डोल्पामा यार्सगुम्बा संकलनमा रोक
डोल्पा : डोल्पामा पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । करिब २० वर्ष भन्दा अघिबाट संकलन गरिदै आएको यार्सागुम्बा संकलनमा यस वर्ष भने रोक लगाइएको हो। कोरोना भाइरस कोभिड-१९ सँग लड्न झनै ठूलो चुनौति हुने भन्दै जिल्ला विपत व्यवस्थापन समितिले डोल्पामा यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो ।
कोरोना भाइरस कोभिड-१९का कारण देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमुल्य जडिबुटि यार्सागुम्बा संकलनले झनै ठूलो विपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएको भन्दै यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाएको जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए।
प्रजिअ सुनारले भने,' ठूलो भूगोल भएको जिल्ला हो। सुरक्षा चुनौति छ कोरोनाकै कारण पनि जिल्लामा भीडभाड गर्न दिने अवस्था छैन ।
जिल्लामा दुई किसिमका वन रहेकाले निकै ठूलो चुनौतिका रुपमा रहेको छ । डिभिजन वन कार्यालय अन्तरगत सामुदायिक वन र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती सामुदायिक वनमा यार्सागुम्बा पाइने गर्दछ ।
जिल्लाका नागरिकको मुख्य आर्थिक आम्दानीको स्रोत भएको कारण जिल्ला विपत व्यवस्थापन समितिले रोक्का गर्ने निर्णय गरेपनि वन र निकुञ्जसँग छलफल गरेर थप निर्णय गर्ने जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले बताए ।
जिल्लामा यार्सागुम्बा पाउने वनको करिब ७० प्रतिशत क्षेत्र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्दछ । निकुञ्ज र वनले भने आधिकारिक रुपमा आफ्ना धारणा बाहिर ल्याएका छैनन् ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको भूगोल ठूलो भएको र जनशक्ति कम भएकोले यार्सागुम्बा संकलनमा रोक लगाए पनि चोरी हुने खतरा भएका भने बढेको छ।
निकुञ्ज क्षेत्रमा मात्रै हरेक वर्ष सरदर १० हजार भन्दा धेरै मानिस यार्सागुम्बा संकलनमा जाने गर्दछन्। जिल्लामा यार्सागुम्बा संकलनमा रोक लगाए पनि चोरी हुने र स्थानीय मारमा पर्ने भन्दै केही स्थानीय तहले भने बन्द गर्न नहुने राय दिएका छन् ।
छिमेकी जिल्ला रुकुम,जाजरकोट,सल्यान,सुर्खेत,जुम्लाबाट हरेक वर्ष यार्सागुम्बा टिप्न आउने र आम्दानीको स्रोत बनाउनेको भने यस वर्ष सबै सपना चकनाचुर भएका छन् ।
कोरोनाले महामारीको रुप लिएको बेलामा यार्सागुम्बा संकलन खुल्ला गरे जुनसुकै बेलामा अप्रिय घटना घट्ने र ठूलो संकट आउने भन्दै जिल्ला विपत व्यवस्थापन समितिले रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
अघिल्ला वर्षमा जिल्ला बाहिरकालाई ३ हजार, जिल्ला भित्रकालाई २ हजार र निकुञ्जको कोर क्षेत्र र मध्यवर्ति क्षेत्रका बासिन्दालाई पाँच सय शुल्क लिएर यार्सागुम्बा संकलनमा प्रवेश अनुमति दिने गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !