महामारी वरिपरिको विमर्श

महामारी वरिपरिको विमर्श

इतिहासकारका अनुसार राजा भास्कर मल्लका पालामा काठमाडौँ उपत्यका एक विनाशकारी महामारीको सिकार भएको थियो।हजारौँ मानिस मारिए। त्यस समय छुट्टिएर रहेको काठमाडौँ राज्यका राजासमेत महामारीको सिकार भएका थिए। कदाचित त्यो ‘प्लेग’ थियो। 

पाँच वर्षअघि मात्र काठमाडौँ उपत्यका र मुलुकका केही अन्य भागमा प्रलयकारी भुइँचालो गयो। त्यसले नेपालबाहिर पनि प्रभाव पारेको थियो। जनजीवन आतंकित भयो। मानिस र मानवकृत संस्था पुलिस, सेना, सरकार राज्य, अस्त-व्यस्त-त्रस्त भएका थिए। मानिसको स्मृति छोटो हुन्छ। पाँच वर्षअघिको भयानक प्राकृतिक प्रकोप हामीले यताका वर्षमा बिर्सिसकेका छौँ। काठमाडौँको जनमनमा त्यस भुइँचालोले दीर्घकालीन प्रभाव पारेन। रहनसहन, बाटोघाटो, सदन, भवन, निवास र जीवनशैली उस्तै छ। मानिस जनसंकुल काठमाडौँमा कोचमकोच छन्। 

राजनीतिक दृष्टिकोणले यसबीच नेपालमा नयाँ व्यवस्था आयो। नयाँ संविधान आयो। शासक जातिका नजरमा गणतन्त्र र संघीय राज्य दुवै पुष्पित-पल्लवित छन्। तर, हाम्रो जीवनशैली उस्तै छ। अझ डरलाग्दो हाम्रो चिन्तन प्रणाली उस्तै छ। हामीलाई लागिरहेको छ, हामी जे गर्दैछौँ, ठीक गर्दैछौँ। जे गर्ने हो, हामीले नै गर्ने हो। भूकम्पको त्यस शिक्षाले पुगेन। भूकम्पभन्दा दसौँ गुणा भयंकर अर्को विपत्ति अहिले हामीसामु विश्वव्यापी आतंकका रूपमा आएको छ। 

इतिहासका पानामा मल्लकालीन आतंकका जस्ता उदाहरण अरू पनि छन्। तर, थोरै छन्। त्यस समय सञ्चार क्रान्ति भएको थिएन। सूचनाको यस्तो व्यापकता थिएन। मृत्युको भयावह पनि कदाचित थिएन। फलस्वरूप कोरोनाले सृष्टि गरेको यो आतंक मानवजातिको इतिहासमा यस परिमाण र प्रकृतिको थिएन। नेपालमा पाँच वर्षअघि गएको भुइँचालो, त्यसअघि भारतको उत्तराञ्चलमा भएको कल्पनातीत जलपलाब्न र संहार पनि स्मरणीय छ। बाग्मतीको बाँध फुटेर सर्लाही डुबेको ३० वर्ष पनि पुगेको छैन। यस्ता कुरा हामीलाई याद छैन। 

आजको तथाकथित विकासको भ्रान्त र खतरनाक अवधारणाले गरिबलाई झन् गरिब बनाएको छ। अज्ञानी बनाएको छ र आत्महीन बनाएको छ। 

हामी तत्कालका निम्ति आत्तिन्छौँ। छिट्टै नै मात्तिन्छौँ। तत्काल त प्रकृतिको विराट विभीषिका अगाडि हारेजस्तो हुन्छौँ। तर, फेरि निहुँ खोज्न थाल्छौँ। हामीभित्रको जिद्दी स्वार्थले प्रकृतिलाई पराजित गर्न चाहन्छ।तर,यथार्थमामनुष्यले प्रकृतिलाई हराउन सक्दैन। प्रकृतिको पराजयबाट मानवजाति अछुतो रहँदैन। प्रकृति र मानिसको अन्योन्याश्रित र पारस्परिकता आजपनि हामीले आत्मसात् गरेका छैनौँ। मानिसको अहं उसको सर्वोपरि शत्रु र विशेषता हो। बारम्बार दुःख पाएर, हारेर, भत्केर, टुटेर पनि त्यसमा ऊ सहमत हुन चाहँदैन। मनुष्यको अपराजय साहस एकातिर उसको सकारात्मक पक्ष हो। तर, यो दुस्साहस हुन पुग्दा विनाश निम्त्याउँछ। आजको मनुष्यले सिंगो पृथ्वीलाई विनाशको डिलमा उभ्याएको छ।

