व्यास नगरपालिकाले लकडाउनमा मासु पसल खोल्न दिने
दमौली : व्यास नगरपालिकाले लकडाउनमा पनि मासु पसल खोल्न दिने भएको छ । यसअघि लकडाउन लागू भएदेखि नै मासु पसल बन्द हुँदै आएका थिए । तर मासु व्यवसायीका प्रतिनिधिले तरकारी र आवश्यक खाद्यवस्तुसँगै मासु पसल पनि खोल्न दिन माग गरेपछि नगरपालिकाले बिहान तीन घण्टा खोल्न दिन लागेको हो ।
तर नगरपालिकाले यसका लागि केही शर्त राखेको छ । नगर उप प्रमुख मीरा जोशीका अनुसार आवश्यक सावधानी अपनाएर मात्र पसल खोल्न पाइनेछ । नगरपालिकाले व्यवसायीलाई जिल्ला भित्रका पशुपंक्षी मात्र उपयोग गर्न भनेको छ । हरेक दिन बिहान तीन घण्टा अन्य खाद्यान्नका पसलसरह खोल्न तर जिल्ला बाहिरबाट कुनै पनि पशुपंक्षी नल्याउन भनिएको जोशीले बताइन् । 'सावधानीपूर्वक सञ्चालन गर्दा जोखिम कम हुने र किसान तथा उपभोक्ता पनि लाभान्वित हुने भएकाले यसो गरेका हौं,' उनले भनिन् । मासु पसल सञ्चालनमा नआउँदा उपभोक्ताले व्यक्तिगत तवरमा काटिएका सहर आसपासका क्षेत्रबाट लुकिछिपि मासु उपभोग गर्दै आइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !