अत्यावश्यक भन्दै रक्सी ढुवानी गर्ने भन्छन् : ‘सीडिओको अनुमति’
दमौली : अत्यावश्यक भन्दै रक्सी ढुवानी गर्ने दुई ट्रक बुधबार राती दमौलीबाट नियन्त्रणमा लिइएको छ । रातको समयमा अवैध सामान आयात भइरहेको दाबी गर्दै व्यापारीले थालेको गस्तीका क्रममा अत्यावश्यक भन्दै ढुवानी गरिरहेको दुई ट्रक मदिरा दमौली बजार भित्र्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले बुधबार रातीबाट रातभर राजमार्गमा निगरानी बढाएको थियो । त्यसक्रममा आँबुखैरेनीस्थित सूर्य ब्लेण्डर्स प्रालिबाट दमौली र दुलेगौंडाका लागि पठाइएको रक्सीको गाडि नियन्त्रणमा लिइएको एकाई सभापति राजकुमार श्रेष्ठ राकुले बताए । ‘अत्यावश्यक बाहेकका ढुवानी रोकिएको भने पनि अवैध रुपमा तरकारी र अन्य वस्तुको आयात भएको गुनासोपछि गस्ती गर्दा ट्रक नियन्त्रणमा लिएका हौं,’ उनले भने ।
व्यवसायीले सोही अवधिमा सीमा क्षेत्रबाट आयात गरिएको तरकारी र फलफूलका तीन ट्रक नियन्त्रणमा लिएका हुन् । ‘भारत र सीमा क्षेत्रबाट पनि तरकारी आउन थालेपछि मानव स्वास्थ्य नै खतरामा पर्न थाल्यो,’ सभापति श्रेष्ठले भने, ‘प्रशासनले नरोकेपछि कारवाही थालेका हौं ।’
सरकारले अत्यावश्यक खाद्यान्न र तरकारीलगायत कृषि उपज ढुवानीमा अनुमति दिए पनि रक्सी आयात हुनुलाई आश्चर्यका रुपमा लिइएको छ । राती करिब तीन बजे नियन्त्रणमा परेका रक्सी आयात गरिएको ग १ क २४७९ नम्बरको ट्रकका चालकले आफूलाई सीडिओले अनुमति दिएको दाबी गरेका थिए । प्रशासनले अनुमति दिएको दाबी गर्दै बिलसमेत देखाएका चालकको भनाइपछि व्यास नगरपालिकाले प्रशासनको उपस्थितिमा छलफल डाकेको थियो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले सरकारले कृषि उपज आयातमा प्रतिबन्ध नलगाएकाले अनुमति दिए पनि मदिरा आयातमा अनुमति नदिएको बताए । ‘सरकारले कृषि उपजमा रोक लगाएको छैन,’ उनले भने,‘त्यसैले अनुमति दिइएको छ । तर आवश्यक परे त्यसमा पनि अब रोक लगाउँछौं ।’ उनले अब सीमा क्षेत्रबाट आउने तरकारी पनि आयात गर्न नदिइने बताए ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अहिलेसम्म सुरक्षित भए पनि अब जिल्लामा सतर्कता नअपनाउने हो भने अवस्था डरलाग्दो हुन सक्ने बताए । व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले आफूहरुले जति कडाई गरे पनि प्रशासनबाट सहयोग नभएको भन्दै अब केही दिन तरकारी बजार नै बन्द गर्ने अवस्थामा पुगेको बताए । ‘मानिसको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने,‘त्यसका लागि स्थानीय बाहेकका तरकारी बिक्रीमा प्रतिबन्ध लगाउँछौं ।’
व्यवसायीले यसअघि बुधबार पनि सीमा क्षेत्रबाट तरकारी बोकेर आएका तीन ट्रक नियन्त्रणमा लिएका थिए । प्रशासनले ती सबै साधनलाई सामान अनलोड गर्न नदिएर फिर्ता पठाएको छ ।
प्रतिक्रिया दिनुहोस !