छोरी नर्सलाई आमाको चिठी
प्रिय छोरी! मुटुभरिको माया। चिरञ्जीवी आयुको कामना।
विश्व शासन गरेको बेलायतको राजदरबार, महाशक्ति अमेरिका होस् या विश्वको नेतृत्व लिन आतुर चीनलाई नै रुवाएको भाइरसले हामी जस्तो घस्रिँदै गरेकालाई किन छोड्थ्यो र ? यहाँ हामी पनि तीन सातादेखि बन्दी जीवनमा छौं, छोरी। मृत्यसँग डर कसलाई हुँदैन र? सबै घरमा रहेर त होला, काठमाडौं अहिले मानवरहित कंक्रिटको सहरझैँ छ, छोरी।
छोरी, तिमी बसेको मुलुक अस्ट्रेलिया यहाँभन्दा अघिदेखि यो भाइरसबाट आक्रान्त छ। दैनिकी सहज छैन, त्यहाँ। तिमी काम गर्ने सिड्नीस्थित अस्पतालमा पक्कै पनि संक्रमित आए होलान्? तिमी त्यसमाथि पनि उमेरले डाँडा काटेका भनिएकाहरूलाई हेर्ने युनिटमा छौ। तर छोरी, तिमी यस्तो पेसामा छौ, जहाँ तिमीले चाहेर पनि पूर्णकालीन घरमा बस भन्न म सक्दिनँ।
तिमी त्यो व्यक्ति हौ, जसको आडभरोसा त्यो कोरोना भाइरसले समाएका बिरामीलाई मिल्छ। यो तिम्रो कर्तव्य पनि हो। विश्वस्त छु, तिमी यो लडाइँ हिम्मत नहारी लड्नेछ्यौर जित्नेछ्यौ। विदेशी भूमिमा छौ तर पनि त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई अस्पतालमा राम्रो ख्याल गर्नेछ्यौ। सावधानी अपनाएर आफ्नो सेवामा कमीहुन नदेऊ।
नेपालमा पनि तिमी जस्ता कैँयन् डक्टर र नर्स छन्। ती सबैका आमाले छोरी तिमी घरै बस भन्न थाले अवस्था के होला? तिमी ती असक्त बिरामी तथा बूढाबूढीहरूको सेवामा कत्ति नडगमगाई लागिराख। आफन्त/साथीभाइको कुरा र फरक ढाडस सुनेर अलमलिने काम फिटिक्कै नगर। यो विषम परिस्थितिमा पक्कै पनि उनी (संक्रमित) हरूको मन निकै गह्रौँ भएको होला। कैयौं रोगीहरुले आफ्नो रोगलाई जितेर अर्को युग सुरु गर्ने सुन्दर सपना सजाएका होलान्। हो, तिनै रोगी अनि बूढाबूढीको सेवा गर्न कत्तिपनि नडमगाऊ, छोरी। आज उनीहरूलाई तिम्रो खाँचो छ। तिमीलाई देख्नेबित्तिकै उनीहरूले शीतलताको आभास गर्नेछन्। तिम्रा स्पर्शले उनीहरूलाई एन्टिबायोटिकको काम हुनेछ।
तिमी बुद्ध, सीता अनि भृकुटी जन्मिएको मुलुककी छोरी हौ। जहाँविश्वको सबभन्दा अग्लो सगरमाथाको शिर जस्तै उच्च शिर बनाउन कहिल्यै पछि नपर्नू।मृत्यु अनि समस्याबाट डराएर आफ्नो कर्तव्यबाट भाग्दैनन् नेपाली छोराछोरी भनेर प्रमाणित गर्न तिमीलाई ढाडस दिन्छे, यो ममी।
मलाई धेरै त थाहा छैन, तर फ्लोरेन्स नाइटिङ्गेल आधुनिक नर्सिङ आन्दोलनकी जन्मदाता मानिन्छिन्। दया अनि सेवाकी खानी उनै नाइटिङेललाई ‘द लेडी विथ द ल्याम्प’ अर्थात् बत्ती लिएकी केटीका रुपमा चिनिन्छ। क्रिमिया युद्ध (सन् १८५४) मा उनले घाइतेलाई आफ्नो जिउको प्रभाव नगरी महत्वपूर्ण योगदान गरेको पढेकी थिएँ। र भन्छु, हरेक कुरामा एउटा न एउटा अवसर आउँछ मानव जीवनमा। त्यो अवसर गुमाउनु हुँदैन।
आमाको काख सरह हुन्छ, नर्सको काख पनि। तिमी सेवामा खटिरहेकी छौ। यसमा गर्व छ, मलाई। तिमी खटिरहू, मेरी प्यारी छोरी।
जीवनमा अवसर दुई प्रकारका हुन्छन्, एउटा दुःखको, अर्को सुखको। सुखको अवसर आफ्नो दिनचर्या निर्वाह गर्न हुन्छ भने दुःखको आफ्नो जीवनको प्रवाह नगरी गरिने सेवा नै हो।
तिमीले बिदा लिएर बसे, सबै आमाहरूले त्यसै भनिदिए उपचार कसले गर्ने ? त्यो भाइरसविरुद्ध को लडिदिने ? सायद म कठोर आमा नै ठहरिऊँ। तिमी निरन्तर सेवामा समर्पित होऊ, आफ्नो कार्यक्षेत्रमा। काम नगरी घरमा बस भनेर म भन्न सक्दिनँ। छोरी,मलाई माफ गर। म त्यति स्वार्थी बन्न सक्दिनँ। हो हरेक, आमाबुवालाई आफ्ना सन्तानको माया उत्तिकै हुन्छ। अस्ट्रेलिया होस् या युरोपका, अन्य मुलुक कैँयन् नेपालीहरू नर्स तथा चिकित्सक छन्। योमहामारी नफैलिएको स्थान छैन।