कोरोनाको करुण पृष्ठभूमिमा पनि अध्यक्षद्वय प्रचण्ड र ओली राजनीतिक हानथाप  गर्दैैछन्। आफ्नो अस्तित्व देखाउन नेपाली काँग्रेस पनि बेलाबखतमा जंग्दिैछ।यी सब खुद्रा कुरा भए। यस्ता कुरा राजनीतिको स्वाभाविक अंग हो। कोरोनाको विभीषिका र त्यसको सन्देशलाई राजनीतिले ओगट्न सक्दैन। राजनीतिका आफ्ना विशेषता र सीमा छन्। राजनीतिक भाषामा कोरोनालाई बुझ्न सकिँदैन। बुझाउन पनि सकिँदैन। कोरोनामा प्रकट भएको सत्य ज्यादा विराट र विकराल छ। यो सत्य राजनीति र इतिहासभन्दा माथि,टाढा, पर र पृथक्छ।  

कोरोनाले यस ब्रह्माण्डमा, अझ पृथ्वीको त कुरै भएन मानवजातिको निरीहता र लघुतालाई एक पटक फेरि उजागर गरेको छ। खगोलशास्त्रका विद्यार्थीहरूले वेदशाला त्यस्तै संयन्त्रबाट ब्रह्माण्डमा मानिसको हैसियत बारम्बार औँल्याएका छन्। तर, अहंकारको चित बुझ्दैन। अहंकार नै ओछ्यान, बिछ्यौना, चनाचमेना भएका महानुभावहरूले यो सत्य बुझ्ने कुरैभएन। तदनुरूप मनुष्यको निःसहायता राजनेताले बुझ्दैन। कविता र साहित्यले किञ्चित संकेत गर्छ। महामारी कोरोनाको संकेत ज्यादा भयंकर छ। तदनरूप यो महामारी एक अस्तित्ववादी परिघटना हुन पुगेको छ। अस्तित्ववादी दार्शनिक अलबेयर कामुले यस्तै मनस्थितिमा कुनै समय प्लेग भन्ने उपन्यास लेखेका थिए। 

मानिस मूलतः एक कमजोर प्राणी छ। बाघ, भालु, हात्ती, गँैडाको कुरा छोड्दिनुस् चराचुरुङ्गीले मात्र एकजुट भएर आक्रमण गर्‍यो भने मानवजाति पराजित हुन्छ। अलफ्रेड हिजककले ‘द बर्डस्’ भन्ने सिनेमामा यो कुरो भयंकर पाराले दर्शाएका छन्। तर, न त कामुको प्लेगले न त हिजककको बर्डस्ले हामीलाई सुधार्न सकेको छ। हामी विज्ञानप्रतिको अन्धविश्वासले ग्रस्त छौँ। तर, विज्ञान त विज्ञान नै हो। बालकृष्ण समले भन्नुपरेको थियो,‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ।’कोरोनाले विज्ञानप्रतिको हाम्रो अन्धविश्वासमा भीषण प्रहार गरेको छ।
विज्ञानप्रतिको हाम्रो अन्धविश्वासको सुरुवात भएको चार सय वर्षभन्दा बढी भइसक्यो। द्वितीय महायुद्धपछि यो अन्धविश्वास चरमोत्कर्षमा पुगेको छ। हिन्दी साहित्यका एक कवि छन्, रामधारी सिंह दिनकर। छ दशकअघि हाम्रोस्कुलमा उनकोएउटा कविता पढिन्थ्यो। त्यो कविता उपर्युक्त अन्धविश्वासका सन्दर्भमा पठनीय छ ः

