पोखरामा रहेका ६९ पर्यटकलाई काठमाडौँ ल्याइयो
पोखरा : पोखरामा रहेका ६९ युरोपीयन पर्यटकलाई बिहीबार पर्यटक बसमा काठमाडौं पठाइएको छ। काठमाडौंबाट जर्मनका लागि शनिबार हुने चार्टड उडानमा घर फर्कन चाहने युरोपीयन पर्यटकलाई स्वीस दूतावासको पहलमा पोखराबाट काठमाडौं लगिएको पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख गणेश खनालले जानकारी दिए।
फ्रान्स दूतावासले नेपालमा रहेका आफ्ना र युरोपीयन नागरिकलाई घर फर्काउन चार्टड प्लेनको व्यवस्था मिलाएको हो। काठमाडौं जानु अघि सबै पर्यटकको स्वास्थ्य जाँच गरिनुको साथै सबैलाई मास्क र सेनिटाइजर उपलब्ध गराएको पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख खनालले जानकारी दिए।
यसरी घर फर्कन काठमाडौं जाने पर्यटकमा सबैभन्दा धेरै जर्मन त्यसपछि फ्रान्स, पोल्याण्ड, स्वीटजरल्याण्ड लगायतका देशका पर्यटक रहेका छन्। पर्यटकलाई तीन पर्यटक बसमा काठमाडौं लगिएको हो। काठमाडौंबाट शनिबार १ सय २० पर्यटक लिएर चार्टड प्लेन उड्ने बताइएको छ।
लकडाउनका अवधिमा पोखराबाट अहिलेसम्म ९ सय ३० भन्दा बढी पर्यटकलाई पटक पटक चार्टड प्लेन र पर्यटक बसमा उद्धार गरेर काठमाडौं लगिसकिएको खानलले जानकारी दिए।
अन्नपूर्ण पदयात्रा, धौलागिरी र मनास्लु लगायतका पदयात्रा क्षेत्रमा रहेका पर्यटकलाई पनि उद्धार गरेर घर फर्कन चाहने पर्यटकलाई काठमाडौं पठाइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ।
पोखरामा अझै पनि तीन सय बढी पर्यटक रहेको अनुमान गरिएको छ। बिहीरा ६९ जना पर्यटक काठमाडौं पठाउनु अघिसम्म पर्यटक कार्यालय पोखराले संकलन गरेको पर्यटकको पछिल्लो तथ्याङ्कमा ३ सय ३३ पर्यटक पोखरामा रहेको पाइएको थियो।
पोखरामा अझै पनि युरोपीयन, अमेरिकन, जर्मन, फ्रान्स, चिनियाँ लगायतका देशका पर्यटक रहेको रेवान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए। आफ्नो देशमा भन्दा नेपालमै सुरक्षित रहेको बताउँदै यही रहन चाहेको पर्यटकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !