लकडाउनमा पासबिना हिँडेका प्रहरी युवाको नियन्त्रणमा
गोरखा : अत्यावश्यक भन्दै अनावश्यकरूपमा सवारी साधन चलिरहेपछि निगरानीमा खटिएका गोरखाका युवाले प्रहरी नायव निरीक्षक(सई) लाई नियन्त्रणमा लिएका छन् । श्रीमती भेट्न भन्दै बिहीबार युनिफर्ममै गोरखा पुगेका प्रहरी सई पीके यादव गोरखा नगरपालिका ११ स्थित ड्युटीमा खटिएका युवाहरुको फन्दामा परेका हुन् ।
उनी सवार रहेको बा २१ च १२६१ नंबरको स्कोरपियो पनि युवाहरुले नियन्त्रणमा लिएका ड्युटीमा खटिएका स्थानीय युवा अनील कुँबरले जानकारी दिए ।
‘उहाँ युनिफर्ममै हुनुहुन्थ्यो । हामीले पास खोज्यौं, छैन भन्नुभयो अनि हामीले अगाडि बढ्न दिएनौं’, उनले भने, ‘जिल्लाको एसपीसाबले युनिफर्ममा आएको भए छोडिदिन आग्रह गर्नुभयो तर हामीले छाडेनौं ।’ लकडाउनका बेला अरुलाई नियममा कडाइ गरेपछि प्रहरी पनि नियमभित्रै रहनु पर्ने उनले बताए ।
उनी महानगरीय प्रहरीवृत्त कमलपोखरीमा कार्यरत रहेको कुँबरले बताए ।
सोही टोलीले पोखराबाट गोरखाको आरुघाट जानका लागि छुटेको ट्याक्सी पनि नियन्त्रणमा लिएका छन् । पोखराबाट अनगिन्ति चेकिङ छल्दै आएको ग १ ज ३५५४ नंबरको ट्याक्सी युवाहरुको फन्दामा परेको हो । एकजनाको पासमा चार जना चढेर आएकाले नियन्त्रणमा लिइएको कुँबरले बताए ।
लकडाउनका बेला अनियन्त्रितरूपमा मान्छेहरुको आवतजावत भएको भन्दै बिगत चारदिनदेखि यहाँका युवाहरु सवारी निगरानीमा छन् ।
प्रतिक्रिया दिनुहोस !