रुकुम हिँडेका मजदुरलाई पोखराको स्कुलमा आश्रय

रुकुम हिँडेका मजदुरलाई पोखराको स्कुलमा आश्रय

पोखरा : कोराना भाइरसको महामारी नफैलिएको भए रुकुम चौरजहारीका पहल केसी र नरबहादुर बुढाथोकी यतिबेला युनाइटेड अरब इमिरेट्सको दुबईमा हुन सक्थे । त्यहाँ जाने भनेर यी दुवैले एजेन्टलाई साढ २ लाख-साढे २ लाख  रुपैयाँ बुझाइसकेका थिए । गाउँका अरु पनि गएका र राम्रो काम पनि पाएको हुँदा महिनामा ८ सय दिराम कमाउने सपना थियो । माघ लाग्नासाथै एजेन्टले कोरोना सकिएपछि उड्न पाइने बताउन थाले । यत्तिकैमा यी दुई भाइ घर बनाउने काम गर्न गोरखा हानिए । 

आफैँआफैं जिम्मा लिँदै घर बनाउने काम गर्दा गोरखामै दुईचार पैसा कमाउँदै घर पठाउने गर्दै थिए । यता पनि कोरोना आउन लागेको खबर फैलियो । हिँडडुल गर्न नपाइने भन्दै लकडाउन घोषणा हुँदा पनि रुकुमका बुढाथोकी र केसी गोखरा फिनाममा घरहरू बनाइरहेकै थिए । लकडाउन पनि भयो । काम पनि सकियो । वडाले राहत दियो । घर पठाएर बाँकी पैसाले किनेर पनि छाक टारे तर लकडाउन खुलेन । पहल भन्छन्, ‘३ गते खुल्यो भन्थे, खुलेन, राहत पनि पाइएन अनि घर जान भनेर हिँड्यौं ।’ 

५ गते गोरखाबाट हिँडेरै उनीहरु ७ गते पोखरा आइपुगेका थिए । ठाउँमा ठाउँमा पुलिसले सामान्य सोधपुछ गरे पनि रोकेको थिएन । ‘पुलिसले २ घन्टा रोक्छौं भन्थे, २ घन्टामा त हामी धेरै पार गरिसक्छौं भनेर हिँड्यौं’, पहल केसीले सुनाए, ‘रोक्ने भए भात पकाएर खुवाउन पर्‍यो नि भनेपछि रोकेनन् ।’ तर पोखराको रानीपौवा पुरानोधारामा भने स्थानीयले रोके । ‘कहाँबाट आयौ, कहाँ जाने हो ?’ स्थानीयको प्रश्नमा पनि उनीहरु अडिन खोजेका थिएनन् । तर यतै बस्नेखाने व्यवस्थापन मिलाउने आश्वासन पाएपछि भने अडिए । 

स्थानीय प्रमिल तझ्याले पोखरा ९ का वडा सचिव लोकदर्शन कोइरालासँग समन्वय गरिन् । उनले नवप्रभात माविका अध्यक्ष दीपेन्द्र मर्सानीसँग समन्वय गरेपछि ती मजदुरलाई विद्यालयमै आश्रय मिल्यो । ७ गतेदेखि ती ९ जना मजदुरको बास स्कुलमै छन् । तिलक केसी, नवीन बस्नेत, करुण गुर्ताल, नरबहादुर बुढाथोकी, पहल केसी, सुरेन्द्र विष्ट, प्रकाश केसी, पवन केसी र रमेश केसीलाई खानेबस्नेको सुर्ता छैन । विद्यालयका अध्यक्ष मर्सानी भन्छन्, ‘चामल दिन्छौं, तरकारी दिन्छौं भनेर थुप्रैजना आइरहनुभएको छ, मासु र अन्डा पनि सहयोग आएको छ ।’ स्थानीय आमा समूहले खाना पकाउन सघाइरहेका छन् । 

यी मजदुरलाई भने मासुभात खाएर पोखरामै शरणार्थी हुनुभन्दा घरै जाने मन त । ‘हामी त ६ दिन हिँडेर पुग्ने बाटो ३ दिनमै पुग्ने भनेको’, नरबहादुर बुढाथोकीले भने, ‘राति पनि हिँड्ने, दिउँसो पनि हिँड्ने ।’ उनीहरु गोरखाबाट ५ गते त्यसरी नै दिनरात हिँडेर पोखरा आइपुगेका थिए । पवन केसी पानी परेका बेला प्रतीक्षालयमा २ घन्टामात्रै सुतेर पोखरा आइपुगेको सुनाउँछन् । ‘चिउरा र चाउचाउ किन्यौं, अनि हिँड्यौं’, उनले भने, ‘अगाडि गएको टोली पुगिसकेछ, हामी पनि पुग्छौं भन्या, यहाँ रोकिनुपर्‍यो ।’ 

सबैले साथमा २ हजार २५ सय रुपैयाँमात्रै बोकेका छन् । पहिला कमाएजति घर पठाइसकेको र बाँकी गोरखामै छाक टार्दै खर्च भएको उनीहरुले सुनाए । पहल भन्छन्, ‘कि हामीलाई घर जाने गाडीको व्यवस्था हुनुपर्‍यो, हुन्न भने हिँडेरै पनि जान्छौं ।’ घरबाट पनि उनीहरुलाई अरु आए तिमीहरु कहिले आउँछौ भनेर सोधपुछ भइरहेको छ । विद्यालय अध्यक्ष मर्सानी यी मजदुरलाई लगिदिन सहयोगी गाडीधनी पनि भेटिएको सुनाउँछन् । भन्छन्, ‘तर सरकारले अनुमति नदिइ हामीले पठाउन मिलेन । यहीं राख्दा खानबस्न समस्या हुन दिन्नौं ।’ अरु यस्ता अलपत्र मजदुर आए पनि खानेबस्नेको समस्या नहुने उनी बताउँछन् । विपदमा सहयोग गर्ने भनेर पहिल्यैदेखि जम्मा गरेको खाद्यान्न पर्याप्त रहेको जानकारी उनले दिए । ‘सहयोग गर्छौं भन्ने थुप्रै हुनुहुन्छ,’ उनले भने । उनी सोमबार दिउँसो तिनै मजदुरको ख्याल गर्दै स्कुलमै दिन बिताइरहेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.