दादुरा फैलिएको क्षेत्रका बालबालिका खोपबाट वञ्चित
गोरखा : दादुराको महामारी फैलिएको धादिङ र गोरखाका चेपाङ समुदाय नियमित खोपबाट वञ्चित रहेको पाइएको छ । महामारीबाट मरेकी २९ महिनाकी अनिशा चेपाङ, आठ महिनाका अर्का बच्चा र संक्रमित धादिङका १६० तथा गोरखाका आठ जनाभन्दा चेपाङ समुदाय कसैले पनि दादुराको खोप नलगाएको बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख शंकर दुवाडीले जानकारी दिए ।
‘बेनिघाट रोराङ गाउँपालिका वडा नं. ६ को सल्लेडाँडा, रोतेस, भूमेडाँडा र गुम्राङ, जहाँ महामारी फैलियो त्यहाँका सबैजनाले नियमित खोप नलगाएको पाइयो’, स्वास्थ्य शाखाकी सीता शाक्यले भनिन्, ‘अहिले खोपकेन्द्र स्यादुलमा छ । स्यादुल पुग्न त्यहाँका मान्छेलाई तीनघण्टा लाग्छ । अत्याधिक टाढा भएकाले आमाहरु बच्चा लिएर खोप लगाउन नगएको पायौं ।’ यसअघि साबिक धुसा गाविस हुँदा खोपकेन्द्र बिदाङमा रहेको र बिदाङ पुग्न चारपाँच घण्टा लाग्ने भएकाले सो क्षेत्रका सबैजना नेपाल सरकारको नियमित खोप अभियानबाट वञ्चित भएको उनले बताए ।
दादुराको महामारी भएपछि सञ्चालन गरिएको खोप अभियानमा पनि आमाहरु खोप नलगाइ बच्चा बोकेर भाग्ने गरेको स्यादुल सामुदायिक स्वास्थ्य इकाइकी सुमना गुरुङ बताउँछिन् । ‘अहिले घरघरै जाँदा त कति आमाहरु बच्चा बोकेर भाग्नुभयो । हामीले फेरि बोलाएर फकाइफुल्याइ गरेर लगायौं’, उनले भनिन्, ‘कोही बच्चा रुन्छ, मर्छ भनेर सुइ लगाउन नमान्ने, कोही श्रीमानले गाली गर्छन् भनेर सुइ नलगाउने रहेछन् । कोहीचाहिँ मेलापात जानुपर्छ भनेर सुइ लगाउन नजाने रहेछन् ।’
महामारी फैलिएपछि गत चैत एकगतेदेखि नौ गतेसम्म र हालै बैशाख २० गतेदेखि २२ गतेसम्म खोप अभियान सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाकी सीता शाक्यले जानकारी दिइन् । अभियानमा ११ हजार १५४ जनालाई लगाउने लक्ष्य राखिएकोमा ११ हजार ३९८ जनालाई लगाइएको उनले बताइन् ।
अहिले महामारी फैलिरहेको गोरखाको गण्डकी गाउँपालिका ७ क्षेत्रीखोलाका पाँच र हुइलिङका तीन जनाले पनि नियमित खोप नलगाएको पाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बेलीमाया श्रेष्ठ बताउँछिन् । ‘यी सबैको रेकर्ड हेर्दा कसैले पनि नियमित खोप लगाएको देखिएन’, उनले भनिन्, ‘अहिले वडा नं. ७ र ८ साबिक घ्याल्चोकको एउटै वडामा थियो । त्यतिबेला खोपकेन्द्र ज्यामिरघाटमा थियो । यहाँका मान्छेलाई ज्यामिरघाट पुग्न धेरै टाढा छ । त्यसैले लगाएनन् । अहिले प्रजाबस्ती सामुदायिक स्वास्थ्य इकाइमा खोपकेन्द्र छ, तैपनि चेतनाको अभावमा आमाहरु बच्चालाई खोप नलगाएको पाइयो ।’ अब शुक्रबारदेखि नियमित खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको उनले बताइन् ।
नौ महिना र पन्ध्र महिना पूरा भएपछि दादुराको खोप लगाउने गरिन्छ । दादुरा उन्मुलन गर्ने लक्ष्यका साथ बेलाबेला दादुरा र रुबेलाको खोप अभियान पनि सञ्चालन गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !