महामारीपछिको मनोरञ्जन
खजुरको रूख चमेराको मुख्य बासस्थान हो। चीनमा त्यो रूखको व्यापक फँडानी भइरहेको छ। बासस्थानको अभावमा मुखमा केरा च्यापेर हिँडेको चमेराले त्यो केरा सुँगुरको खोरमा झार्न पुग्छ। एउटा सुँगुरले त्यो केरा खान्छ तर त्यो सुँगुर पनि बेचिएर हङकङको रेस्टुरेन्टमा पुग्छ। काटकुट पारेर पकाउने तयारी हुन्छ। तर, यही क्रममा रेस्टुरेन्टमा एउटा महिला आएपछि सेफ त्यो सुँगुरको मासु चलाएको हात नधोइकन ती महिलासँग हात मिलाउन पुग्छ। व्यापारिक प्रयोजनका लागि हङकङ आएकी ती महिला अमेरिकाको सिकागो हुँदै आफ्नो घर मिनियापोलिस पुग्छिन्। घर आएलगत्तै उनमा सुख्खा खोकी लाग्ने र ज्वरोको लक्षण देखिन्छ। अस्पतालमा पुर्याइन्छ तर रोगको पहिचान नहुँदै उनको मृत्यु हुन्छ। उनको अन्त्येष्टि सकेर घर पुग्दासम्म उनको छोराको पनि मृत्यु भइसकेको हुन्छ। तर, रुघाखोकीले मान्छे मर्ने क्रम यहीं रोकिँदैन। विश्वभरका दुई करोड मानिस रुघाखोकीको यो प्रकोपबाट आक्रान्त हुन्छन्। कैयौंले ज्यान गुमाउँछन्।
अहिलेको अवस्थासँग दुरुस्त मिल्ने यो कथा हो सन् २०११ मा रिलिज भएको फिल्म ‘कन्टाजियन’को। स्टिभन सोडेरबर्गको निर्देशन रहेको यो फिल्म आजका दिनमा सर्वाधिक खोजिने फिल्मको सूचीमा रहेको छ। फिल्मले आजभन्दा नौ वर्षअघि नै चीनबाट उब्जिएको भाइरस विश्वभर फैलने र यसले लाखौँ मानिसको ज्यान लिने भविष्यवाणी गरेको भन्दै फिल्मको प्रशंसा भइरहेको छ। नभन्दै फिल्मले भविष्यवाणी गरेझैं भाइरस चीनबाट मात्र फैलिएन, फिल्ममा देखाएझैं यसको कारण पनि चमेरा नै भएकामा धेरै वैज्ञानिक विश्वस्त छन्। कोरोना भाइरस (कोभिड १९) फैलिएको ठाउँ चीनको वुहान जंगली जनावर र पशुपक्षीको व्यापारका लागि प्रख्यात ठाउँ मानिन्छ।
‘कन्टाजियन’ महामारीको भविष्यवाणी गरेको मात्र आज महत्वपूर्ण भएको छैन यो यस्तो फिल्म थियो जसले संसारको एउटा गाउँको समस्या त्यहीँ गाउँको मात्र नभएर विश्वव्यापी बन्ने संकेत गरेको थियो। अनि हलिउडले आफ्ना कथालाई ग्लाबलाइज गरेको पनि यो सुरुआती चरण थियो।
हलिउडले लामो समय अमेरिकालाई केन्द्रमा राखेर ‘सिटी अन्डर थ्रेट’ को सूत्रमा सयौं फिल्म बनायो। त्यस्ता फिल्ममा भिलेनले अमेरिकाका कुनै सहरलाई अप्ठ्यारोमा पार्थे र गुनी हिरोले सहरलाई भिलेनको कुत्सित मनसायबाट सकुशल उद्धार गर्थे। तर, पछिल्ला वर्ष हलिउडमा रिलिज भएका ‘वल्र्ड वार जेड’, ‘ट्वान्टी एट डेज लेटर’, ‘आई एम लेजेन्ड’, ‘नाइन्टी थ्री डेज’ जस्ता फिल्मले भाइरसको अस्तित्व र यसबाट सिर्जित रोगले विश्व नै छपक्क छोप्ने कथा पेस गरेका थिए।
न पञ्चायत,न गणतन्त्र, न भुइँचालो वा अरु कुनै सामाजिक घटना, कुनै पनि विषय राम्ररी आएको छैन, फिल्ममा। कोरोनाले निम्त्याएका परिणामबारे पनि भोलि राम्रो फिल्म बन्ला भन्ने विश्वास गर्न गाह्रै छ।
झट्ट हेर्दा हुन नसक्ने जस्ता लागे पनि हलिउडले यस्ता कथामा फिल्म बनाउँदै मानव सभ्यताको संकटापन्न अस्तित्वलाई संकेत गरिरहेको थियो। असम्भव लाग्ने संकटबाट मानिसले मात्र विजय पाउनु सक्नु ती फिल्मको निचोड रहन्थ्यो। कोरोनाको महामारी टरेपछि हलिउडका फिल्ममा आउने सबैभन्दा ठूलो परिवर्तन सायद यही नै हुनेछ कि अब यस्तो संकट अमेरिकाको कुनै सहरमा मात्र सीमित हुनेछैन, नेपालको गाउँसम्म पनि आइपुग्नेछ। हलिउडका हिरो मानव जातिको कल्याणका लागि नेपालका गाउँगाउँ चहारेको देख्नु कुनै असम्भव घटना हुनेछैन।
विश्वमा घटेका ठूला घटना सधैं हलिउड फिल्मका लागि मसला बन्ने गरेका छन्। हलिउडले ट्विनटावर आक्रमणपछि अमेरिकामा आएको परिवर्तनलाई समेटेर सयभन्दा बढी फिल्म बनाएको छ भने अफगानिस्तान, इराकसँगको युद्धका बाछिटामाथि फिल्म बनाउने क्रम अझै रोकेको छैन। सुपरहिरोको दबदबा रहेको अहिलेको समयमा उनीहरूले महामारीकारूपमा
टक्करको भिलेन भेटेका छन्। यसको असर केही दिनमै हलिउडले महामारीले उब्जाएको परिस्थिति माथि दर्जनौं फिल्म बनाउनेछ। कोरानाका कारण संसारका फिल्म हल बन्द भएपछि मनोरञ्जनका लागि मानिससँग एउटै विकल्प बाँकी रहेको छ ‘अनलाइन स्ट्रिमिङ’। कि नेटफ्लििक्स जस्तो फिल्मको विशाल संग्रह भएको स्ट्रिमिङ साइट सब्सक्राइब गर्ने कि भिडियो अन डिमान्डको भर पर्ने। कोरोनाका कारण मानिस घरभित्रै कैद भएपछि ‘इन्डी फिल्ममेकर’ मात्र हैन ठूल्ठूला स्टुडियो पनि यसको शरणमा जान बाध्य भएका छन्। युनिभर्सलले यही महिना रिलिज गर्न ठिक्क पारेका फिल्म ‘दि इन्भिजिबल म्यान’, ‘दि हन्ट’, ‘ट्रोल्स वल्र्ड वार’ अनलाइन साइट पिककमा रिलिज गर्ने निर्णय गरेको छ भने डिज्नेले पनि हलमा चल्दै गर्दा कोरोनाका कारण उत्रन बाध्य भएको ‘फ्रोजन २’ उसकै स्ट्रिमिङ साइट डिज्ने प्लसमा उपलब्ध गराउने घोषणा गरेको छ। यति मात्र होइन, आउँदो मेमा रिलिज हुन लागेको साइफाई फेन्टासी फिल्म ‘आर्टेमिज फउल’ हलमा नलगाई डिज्ने प्लसमा रिलिज गर्ने बताएको छ। डिज्ने र युनिभर्सको सिको गर्दै एचबीओले पनि स्टिमिङ साइट सुरु गर्दैछ भने एप्पलको एप्पल टिभी, क्युबी, बीबीसीको डिस्कभरी आदि अनलाइन साइट पनि धमाधम सार्वजनिक हुने क्रममा छन्।
कोराना विश्व भ्रमणमा निस्कनुअघि नै संसारभर अनलाइन स्ट्रिमिङ साइटको लोकप्रियता बढिरहेको थियो। तर, यस्ता स्ट्रिमिङ साइटले हलको व्यापारलाई असर गर्छन् कि गर्दैनन्? अझसम्म पनि बहसको विषय छ। धेरै वर्ष पहिले टेलिभिजनको उत्पादनपछि पनि यस्तै बहस चलेको थियो तर टेलिभिजनको लोकप्रियताले हलमा हुने व्यापारलाई कत्ति पनि असर गरेको थिएन। तर, अहिलेको लक डाउनले संसारभर नै स्ट्रिमिङ साइट सब्सक्राइब गर्ने संख्या अघिल्ला महिनाको तुलनामा १४ प्रतिशतले बढेको तथ्यांक छ। अहिलेको लकडाउनले सारा संसारलाई घाटा लाग्दा पनि कसैलाई फाइदा भएको छ भने ती अनलाइन स्ट्रिमिङ साइट नै हुन्। त्यसैले यो महामारीले समग्र कलालाई उपभोग गर्ने तरिकामा नै व्यापक फेरबदल ल्याउने निश्चित छ।
महामारीले सिर्जना गरेका सामाजिक आर्थिक सम्बन्धलाई कथ्यमा उन्ने मामलामा बलिउडले हलिउड जत्तिको छेकछन्द ल्याएको छैन। तर, एक अर्ब ३० करोड जनसंख्या भएको भारत जुनसुकै माध्यमको मनोरञ्जनका लागि ठूलो बजार हो। अझ खास कुरा त्यहाँ सिनेमा हेर्न दर्शकमा उल्लेख्य वृद्धि भएको छ। गत साल मात्र त्यहाँ १३ वटा फिल्मले सय करोडभन्दा बढीको व्यापार गरेका थिए। यही समयमा त्यहाँ ओटीटी (ओभर दी टप) प्लेटफर्मले पनि राम्रै संख्या दर्शक भेट्न थालेका छन्। तर, यो लकडाउनले ती प्लेटफर्ममा नयाँ दर्शकको ताँती लाग्नेछ। किनकि भारतीय फिल्मका दर्शक भारतका जनता मात्र छैनन्, नेपाल जस्तो एसियाका धेरै देश पनि छन् जसले भारतीय फिल्मलाई गुरु मान्छन्। धेरै देशले भारतीय फिल्मलाई हलमा प्रतिबन्ध लगाएका छन् तर अनलाइनमा हेर्ने कुनै पनि देशको सरकारले रोक्न सक्नेछैन। अहिले भारतमा ४० भन्दा बढी त्यस्ता स्ट्रिमिङ साइट रहेका छन् जसले हिन्दीसँगै प्रान्तीय भाषाका फिल्म हेर्ने सुविधा प्रदान गर्छन्। यसमा नेटफ्लििक्ससँगै अमेजन प्राइम, एलटी बालाजी, सोनी लिभ, हंगामा, हटस्टार आदि लोकप्रिय छन्। अरसद वारसी र बरुण सोबतीको अभिनय रहेको ‘असुर’को लोकप्रियतापछि ‘भुट’ पनि यो लिस्टमा सामेल भएको छ।
नेटफ्लििक्सले तीन वर्षअघिदेखि नै भारतमा आक्रामक लगानीको नीति लिएको थियो। फलस्वरूप विगत दुई वर्षयता नेटफ्लििक्समा हिन्दी भाषाका सिरिज र फिल्मको बाढी नै आएको छ। त्यसैगरी अमेजन प्राइम पनि गतसालदेखि उत्रै ठूलो लगानीसहित भारतमा सक्रिय छ। त्यसैले हलिउडझैं बलिउडमा पनि स्ट्रिमिङ साइटले गति लिने कुरामा शंका छैन। यदि अवस्था सामान्य रह्यो भने पनि बलिउडलाई ट्र्याकमा आउन ६÷७ महिना लाग्ने विश्लेषकहरूनै बताउँछन्। किनकि कोरोनाका कारण रिलिजको संघारमा रहेका थुप्रै फिल्म सरेका छन् भने दर्जनौं फिल्मको सुटिङ रोकिएको छ। यो ग्यापको समयमा दर्शकलाई फिल्मका लागि स्ट्रिमिङ साइटको शरण पर्नुको विकल्प छैन।
