सहरले लखेटेका श्रमिकको सडकमा विचल्ली

सहरले लखेटेका श्रमिकको सडकमा विचल्ली

आज लकडाउनको २५ औं दिन। चैत ११ गते सुरु भएको लकडाउनले आजसम्म महलमा बस्ने र गाडीमा गुड्नेलाई आरामै होला। सत्तामा बसेका केही नायकले भाषणमा जनताको चिन्ता गरेकै छन्। रोग पहिचानका लागि प्रयोगशालामा सरकारले लगानी गरेकै छ। केही कमरेडलाई लकडाउन कमाउने अवसर पनि बनेको छ। श्रम र पसिना चल्दासम्म स्वागत गरेको सहरले संकटमा श्रमिकलाई लखेटेको छ। पृथ्वीराजमार्गमा चप्पल पड्काउँदै लावालस्कर लागेर तराई झरेका मजदुरका पीडा यत्तिबेला शब्दमा लेख्न नसकेको अनुभूति भएको छ। 

लकडान सुरु भएताका भारतीय सीमाबाट हुलका हुल नेपाल भित्रिने क्रम बढ्यो। जब चौथो चरणको १५ दिने लकडाउन सुरु भयो, पहाडबाट हुलका हुल तराई र पश्चिम नेपाल जाने क्रम बढेको छ।

भूकम्पपछिको पुनर्निर्माणका लागि काठमाडौं,  ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, लम्जुङ, धादिङ र रसुवा पुगेका मजदुर यत्तिबेला पृथ्वीराजमार्ग हुँदै लकडाउन छल्न र पेट भर्न तराई झरिरहेका छन्। उनीहरुको साथमा बालबच्चा, गर्भवतीसमेत सडकमा पैदलै छन्। सातादिनदेखि बालबच्चा र गर्भवतीसँगै सडकमै रात काटेर हिँड्नुको विकल्प उनीहरुसँग छैन।  चप्पल चुडिएकाहरु खाली खुट्टा छन्। हिँड्दाहिँड्दै खुट्टामा फोका उठेर फुटेकाहरु हातमा चप्पल बोकेर खाली खुट्टा खोच्याउँदै गन्तव्यतर्फ लम्किरहेका छन्। 

यो सकसपूर्ण यात्रा बारे जताततै चर्चा छ। मानवीय संवेदनामाथि बेवास्ता गरिएको भनेर सरकारप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन्। यो यथार्थ सुन्नेलाई भन्दा देख्नेलाई र देख्नेलाई भन्दा भोग्नेलाई दर्दनाक छ। शुक्रबार बिहानै पृथ्वीराजमार्गमा निस्कदा तराई झर्ने ठूलासाना धेरै टोली भेटिए। 

श्रम र पसिना चल्दासम्म स्वागत गरेको सहरले लकडाउनको संकटमा श्रमिकलाई लखेटेको छ। पृथ्वीराजमार्गमा चप्पल पड्काउँदै लावालस्कर लागेर तराई झरेका मजदुरका पीडा यत्तिबेला शब्दमा लेख्न नसकेको अनुभूति भएको छ। 

त्यसमध्ये एउटा टोली थियो, बिहान चारबजे गोरखाको फुजेलबाट हिँडेका नवलपरासीका अमरसिंह सोमाई र नरेन्द्र खम्चा मगरको। उनीहरु साँढे १० बजे कुरिनटार चेरेसमा भेटिए। मध्यविन्दू १४ मैनाघाटका लागि उनका नौ जनाको टोली पृथ्वीराजमार्गको किनारै किनार बिहानको छाक फुको चाउचाउको फाँको मार्दै अघि बढिरहेका थियो। चर्को घाममा तातेका उनीहरु फोटो खिचाउन र भोगाइ सुनाउन पनि सजिलो मानिरहेका थिएनन्।

कुरिनटारको सशस्त्र प्रहरीले केही यात्रुलाई ट्रक चढाइरहेको थियो। ट्रक चढेको छिनमै तराई मूलका १७, १८ वर्षका जस्ता देखिने तीनजना ओर्लिए। ‘हामी हिँडेरै जान्छौं’, एकजनाले भने, ‘यसमा जाँदैनौं।’ प्रहरीले कारण सोध्दा अर्कोले भने, ‘भित्र मान्छे धेरै रहेछन्। रोडमा हिँड्दा भन्दा भित्र धेरै गर्मी रहेछ।’ तर प्रहरीले गाडी चलेपछि सितल हुने भन्दै फेरि चढायो र जबरजस्ती पठायो।