आज की दुनिया विचित्र, नवीन,
प्रकृति पर सर्वत्र है विजयी पुरुष आसीन।
हैं बँधे नर के करों में वारि, विद्युत, भाप,
हुक्म पर चढताउतरता है पवन का ताप।
हैं नहीं बाकी कहीं व्यवधान,    

लाँध सकता नर सरित, गिरि, सिन्धु एक समान।यो कविता मनुष्यजातिको दम्भको भावनाले ओतप्रोत छ। मानव ज्ञानको सीमा छ। नृतŒवशास्त्रले यस सीमालाई स्वीकार गर्छ तर दम्भले बुझ्दैन। अहंले बुझ्दैन। अहंकारले लय र प्रलयको भेद बुझ्दैन। 

द्वितीय महायुद्धपछिको समय त्यस्तै थियो। मेरो बाल्यकालको समय त्यस्तै थियो। कविता भन्छ,मानिस जे पनि गर्न सक्छ। त्यही सोचसाथ हाम्रो पुस्ता अघि बढ्यो। तर, के मनुष्य साँच्चै नै यस पृथ्वीको एक मात्र शासक हो त ? के सम्पूर्ण सृष्टि मनुष्यकै लागि नै बनेको हो त ? उतराखण्डको विनाशकारी बाढीले, अस्तिको भुइँचालोले अरू त अरू सर्लाहीमा भएको जलपलाब्नले हामीलाई के संकेत गरेको छ भने मनुष्य आफूखुसी यस पृथ्वीमा बस्न सक्दैन। मनुष्यबाहेक यस पृथ्वीमा आफ्नै हिसाबले रुख, वनस्पति, जनावर, पशुपक्षी, नदीनाला, पहाडलाई सृष्टिमा भएको प्रत्येक कणकणलाई आफ्नै किसिमले बस्ने र बाँच्ने अधिकार छ। कोरोनाको एउटासन्देश यो हो कि ?

हामी वरिपरि हाम्रो समाजमा हिजोसम्म पनि कतिपय वृक्षलाई काट्न हुँदैन पाप लाग्छ भन्ने चलन थियो। त्यस्ता वृक्षहरूलाई पवित्र र दैवीय भनिन्थ्यो। वर, पीपल, अशोक, कदमयस्ता रुख थिए। यिनमा लाग्ने फल मनुष्य खाँदैन।तर,चराचुरुङ्गीका लागि भने ती सर्वाधिक प्रिय आहार हुन्। चराले खान्छन्, तिमीहरू नखाओ भनेर मनुष्यलाई भन्दा मान्नेवाला छैन। मनुष्यलाई भगवान्को डर देखाएर चराले खाने आहारालाई रोकिएको छ। यसै कारणले पापको अवधारणा सिर्जना र थापना भएको थियो। आजको दुनियाँमा अपराध त छ तर पाप छैन। पापको ठाउँ कसैले लिनुपर्छ कि पर्दैन ?नलिँदा हाम्रो सभ्यताको नियामक तŒव के हुने त ? अहिले त फगत लोभ र भयले यो सभ्यता चलेको छ। तर, यसरी कति दिन चल्न सक्छ ? कोरोनाले यो प्रश्न उठाएको छ। 

द्वितीय महायुद्धपछि विश्वमा विकासको खाँडोजाग्यो, जगाइयो। राजा महेन्द्रका पालामा विकासका नाममा पूर्व-पश्चिम राजमार्ग बन्यो। वनजंगल नाश भए। हुलाकी मार्ग उपेक्षित भयो। मधेस पीडित भयो। विकास भनेको सडक रे। विकास भनेको एयरपोर्ट रे। विकास भनेको जंगलको सफाया, नदीका उपरको बाँध र विविध खर्बौं पर्ने योजना। विकास भनेको महानन्द सापकोटाको ‘आइ पुग्यो तिज’। विकास भनेको चार्वाकको ऋणं कृत्वा, घृतं पिबेत्।

समाजवादका निमित्त विकास एक मूलतः मानवीय प्रक्रिया हो। मनुष्यलाई स्वतन्त्र र सशक्त बनाउने अभियान हो। तदनुरूपश्रेष्ठतम अर्थको एक अध्यात्म हो।   मनिसले प्रकृतिसँग खेलबाड गरेको छ। औँलामा गन्न सकिने केही वातावरणविद् बाँकी छन्। ती बारम्बार भन्छन्,केही दशकमा माल्दिभ्स पानीमा डुब्दैछ। बंगलादेश अघि डुब्ने हो कि माल्दिभ्स, थाहा छैन। तर, कसैलाई त्यस कुरासँग मतलब छैन। यो देश त डुब्छ, मेरो देश डुब्दैन भन्ने भावना हामीलाई छ। अरू सबै मर्लान्, म मर्दिनँ भन्ने सोच मानिसमा छ। संसारको सबभन्दा आश्चर्य के हो ? तपाईंको आँखा सामुन्ने मान्छे नित्य मर्दैछन्। वृद्ध, विद्यार्थी, बालक मर्दैछन्। तर, म भने मर्दिनँ भन्ने सोच अल्पदृष्टि। कोरोनाले यस अल्पदृष्टिउपर प्रश्नचिह्न लगाएको छ। महाभारतको यक्ष प्रश्नको सम्झना गराएको छ। कोरोनाजस्तो महामारीले हामीलाई देखाउँछ, जीवन कस्तो क्षणभंगुर छ। कसरी जो कोही पनि जतै पनि पूर्ण स्वस्थ व्यक्ति पनि अकस्मात् मृत्युको सिकार हुन्छन् र मृत्यु कसरी पूर्व निर्णय मुखापेक्षी हुँदैन।  

आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो।
लेखनाथको यस पंक्तिलाई कोरोनाले साकार गरेको छ। 

कोरोनाको मुहानअझै हामीलाई थाहा छैन।तर, थाहा पाएका कुराप्रति जागरुक र जिम्मेवार छैनौँ। आजको ३० वर्षमा अर्थात् सन् २०५० सम्ममा हामीले पृथ्वीको तापक्रम कम गराउने सचेत प्रयास नगर्ने हो भने यो पृथ्वी मानव जातिका लागिरहनलायक हुँदैन।वैज्ञानिकहरू डंकाको चोटमा यो बारम्बार भन्दैछन्।तर, कसले सुन्ने ?हामीले जीवनशैली सुधार्‍यौँ भने प्रकृतिसँगै बस्न थाल्यौँ र पर्यावरणको सम्मान गर्‍यौँ भने यो विभीषिका टर्नसक्छ। तर, यसरी चिच्याइचिच्याई रुने बबुराको कुरा कसले सुनिरहेको छ ?

यस्ता कुरा पटक्कै सुन्न नचाहनेमा विश्वका सर्वाधिक शक्तिशाली सुपरिचत राष्ट्रनेता डोनाल्ड ट्रम्प पनि पर्छन्। तर, के यस हुलमा ट्रम्प एक्लै छन् त ? ट्रम्पभन्दा मोदीलाई पृथक् राख्न सकिन्छ ? हाम्रा आदरणीय केपी ओलीलाई पृथक् राख्न सकिन्छ ? पटक्कै सकिँदैन। उनीहरूका लागि सबै ठीक भइरहेको छ। उनीहरू प्रधानमन्त्री रहुन्जेल, राष्ट्रपति रहुन्जेल नेपाल, भारत, अमेरिकामा केही अन्यथा हुनै सक्दैन। तिनलाई लागिरहेको छ, कोरोनाको दर घटिरहेको छ।विरोधी अखबारले नचाहिँदो शैलीमा फुकिरहेका छन्, यस्ता विरोधीलाई तह लगाउनुपर्छ, मुखभरिको जवाफ दिनुपर्छ।

