लकडाउनमा १४ सयजना गोरखा भित्रिए
गोरखा : लकडाउनका कारण काठमाडौं, पोखरा र चितवनमा थुनिएकामध्ये १४ सयजना घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालयमा आइतबार सम्पन्न सर्वदलीय बैठकको निर्णाय अनुसार पालिकाहरूले उनीहरुको उद्धार गरेका हुन् ।
गोरखा नगरपालिका कार्यालयले एकसय एकजना, पालुङटार नगरपालिकाले दुईसय २९ जना, अजीरकोट गाउँपालिकाले तीनसय ५६ जना, आरुघाट गाउँपालिकाले दुईसय छजना र भीमसेन थापा गाउँपालिकाले पाँचसय जनाको उद्धार गरी ल्याएको जनाएका छन् ।
पालुङटार नगरपालिका, अजीरकोट गाउँपालिका र आरुघाट गाउँपालिकाले सोमबार उनीहरुको उद्धार गरेका हुन् भने गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाले केही दिनअघि नै घर फर्काएको जनाएका छन् ।
सोमबार पालुङटार नगरपालिकाले छ वटा बसमा दुईसय २९ जनाको उद्धार गरेको मेयर दीपकबाबु कँडेलले जानकारी दिए । त्यस्तै अजीरकोट गाउँपालिकाले नौ वटा बसमा यात्रु ल्याएको अध्यक्ष फणिन्द्र धितालले बताए । गण्डकी गाउँपालिकाले चितवनबाट ८३ जना र पोखराबाट एकसय २३ जनाको उद्धार गरी ल्याएको जनाएको छ ।
गोरखा नगरपालिकाले तीनवटा बसमा एकसय एकजना र भीमसेन थापा गाउँपालिकाले १० वटा बसमा पाँचसय जनाको उद्धार गरेको पालिकाका प्रमुखहरुले जानकारी दिए ।
गाउँका बासिन्दा उद्धार गर्न सिरानचोक, बारपाक सुलीकोट, आरुघाट र शहीद लखन गाउँपालिकाको बस भने काठमाडौं प्रवेश गर्न नपाएर राजमार्गमै रोकिएको गाउँपालिकाका प्रमुखहरुले जनाए । आफूले पठाएको ११ वटा बस काठमाडौं छिर्न नपाएको सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङले बताए । ‘ग्रिनसिटी अस्पतालमा स्वास्थ्य चेकजाँच गरी बस चढाएर ल्याउन तयार गरेका थियौँ, तर धादिङको प्रहरीले बस अघि बढ्दै दिएन’, गुरुङले भने, ‘जिल्ला प्रशासन कार्यालयले विधिवत रुपमा ल्याउनका लागि वातावरण बनाए पनि प्रहरीले रोक्यो ।’
त्यस्तै गाउँ फर्कन तयार भएका दुईसय ७८ जना काठमाडौंमै थुनिएका बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले बताए । यात्रु लिनका लागि पठाइएको तीनवटा बसलाई प्रहरीले बाटोमै रोकेको शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापाले बताए ।
गाउँ फर्कन तयार भएर बसेका चुमनुब्री गाउँपालिकाका एकसय ३० जना र आरुघाट गाउँपालिकाका तीनसय जना पनि फेरि काठमाडौंमै थुनिएका गाउँपालिकाका प्रमुखहरुले जानकारी दिए ।
शहीद लखन, गण्डकी र धार्चेले भने गाउँ फर्कन चाहनेको तथ्यांक संकलन गर्ने क्रममा नै रहेको बताएका छन् । सोमबार गृहमन्त्रालयले लकडाउन कडा गर्ने निर्णय गरेपछि लामो समयदेखि काठमाडौँमा समस्यामा परेका गोरखाबासीलाई उद्धार गरौँ भन्ने योजना अघि बढाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘काठमाडौंलगायतका जिल्लामा समस्यामा परिरहेकालाई घर फर्काउने बारे सर्वदलीय, सर्व पक्षीय बैठकले निर्णय पनि गरेका थियौं । फर्कने मापदण्ड पनि बनाएका थियौं, तर गृहमन्त्रालयको सोमबारको निर्णयले हामी उहाँहरुलाई उद्धार गर्न सफल भएनौं’, प्रजिअ पौडेलले भने ।
प्रतिक्रिया दिनुहोस !