सन्तानको माया मुटुमा छँदै छ तर सन्तानले गर्नुपर्ने जिम्मेवारी अर्को पाटो हो। कुन आमाबुवालाई आफ्नो सन्तानको माया हुँदैन र ?के माया छ भनेर सन्तानलाई कुनै काममा नि अग्रपंक्तिमा नलैजाने त? जिम्मेवारी महत्वपूर्ण कुरा हो छोरी, जुन तिमीले बुझेकी छौ।
सबै आमाबुबाले दुःख गरेर नै आफ्ना सन्तानलाई यहाँसम्म पुर्याएका हुन्छन्। सन्तानको सुख हेर्न चाहन्छन् पनि। तिमी एघार वर्षकी हुँदा तिमी र तिम्रो भाइको उज्ज्वल भविष्यका लागि म यहुदीहरूको बस्ती पुगेँ। आमाको काखमा रमाउने बेला तिमीहरूलाई छोडेर जानुको पीडा त जीवनभर अमीट छाप बनेर यो छातीमा रहेकै छ। हाम्रो परिवार र जीवनमा विविध बाध्यताका पहाड खडा भए। बाध्यताका तिनै पहाडहरू सम्याउन विदेशिएँ। अर्थात् भनौँ समयसँग सम्झौता गरेँ। मुलुक, परिवार र नाबालक छोराछोरी छोडेर सधैँ युद्धको त्रास रहेको मुलुक इजरेल पुगेँ, आँसुको धारा हत्केलाले पुछ्दै।
चरा पनि दिनभरि आफ्नो बचेराका लागि आहारा खोजेर साँझ आफ्नो गुँडमा फर्कन्छ तर तिमीहरूकी आमा म फर्कन नसक्ने सात समुद्रपारि गएकी थिएँ। एकातिर माउ अनि अर्कोतर्फ बच्चाहरूको छटपटी थियो। बाध्यता नै तिमीहरूको सुन्दर भविष्यका लागि नै थियो। यसरी पढाएकी छोरीलाई मैले यो अवस्थामा स्वार्थी आमा बनेर कसरी घर बस भन्न सक्छु ?पराई भूमिमा मेरा पनि आँखा भरिएर डिलमा बाटो बनाएर जलमग्न हुन्थे, सिरानी भिझ्थे। अहिलेझैं सामाजिक सञ्जाल थिएन। अहिले तिमीलाई त्यहाँसम्म पुर्याउन त्यो यहुदी बस्तीमा एक दशकभन्दा बढी समय बिताएँ। अब त सहज रूपमा जीवन अघि बढाउन भन्न सक्थेँ।
यो अवस्थामा डाक्टर अनि नर्सको आमाबुवाले आफ्ना छोराछोरीलाई रोक्ने हो भने बिरामी कसले हेर्ने?यो भन्दा खतरनाक रोग लागेर आएकालाई पनि त चिकित्सकले पक्कै हेर्छन्। हुन त, युद्ध चलिरहेको बेला पुलिस र सेनालाई रोक्नु भनेको गाडी चलाउँदा दुर्घटना हुन्छ भनेर हिँड्नु राम्रो भनेजस्तै हो। के हवाइजहाज दुर्घटना हुन्छ भने पाइलटले जहाज नउडाउने ? परिचारिका (एअरहोस्टेस) ले सेवा नदिने हो भने कसरी संसार अघि बढ्छ र?
हामी यस धर्तीका केही दिनका पाहुना मात्र हौं। बस्, पाहुना मात्र। ढिलो चाँडो मात्रै हो। त्यसैले छोरी हामी बाँचेर मर्नुभन्दा मरेर बाँच्नुमा गर्व गर्नुपर्छ। विश्वमा अधिकांश समय तरबार, गोला, बारुदको लडाइँ हुन्थ्यो। यसपटक सीप र योग्यताको लडाइँ हुँदैछ। कोरोना भाइरसको यो विषम परिस्थितिमा आफूलाई सुरक्षित राख्दै आत्मविश्वाससाथ बिरामी तथा बूढाबूढीको सेवा गर्नुपर्छ, तिमीजस्ता सबै चिकित्सकहरूले। यस लडाइँमा पक्कै पनि तिमीहरूको जीत निश्चित छ।आमाको काख सरह हुन्छ, नर्सको काख पनि। मनमा धक भए पनि तिमी खटिरहेकी छौ। यसमा गर्व छ, मलाई। तिमी खटिरहू, मेरी प्यारी।
हुन त तिमी दैनिक ट्रेन यात्रा तय गर्दै आफ्नो कर्तव्य निर्वाह गरेको सुन्दा साँच्चै गर्वले छाती चौडा भएको महसुस गर्छु। म पनि चाहन्छु,मेरी छोरी विश्वको फ्लोरेन्स हुन नसकेपनि मेरी पक्कै हुनेछे। अन्यका छोराछोरी पनि त्यस्तै होऊन, त्यो बाटो नटुटोस्। तिमी जस्ता अरु नेपाली आमामा सन्तान पनि आफ्नो जिम्मेवारीबाट नभागून्। आमाबुवा नै जिम्मेवारी वहन गर्नेको पर्खाल नबनून्। त्रासदी छिटो अन्त्य होस्। हे भगवान !