बडो विचित्र छ। यस्तै प्रवृत्ति हामीले पहिलेका प्रधानमन्त्रीका पालामा पनि हेरिसक्यौँ। कदाचित भोलि पनि देखिनेछन्।  अहिले प्रचण्ड छट्पटाएका छन्। ओलीले सकेनन् भन्ने उनलाई लागेको छ। तर, यो व्यक्तिले गर्नसक्ने कुरै होइन। जुन व्यवस्था निर्माण भएको छ, त्यो व्यवस्थाले सक्दैन। त्यस व्यवस्थाभित्र राष्ट्रपति र प्रधानमन्त्री भएका व्यक्तिको मानसिकता यस्तै बन्न जान्छ। उहाँहरूलाई खराब भन्ने ठाउँ छैन। डोनाल्ड ट्रम्पले अमेरिकाको उन्नति गर्न नचाहेको भन्ने ठाउँ छैन। डोनाल्ड ट्रम्पभन्दा इमानदारीपूर्वक राजा महेन्द्रर वीरेन्द्रले चाहेका थिए। अझ गिरिजाबाबुले पनि चाहेका थिए।

वातावरणको नित्य विनाश भइरहेको तर, राज्य र सरकारका नाइकेहरू यसप्रति उदासीन छन्। उनीहरूको चितबित अर्कै कुरो सवार छ। उनीहरूलाई भोलिसँग मतलब छैन। आज सत्तामा टिकिरहनु उनीहरूको पहिलो लक्ष्य हो। अगामी चुनाव जसरी भएपनि जित्नु अर्को अभिष्ट हो। ट्रम्प, मोदी, ओली र पुटिन सबैका निमित्त यो समान रूपमा अहिले लागू भइरहेको छ। तैपनि उनीहरूको व्यक्तित्वमा दोष देखाउने पक्षमा पंक्तिकार छैन। शासनप्रणाली उनीहरूको हेतु हो। शासन प्रणाली नै उनीहरूको उदासीनताको कारण हो। 

रुख काटेर मान्छेलाई परेको समस्या, चरनसकिएर गाई-बाख्रालाई परेको समस्या गाउँलेले बुझ्नसक्छन्। तर, त्यस गाउँलेले पनि केही बुझ्न नपाओस् भनेर विश्वव्यवस्था सक्रिय छ। गाउँलेलाई निरन्तर भनिएको छ। तिमीहरू केही बुझ्दैनौ। युगौँदेखि खेती गर्दै आएको किसानलाई खेती गर्ने पाठ पढाइँदै छ। विकासका नाममा उनीहरूको सहज बुद्धिलाई उपहासको विषय बनाइएको छ। डाक्टरीका नाममा उनीहरूलाई तर्साइएको छ। गान्धीले हिन्द स्वराजमा डाक्टर, वकिल र विश्वविद्यालयको विरोध गरेको पढ्दा प्रारम्भमा म तिलमिलाएको थिएँ। अहिले बुझ्दै छु। उनी दूरदर्शी थिए। 

आजको तथाकथित विकासको भ्रान्त र खतरनाक अवधारणाले गरिबलाई झन् गरिब बनाएको छ। अज्ञानी बनाएको छ र आत्महीन बनाएको छ। गाउँमा थुप्रो समस्या छन्। अशिक्षा छ। बालविवाह छ। उत्पीडन छ। सफासुग्घरको समझदारी छैन। तर, आधुनिकता र विकासका नाममा थप अन्धविश्वास थप्दै छ। यो कुरा सहरियाले बुझ्नै पर्छ। अर्थमन्त्रीले कुनै समय सबै गाउँलाई सहर बनाउने मजाक संसद्मा पेस गर्नुभएको थियो। प्रचण्डले नेपाललाई सिंगापुर बनाउन चाहेका छन्। वामदेव पाँच वर्षमा चीनलाई उछिन्ने कुरा गर्छन्। 

उपर्युक्त सारा सपना र प्रतिज्ञाभन्दायो महामारी ज्यादा रहस्यमय छ। रहस्यमताको आफ्नो शक्ति हुन्छ। रहस्यमताले मानिसलाई उसको सीमा बताउँछ। विज्ञानले कार्यकारणको सिद्धान्त प्रतिपादन गर्छ। धर्म रहस्यमै बाँच्छ। कोरोनाले रहस्यको महत्वका उपर पुनर्चिन्तन गर्न सिकाएको छ। 

धर्मले मानिसलाई उत्तरदायित्व सिकाउँछ। आफ््ना निमित्त मात्रै होइन, सबैका निमित्त उत्तरदायी हुनु धर्मको सार हो। अंग्रेजीमा उत्तरदायीलाई ‘रेस्पोन्सिबल’ भनिन्छ। त्यो शब्द बडो अर्थपूर्ण छ। दोहोर्‍याएर प्रतिज्ञा गर्नु, अब फेरिन्छु भन्नु, अब धोका खान्नँ भन्ने प्रतिज्ञा दोहोर्‍याउनु ‘रेस्पोन्सिबल’ शब्दको मूल हो। कोरोनाले त्यस दिशातर्फ हामीलाई इंगित गरेको छ। 
सनातन धर्मले यस्ता कुरामा बारम्बार जोड दिएको छ। सृष्टि रहस्यमै छ। बरु विज्ञानले यी सब कुरा बुझ्न सक्दैन। अहिले त विज्ञान कोरोनाका अगाडि हावा भएको छ। त्यसैले मनुष्यले जिन्दगी बिताउँदा बडो विनम्रतापूर्वक मेरो हातमा केही छैन भनेर बाँच्दै जानुपर्छ। भनिन्छ, धर्म गर्दा प्रत्येक दिन म आजै मर्छु भावले गर्नुपर्छ, कर्म गर्दा म कहिले पनि मर्दिनँ भन्ने भावले गर्नुपर्छ। मनुष्यको जीवनबाट धर्मको लोप भएको छ। यहाँ धर्म भन्नाले कुनै संगठित धर्म हिन्दू, इसाई, मुसलमानको कुरा गरेको छैन। धर्म भनेको मानवजीवनलाई धारण गर्ने नियम हो। त्यस्ता नियमलाई मानिसले लगातार विगत चार सय वर्षदेखि अवहेलना गर्दैछ। 

द्वितीय महायुद्धपछि अपहेलना तीव्रतर भएको छ। झन् सोभियत संघको विघटनपछि विगत ३० वर्ष त मानिसको व्यक्तिवाद, स्वार्थ, पलायन, अहंका चरमबिन्दुमा पुग्यो। कोरोनाले मानिसलाई अलिकति पनि विनम्र हुन सिकायो भने कोरोना सिद्धिएको भोलिपल्ट एउटा नयाँ सभ्यताको सुरुआत हुन्छ।  ढिलोचाँडो कोरोना जुन बाटो आयो, त्यही बाटो जाला। अल्बर्ट कामुको ‘द प्लेग’को महामारी पनि एक दिन टुंगिन्छ।तर, सम्बन्धित सहरको चालामाला बदलिँदैन। कामुको प्लेग ओरान भन्ने सहरमा घटित भएको थियो। भूगोलका अनुसार ओरान सिटी अल्जेरियाको पश्चिम-उत्तर एउटा बन्दरगाह हो। कामुको त्यो कथा कुनै निदृष्ट सहरको होइन। यो तपाईंको सहरको कथा हो। मेरो सहरको कथा हो। 

मल्लकालमा भयो भनिएको कथित प्लेगले इतिहासलाई शिक्षा दिएको भेटिँदैन। यसपटक भने शिक्षा लिने हो कि ? त्यो निर्णय हाम्रो अगाडि छँदैछ। कोरोनाले सानै स्तरमा पनि मानिसलाई विनम्रभावले बाँच्न सिकाएको छ। ठीक अध्यात्मले जस्तै। 
प्रस्तुति : शम्भु यादव


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.