तुक रहेनछ।
दश–बाह्र दिनको यो घरको बसाइले सबैको बरालिएको मनमा एउटा गतिलो सन्देश प्रवाह गरिदिएको छ। सारा विश्व नै नतमस्तक र स्तब्ध बन्दो रहेछ। हुन त कथाले मागेपछि भनौँ वा प्रकृतिले आफ्नो वास्तविकता देखाइदिएपछि मान्छेले आफ्नो हैसियत सम्झेको हुनुपर्छ। सबै मानिसभित्र विश्व नै नेतृत्व गर्ने नेता बन्ने रहर थियो होला, समृद्ध बन्ने रहर थियो होला र अहिले छ पनि होला अझै। तर, मर्नुपर्छ भन्ने पनि बिर्सिसकेको हाम्रो बरालिएको समाजले त्रासैत्रासमा भए पनि यो महसुस भने पक्कै गरेको छ। दैनिक पैसा र शक्तिको होडबाजीको दौडले आफ्नो स्वास्थ्यको समेत ध्यान दिन नसकिरहेका हामीलाई कोरोनाको त्रास र लकडाउनले छर्लंग बनाइदियो कि हामी हिजो बरालिएका रहेछौँ, अब सम्हालिनुपर्छ। शताब्दीमै यति लामो समय घर बस्नु कत्तिका लागि तेस्रो विश्वयुद्धजस्तो लागिरहेको होला।
दशैँ–तिहारजस्ता चाडले अनि कार्यालयको दैनिक काम गर्नेलाई ‘फोर्स लिभ’ ले एक सातासम्मको फुर्सद र अनौठो अनुभूति गराएकै थियो होला। किनकि, अरू सबै काममा व्यस्त भइरहँदा आफू स्वतन्त्र हुनुको अर्कै मजा हुन्छ। तर, आजको त्रासपूर्ण लकडाउनले नजिक हुनै नदिने गरी माया र सद्भावसमेत बढाइदिएको छ। जुन हाम्रा पुर्खाले भोगिसकेका हुन्। सामाजिक सञ्जालले गर्दा छुट्टै अनुभूतिका साथ नजिक टाढाका सम्बन्ध प्रगाढ भएका छन्। ‘मरेर के नै लानु छ र, दुई दिनको जिन्दगीमा’ भन्ने उखान सबैका दिमागमा आउन थालेको छ। जे होस्, उन्मत्त मान्छेलाई प्रकृति र प्राकृतिक नियमले बेला–बेलामा सम्झाइदिएको छ। अब लोभ, मोह, ईष्र्या, घृणा र नकारात्मक दृष्टिकोणका कुरा हटाएर माया, सद्भाव, त्याग, समर्पण र सकारात्मक सोचविचारसहितको समाज यही लकडाउनले तय गर्ला।
विश्वभरिकै समाजले हृदयमा इमानदारी, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी आत्मसात् गर्नेछ। धैर्य गरौँ, सारा बरालिएका मन सम्हालिएर स्रोत र साधनको उचित उपयोग गर्दै उत्पादन र सिर्जनामा सम्पूर्ण श्रमशक्ति लाग्नेछ र सारा जमिन उर्बर हुनेछ।
कोरोनाका लाखौँ बिरामीप्रति मेरो सहानुभूति छ। ज्यान गुमाउने हजारौँप्रति हार्दिक समवेदना छ। पृथ्वीको सर्वश्रेष्ठ प्राणीको यो कहालीलाग्दो र करुण अवस्थाको समाधानका लागि हरसम्भव प्रयत्न त भइरहेकै छ। यो अवस्थाको निकासबारे सरोकारवालाले बुझून् र यसको निराकरण गरून्। यसो गरे मानव जगत् नै आभारी हुने थियो।