कालीगण्डकीमा स्नान गर्नेको घुइँचो
कुश्मा : लकडाउनको बेवास्ता गरी नव वर्ष २०७७ मा कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको भीड बढेको छ। मीन राशिबाट मेष राशिमा सूर्य प्रवेश गरेको दिन वैशाख संक्रान्तिको बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो।
जिल्ला प्रशासन कार्यालय पर्वतले पाँच दिनअघि नै सूचना जारी गरी कालीगण्डकीमा मेला भर्न र स्नान गर्नका लागि नजान अनुरोध गरे पनि यस क्षेत्रका नागरिक भने बिहान ५ बजेदेखि नै नदी किनारमा पुगेका थिए।
तर, सेतीवेणी धाममा भने विगत वर्षजस्तो घुइँचो नभएको भक्तजनले जनाएका छन्। ती स्थानमा ठूलो भीड लाग्ने भन्दै सुरक्षाकर्मी र स्थानीय तहले समेत भक्तजनलाई रोक लगाएका छन्।
त्यसैगरी, जैमिनी घाट, पुर्तीघाट, नयाँ पुल, गोपाङघाट, राजाको बगर, गलेश्वरधाम, मिलनचोक, वारीवेनी, खनियाघाटलगायत स्थानमा स्थानीयको बाक्लो सहभागिता देखिएको छ।
विगत वर्षजस्तो छिमेकी जिल्ला स्याङ्जा, कास्की, तनहुँलगायत जिल्लाबाट आउने भक्तालु भने यस वर्ष लकडाउनका कारण रोकिएका छन्।
वैशाखे संक्रान्ति बिग्रेकाहरूले बिहानै कालीगण्डकी नदी स्नान गर्ने परम्पराअनुसार बिहानैदेखि भीड लागेको हो।
कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि राम्रो हुने विश्वाससाथ कालीगण्डकी नुहाउन आउनेको घुइँचो लाग्ने गर्छ। संक्रान्ति बायाँ खुट्टा, बायाँ हातमा परेकाहरू नदीमै पुग्ने गर्छन् भने गण्डकीमा जान नसक्नेहरू जल ल्याएर घरमै स्नान गर्ने परम्परा छ।
प्रतिक्रिया दिनुहोस !