विकास निर्माणको कामलाई सहज बनाउँदै जिल्ला प्रशासन
गोरखा : लकडाउनका बेला विकास निर्माणको काम सुचारु गर्न प्रशासन कार्यालयले वातावरण सहज बनाएको छ । आयोजना सञ्चालनका लागि आवश्यक सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन बिहिबार सम्पन्न बैठकले थप दुई बुँदे निर्णय गरेको छ ।
विकास निर्माणको कामलाई थप व्यवस्थित गर्न योजना सञ्चालन गर्ने कार्यालय र सम्बन्धित पालिकाको सिफारिसको आधारमा सवारी पास जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।
त्यस्तै निर्माण सामग्री (हार्डवेयर) का व्यवसायीले गोदाममा मौजुदा सामग्री विक्री गरिसकेपछि थप ओसार पसारका लागि सहज वातावरण बनाउने पनि निर्णय भएको छ ।
गोरखा उद्योग वाणिज्य संघ र गोरखा च्याम्बर अफ कमर्शको सिफारिसको आधारमा निर्माण सामग्री ओसारपसारका लागि पटके पास जारी गर्ने निर्णय भएको प्रशासकीय अधिकृत रोकाले जानकारी दिए ।
यसअघि योजना सञ्चालन गर्ने कार्यालयको सिफारिसको आधारमा मात्र सवारी पास जारी गर्ने निर्णय भएको थियो । सो व्यवस्थाले सवारीसाधनको दुरुपयोग हुनसक्ने सम्भावना देखी सम्बन्धित पालिकाको सिफारिस समेत माग गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
सो निर्णयले निर्माण व्यवसायीलाई काम सुचारु गर्न सहज वातावरण बनाउने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !