एउटा उदासीन समयको पोट्रेट

एउटा उदासीन समयको पोट्रेट

हत्याको कुनै दृश्य 

सिनेमाको छायांकन जस्तो हुन जान्छ
क्षतविक्षत शरीर माछाका भुराभुरीझैँ छरपस्टिन्छन्  
सुकेको रगत भुइँमा कालो रङ पोखिएको जस्तै    
रगत लत्पतिएको लुगा बेहुलीको रातो सारी लाग्छ
लास चाहिँ ढालिएको रुखको मुढो दुरुस्तै   
खिन्न बनाउँदैन यस्ता घटनाहरूले  
यीयस्ता समाचारले डर लगाउँदैन अचेल। 

यो नौलो सहरमा आएर लुटिएको मान्छे  
कुनै नाटकको जोकरझैँ देखिन्छ  
धेरै दिनदेखि खानाको स्वाद नभेटेको पेट
खोक्रो र अँध्यारो ओडार बन्छ 
उसको थकित र पीडित शरीर
बारीको डिलको बुख्याँचा जस्तै उभिन्छ
शिरमा मैलो टोपी झुप्रोको चुहिने छानो जस्तो 
छ अनुहारमा फुङ्ग मरुभूमि फैलिएको 
नियास्रा आँखाहरू केही आशमा उघ्रिँदाखेरि
लाग्छ नाटक क्लाइमेक्समा पुगेको।

मानिसको घुइँचोमाझ  
गल्लीमा ल्याम्पपोस्टमुन्तिर त्यो पागलले
अभिशप्त जीवनको परिचय दिइरहन्छ
उसको असहाय नजरले घोच्दैन 
उसको हाउभाउले केही अचम्म पार्दैन 
ऊ सरकारलाई गाली गर्छ कि सुनाउँछ आफ्नो दुःख 
नेताको चरित्र बताउँछ कि देशको बेथिति
म केही बुझ्दिनँ, र ध्यान गर्दिनँ
ऊ एउटा अपरिचित आकृति हो
त्यो भन्दा धेरै केही होइन मेरा लागि। 

साहूको भारी बोकेर
चोकमा आइपुगेको भरियाले मेरो ध्यान तान्दैन 
ऊ भरिया हो कि घाँस चर्दै आइपुगेको गोरु
उसको निधारबाट बगेको पसिना 
हिमाली खोला हो कि गन्हाउने सहरी नाला
त्यो पसिना पुछ्ने रुमाल 
बासी रोटी कि उसको प्रेयसीको माया  
आँखाहरू सडकमाथिका खाल्डा कि 
एउटा बूढो ल्याम्पपोस्टको फ्युज्ड चिम 
उसको च्यातिएको कमिजको दूलोभित्र 
एउटा ब्रह्माण्ड फैलिएको छ दुःख र आँसुको।

आकासेपुलमाथि उभिएकी तरुणी
सेक्सडल झैँ प्रकट हुन्छिन् 
मलाई थाह छैन उसको बुआको दीर्घरोग 
रतन्धोले अन्धकार उसको आमाको संसार  
उसको बेरोजगार दाइलाई पोल्ने अभावको आगो 
भाउज्यूका ती रङहीन सपनाहरू
थाह छैन उसले टक्र्याउने लाचारी कि अस्मिता 
त्यो अनुहारको विवशताले छुँदैन मलाई 
यस्तो लाग्छ कि 
उनी मनोरञ्जनको एउटा साधन।  

काममा तल्लीन त्यो फुच्चे 
फ्याक्ट्रीबाट मिल्काइएको कमसल सामान कि
हाँगाबाट झरी गएको एउटा कलिलो फूल 
कुनै सुक्खाग्रस्त गाउँको कुवा, कि 
देउरालीमा चढाई छोडेको अक्षता र प्रसाद   
ऊ खबरको एउटा पत्रिकाझैँ लाग्छ मलाई
फोहोर उठाउने सुलभ मेसिन, या 
गाडीहरू सफा गर्ने लुगाको टालो जस्तो  
उसको धराप वर्तमान, र
धर्मराइरहेको भविष्यले खल्बलिन्नँ म।

सडकछेउमा नाङ्लो पसले बुढियाले
मेरो ध्यान आकर्षित गर्दैन
उनी सलाई बेच्छिन् कि बन्दुक
चुरोट बेच्छिन् कि मृत्युको जडीबुटी
छुर्पी बेच्छिन् कि रबरको गोली
मेरा लागि केही अर्थ राख्दैन यी सबले
मेरा दिनहरू कुनै कम्प्युटरझैँ सुरु हुन्छन्
मुटुभित्र घडीको टिकटिक चल्छ   
रगतमा स्वार्थका कीटाणु सलबलाउँछन्
अक्सिजन किनेर बाँच्ने युगमा   
पराई दुःखव्यथा र पीडाले छुँदैन मलाई।

यो एउटा उदासीन समय हो
सुकाउनलाई झुन्ड्याइएको गिलो लुगा झैँ   
कुनबेला जीवनको हावाहुरीले 
उडाएर मिल्काउनेछ कतै कुनातिर। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.