गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
![गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य](https://annapurnapost.prixacdn.net/media/albums/Gandaki_pradesh__pokhara_20180708150511_wzRIuWDeQS.jpg)
पोखरा : गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ। अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय प्रदेश सरकारको मन्त्रिपरिषदले मंगलबारै गरेको हो।
अधिवेशन अन्त्यको सिफारिस लिएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली प्रदेश प्रमुख अमिक शेरचनकहाँ पुगेको थियो। ‘आजै राति १२ बजेदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ’, मुख्यमन्त्री गुरुङले मंगलबार बेलुका फेसबुक लाइभमा भने।
गण्डकी प्रदेशको हिउँदे अधिवेशन २३ पुसमा सुरु भएको थियो। गएको चैत ६ गते डाकिएको बैठक सूचना टाँसेर स्थगित भएयता अर्काे बैठक बस्न नपाउँदै अधिवेशन अन्त्य भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय लगातार संसद अवरुद्ध गर्दै आएको थियो ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले केही अस्पतालहरुको नामबाट अञ्चल शब्द हटाउने निर्णय गरेको छ। धौलागिरी अञ्चल अस्पताल र गण्डकी अञ्चल आयुर्वेदिक अस्पतालबाट उक्त शब्द हटाइ नामकरण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।
गण्डकी सरकारले अस्पतालहरुको वर्गीकरण गरी प्रादेशिक, उपप्रादेशिक र जिल्ला अस्पताल मापदण्ड बनाउने नीति अख्तियार गर्ने जानकारी मुख्यमन्त्रीले दिएका छन्। ‘ती अस्पतालको भौतिक पूर्वाधार कस्तो हुने, जनशक्ति कस्तो हुने, उपकरण कस्तो हुने भन्ने मापदण्ड बनाउँछौं’, मुख्यमन्त्रीले भने।
कोभिड१९ कारण मृत्यु हुनेको शव व्यवस्थापन सम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेको छ। आर्थिक सहायता सम्बन्धी कार्यविधि पनि मन्त्रिपरिषदले पारित गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)