सक्नेछैनौ सुनले आफ्नो स्वास्थ्य किन्न
थोमस न्यास
(कोरोना, पुँजीवाद र धार्मिक एवम नश्लीय अतिवादको त्रिकोणीय सम्बन्धलाई लिएर भारतीय लेखक अरुन्धती रोयकोएउटा लामो निबन्ध छापिएको छ। ‘महामारी (नयाँ विश्वको) ढोका हो’शीर्षकको उक्त निबन्धको सुरुतिरै उनी भन्छिन्, ‘यो संकटको घडीमा कुनै दैवी चमत्कार होस् भनेर सुटुक्क प्रार्थना नगरिरहेको कुनै वैज्ञानिक वा चिकित्सक होला र ? अनि, मनमनै किन नहोस्, तर यतिखेर विज्ञानप्रति नतमस्तक नभएको कुनै पूजारी होला र?’ संकटको समयमा विज्ञानले दिने समाधान कुर्दै गर्दा मनको भित्री कुनामा कुनै दैवी चमत्कारको कामना गर्न’ सहज र सार्वकालिक मानवीय स्वभावझैं लाग्छ ।
सोह्रौं शताब्दीको अन्त्य र सत्रौं शताब्दीको सुरुवातमा लन्डनमा पटक पटक प्लेगको महामारी फैलियो। एकातिर त्यो रंगमञ्चको पुनरुत्थानको समय थियो भने अर्कोतिर हरेकपटक महामारी फैलिँदा नाटक घरहरू महिनौँसम्म बन्द हुन्थे। ‘रोमियो एन्ड जुलिएट’, ‘ट्वेल्फ्थ नाइट’, ‘किङ लियर’ लगायतका सेक्सपियरका नाटकहरूमा कुनै न कुनै रुपमा यी महामरीका प्रसंग आइरहन्छन्। सेक्सपियरका समकालीन थोमस न्यास (१५६७-१६०१) को नाटक ‘समर्स लास्ट विल एन्ड टेस्टमेन्ट’ (१५९२) मा त्यतिबेलाको महामारीको चित्रण गर्दै भगवान्सँग प्रार्थना गरिएको एउटा प्रसिद्ध गीत छ, जसका केही हरफको भावानुवाद यहाँ प्रस्तुत गरिएको छ। आज चारसय वर्षपछि पनि यी पंक्ति उत्तिकै वा अझ बढी सान्दर्भिक लाग्छन् ।)
महामारीको समयमा याचना
बिदा, अलबिदा, संसारका सारा सुखहरू !
परिवर्तनशील छ जगत्
प्रिय छन्, जीवनका खुसीहरू
तर खेलौना बनाइदिन्छ मृत्युले सबैलाई
सक्दैनन् कोही बच्न उसका तीरहरूबाट
मलाई रोग लाग्यो, मर्दैछु म -
प्रभु, हामीमाथि कृपा राख !
धनीहरू, धनमा विश्वास नगर
सक्नेछैनौ सुनले आफ्नो स्वास्थ्य किन्न
वैद्यहरू नै बिलाउनेछन, अरुको के कुरा
नासिनकै लागि बनेका हुन् सबथोक
फैलिरहेछ डढेलोझैँ महामारी
मलाई रोग लाग्यो, मर्दैछु म-
प्रभु, हामीमाथि कृपा राख !
सुन्दरता केवल एक फूल हो
समयको वेगले निल्नेछ सर्लक्कै सबैथोक
खस्तछ हावाबाट उज्यालो
साम्राज्ञीहरू सुन्दर जवानीमै
मृत्युको मुखमा पुगेका छन्
सर्वसुन्दरी हेलेनका नयनहरू
माटोले पुरिएका छन्
मलाई रोग लाग्यो, मर्दैछु म -
प्रभु, हामीमाथि कृपा राख !
(भावानुवादः प्रकाश सुवेदी)