हरेक साना-ठूला परिवर्तनले मानिसको सामाजिक सांस्कृतिक जीवनमा उथलपुथल ल्याउँछन्। यो मान्यतामा रहेर नेपाली समाजले हेर्ने हो भने विगत दुई-तीन दशक यहाँ ठूलठूला परिवर्तन भएका छन्। तर, ती परिवर्तन कलामा नगण्य रूपमा प्रतिविम्बित भएका छन्। अझ सिनेमामा त भएका छैनन् भने पनि हुन्छ। न पञ्चायत,न गणतन्त्र, न भुइँचालो वा अरु कुनै राजनीतिक-सामाजिक घटना, कुनै पनि विषय राम्ररी आएको छैन, फिल्ममा। कोरोनाले निम्त्याएका परिणामबारे पनि भोलि राम्रो नेपाली फिल्म बन्ला भन्ने विश्वास गर्न गाह्रै छ।
नेपालमा फिल्म बनाउने संख्या पछिल्लो वर्षको तुलनामा ४० प्रतिशतले कमी आएको छ। फिल्ममा लगानी गरेको पैसा नाफा त के सावाँ नै उठ्न छाडेपछि लगानीकर्ता बिच्कन थालेका थिए। यसको असर यो साल राम्ररी नै देखिएको थियो। अघिल्लो साल ९६ को संख्यामा फिल्म रिलिज भएका थिए भने यो साल ५५वटा फिल्म हलमा आएका थिए। यसमा कोरोनाका कारण रोकिएका पाँच फिल्म थप्ने हो भने पनि यो संख्या ६० हुन आउँछ। यो साल पनि सुटिङमा जाने फिल्मको संख्या खासै धेरै थिएन। जान लागेका फिल्म पनि रोकिएको अवस्था छ। त्यसैले कोरोनाकै कारण अर्को साल रिलिज हुने फिल्मको संख्यामा भारी गिरावट आउने निश्चित छ। यसले धेरै कलाकार र प्राविधिक आउँदो साल पनि घरमै बस्नेछन्।
यसको सम्भावना के कारण पनि छ भने अहिले पनि नेपाली फिल्मका प्रत्यक्ष अप्रत्यक्ष लगानीकर्ता डायस्पोराका नेपाली हुन्। कोरोनाले त्यहाँको अर्थतन्त्रको ढाड भाँच्दा डायस्पोराका नेपालीको पनि खति भएको छ। यस हिसाबले पनि अर्को साल निर्माणमा उल्लेख्य कमी आउने निश्चित छ। तर, निर्माणको कमीले बिना आधार बढेको कलाकार तथा प्राविधिकको भाउ भने सन्तुलनमा आउने आशा गर्न सकिन्छ। पछिल्ला दुई तीन वर्षमा कलाकारदेखि प्राविधिकसम्मले आफ्नो भाउ दोब्बर तेब्बर बढाएका थिए जबकि फिल्मको व्यापार भने ह्रासोन्मुख थियो। यसले निर्मातालाई डिजिटल प्लेटफर्मसँग भने राम्रो पैसा वार्गेन गर्ने अवसर प्रदान गर्न सक्छ।
भनिन्छ, हरेक चुनौतीले अवसर पनि लिएर आउँछ। तर, कोरोनाले थपेको चुनौतीले कस्तो कस्तो अवसर ल्याउँछ त्यो हेर्न भने अवस्था सामान्य भएपछि मात्र आकलन गर्न सकिन्छ।
@samipya1