दिउँसो १२ बजे धादिङ र चितवनको सीमा मौवाखोलामा पुग्दा चार वर्षे छोरो साथमा लिएकी सल्यानकी पवित्रा पुन मगरसँग भेटभयो। धादिङबाट सखारै पाँचवर्षे छोरो डोहो¥याउँदै हिँडेकी उनी भर्खरै मौवाखोलामा आइपुगेकी थिइन्। थकाइ र भोकले उनमा जति सिथिलता देखिन्थ्यो, त्यो भन्दा उनका छोरा निन्याउरो देखिन्थे। 

हातमा आधा खाइसकेको चाउचाउको पोको थियो। दूधभातको भोक चाउचाउले कसरी मार्न सक्थ्यो होला र ? त्यसैले हुनसक्छ बच्चाको अनुहार मलिन थियो। धादिङको सर्साचौताराको इँटा उद्योगमा काम गर्ने पवित्रासँगै घर जान हिँडेका सल्यानका आठ जना साथी पनि थिए।  बन्दाबन्दीका कारण एकदिन, दुईदिन तीनदिन गर्दै तीनहप्तासम्म काम नपाएपछि उनीहरुले शुक्रबार बिहान चार बजे सल्यानका लागि साइत गरेका थिए। 

रोग भन्दा भोकको ठूलो
मौवाखोलामा अर्को ठूलो जमात थियो, विभिन्न ठाउँबाट हिँडेका, विभिन्न गन्तव्यका लागि। तीमध्ये एक थिए, कैलाली टिकापुर–२ विजय नगरका दुखीराम चौधरी। सुरज चौधरी त्यो समूहका पाका र अलिक फरासिला थिए। धादिङको पौवामा घर बनाउने काम गर्दै आएका उनको साथमा अरु १० जना थिए। उनीहरु चार महिनादेखि भूकम्पपछिको पुनर्निर्माणको काम गर्थे। अचानक भएको लकडाउनले उनीहरु कामबिहीन भए। घर जानु भन्दा राम्रो विकल्प उनीहरुले देखेनन्। ‘काम नपाएको २५ दिन भयो, अब मुखमा माड लाग्ने देखिएन’, उनले भने, ‘अब मर्नु भन्दा बौलाउनु राम्रो भनेर हामी सबै निस्कियौं।’ 

उनीहरु बिहीबार नै निस्किएका हुन्। बिहीबारको रात सडकमा सुतेर काटे। ‘अहिले त कसैको होटल, घर पाउने कुरै भएन’, उनले भने, ‘खै कुुन्नी कुन बजार थियो, हामी त्यसको नजिकै रोडमा सुत्यौं। उज्यालो नुहुँदै हिँडिहाल्यौं।’ 

केही अघि बढेपछि उनीहरुलाई अर्को टोलका बासिन्दाले चिउरा, बिस्कुट, चाउचाउ बाँडेका रहेछन्। ‘भात नखाएको दुई दिन भयो। हिजो बिहान पनि खाइएन, बेलुका पनि, अहिले बिहान पनि भात खान पाएका छैनौं’, रामबहादुर डंगौरियाले भने, ‘रोग कहिले लाग्छ लाग्छ, भोक अहिले लाग्छ। हामीलाई त रोग भन्दा भोकको ठूलो समस्या छ।’ भोकको पीरले आठ नौ दिन लागे पनि हिँड्न तयार रहेको उनले सुनाए।

स्थानीय तहको राहत 
मौवाखोला धादिङ र चितवनको सीमाना हो। धादिङ तरेर चितवन लागेपछि इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ, केही प्रहरीलाई साथमा लिएर अलपत्र यात्रुलाई भेला गर्दै ट्रक चढाउदै थिइन्। कञ्चनपुर जाने एउटा टोलीलाई पानी र चाउचाउ दिएर हात हल्लाउँदै राम्ररी जान शुभकामना दिइन्।
 
केही बेरमै अर्को ट्रक आयो बुटबल जाने। उनले कैलाली जाने दुखीरामको टोलीलाई पनि खाजा र पानी दिएर ट्रक चढाएर बिदा गरिन्। दुखले हिँडेका यात्रुसँग पैसा नलिइदिन चालकलाई अनुरोध गरिन्। चालकले भने, ‘कहाँको पैसा लिनु, आफू नसुतेको पनि दुईदिन भइसकेको छ।’ पवित्रा पुनको सानो छोरोले पनि ट्रक चढ्न पाएपछि हात हल्लाए।

केही सन्नाटाकैबीच गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ बोलिन्, ‘गाडीबाट कोरोना सर्ने होइन, सर्ने मान्छेबाट हो। गाडी चढ्न मात्र नपाउने हिँडेर यात्रा गर्न चाहिँ पाउने गर्दा मान्छेले धेरै दुःख पाए। त्यसैले मैले दुईदिनदेखि यहाँ बसेर प्रहरीको साथ लिएर गाडी रोक्दै, मान्छे चढाएर पठाउने गरेकी छु।’ बिहीबार र शुक्रबार गरेर पाँचसय भन्दा धेरै यात्रु मौवाखोलाबाट ट्रक चढाएर पठाएको उनले सुनाइन्।

सहयोगी मन
अपरान्ह पाँचबजेतिर मौवाखोलाबाट फर्किदै गर्दा बिहान तीनबजे गोरखाको तान्द्राङबाट हिँडेका सुरज चौधरी साँझ साँढे पाँच बजे तनहूँको आँबुखैरेनीमा भेटिए। बर्दियाको होरीगाउँ जान हिँडेका उनीसँगैका ६८ जनालाई सिद्धिगणेश टोल विकास संस्थाले बाँडेको चिउरा, चाउचाउ र पानी लिइरहेका थिए। 

टोल विकास संस्थाका सदस्यले फोटो खिचाउन र नाम भन्न पनि मानेनन्। फोटो खिचाएर प्रचार गर्नका लागि नभै मानवीय धर्मका लागि खाजा बाँडेको उनीहरुले भनिरहेका थिए। भरेको छाक टार्न चिउरा र चाउचाउको जोहो त भयो, तर राति कहाँ बास बस्ने ठेगान थिएन। छिटोछिटो गरेर मुग्लिनसम्म पुगे बासका लागि सजिलो हुने टोल विकास संस्थाका सदस्यले सुझाव दिइरहेका थिए। ‘रोगको त डर छैन तर कहाँ बास बस्ने, घर कसरी पुग्ने भन्नेचाहिँ डर छ’, संगैका रमेश चौधरीले भने ‘गाडी पाइएन। एकदिन होइन, दुईदिन होइन काम पनि छैन, खल्तीमा दाम पनि छैन। यहाँ आत्तिएर मर्न भन्दा बरु जे पर्ला पर्ला भनेर सबैजना निस्किएको हो।’ असिनपसिन हुँदै उनीहरुको समूह अन्यौल गन्तव्यतर्फ लम्किरहेका थिए। ‘मुग्लिन पुगेपछि गाडी पाइन्छ ?’ एउटाजनाले सोधे।  तर, मौवाखोलामा जस्तो सेवा मुग्लिनमा देखिएन।

बच्चालाई खुवाउन याचना
अझै अगाडि बढेपछि तनहुँबाट गोरखा प्रवेश गर्ने मस्र्याङ्दी पुलनेर साँझ छ बजेतिर सुर्खेत जान भनेर हिँडेका राजन क्षेत्रीको टोली भेटियो। उनीहरु कामको खोजीमा गत चैतको तीन गते मात्र गोरखा आएका थिए। काम नपाउँदै लकडाउन भएपछि बाटो तताउनुको विकल्प थिएन। उनको समूह १० जनाको थियो। करिब चार पाँच वर्षका छुनमुने बालक पनि साथमा थिए। चिया खाने खर्च पनि खल्तीमा नभएकाले उनी एक डेढ सय रुपैयाँको पनि याचना गर्दै थिए। ‘बच्चा छट्पटाएर चार वटा पसल गइसक्यो तर पैसा नभएर केही खुवाउन सकेको छैन’, उनले भने, ‘कसैले दुईचार पैसा दिए यो बच्चाले मुख मिठो बनाएको हेर्ने मन थियो।’

लकडाउनले बेहाल बनायो भनेर वडा कार्यालयमा निवेदन पनि दिएको तर उचित राहत नपाएको उनको गुनासो थियो। ‘खान बस्न पाइएन भनेर वडामा निवेदन दियौं तर १० जनाका लागि पाँच किलो मात्रै चामल दिए। दुई दिनलाई पनि पुगेन। त्यसैले जे पर्ला पर्ला भनेर निस्केर हिँडेको।’ टाउकामा भारी बोकेका उनीहरुको लाइन साँझ अबेर राजमार्गमा चप्पल पट्काउँदै टाढा बिलायो।

तराईबाट राँगा र भैंसी खाँदेजस्तो मान्छे खाँदेर जाँदा पनि थोरै हाँसेर बाईबाई गरेको मौवाखोलाको दृश्य गोरखाको क्षेत्रभित्र साँझ अबेरसम्म पनि देखिएन। शुक्रबार साँझ सर्वोच्च अदालतको आदेश समाचारमा देखियो, ‘टाढाका अलपत्र यात्रुलाई गाडी चढाएर तत्काल घर पुर्‍याउनू।’ त्यसलगत्तै प्रधानमन्त्रीको अर्को निर्देशन आयो, ‘टाढाका अलपत्र यात्रुलाई खानेबस्ने बन्दोबस्त गर्नू, हिड्न नदिनू।’यो विरोधाभासले कतिदिन जनताले सास्ती पाउने हुन् ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.