बहुभाषी नेपालमा कोभिडको भाषा
काठमाडौंको रत्नपार्कका ज्याकारान्डाका रुखमा टाँगिएका ‘बिना आपरेशन बवासिर, हाइड्रासिलके ईलाज’ विज्ञापन पढी पढी हुर्केको पिँढी भएको कारणले अनुवादित शब्द एवं आगन्तुक शब्दमा पहिलेदेखि आकर्षण रह्यो। यसबीच टेलिभिजनमा भद्दा तवरले उल्था गरी प्रसारित हिन्दी विज्ञापनहरूबाट आजित भइरहँदा हाम्रा भाषाविद्हरू को, कहाँ छन्, के गर्दैछन् भन्ने जिज्ञासा मनमा च्याउसरि फुत्तफुत्त नपलाएको होइन।
चीनमा कोरोना संक्रमित केस पहिलोपल्ट देखिएको नोभेम्बर १७ को दिनलाई मानक मान्ने हो भने पनि ५ महिनाभन्दा बढी भइसक्यो। लकडाउनमा थुनिन थालेकै पनि डेढ महिना भइसक्यो। अँ, लकडाउन भन्ने शब्द उल्लेख गर्दा यसबीच कति धेरै अंग्रेजी शब्द हामीले दिनानुदिन सुन्यौँ, पढ्यौँ। दूरदराजका मानिसहरूले ती शब्द कति बुझे, कति बुझेनन् त्यसको लेखाजोखा राख्ने नै गरिएन। केही समयदेखि निरन्तरमा आएका यी अंग्रेजी शब्दप्रति स्थानीयहरूले कसरी रियाक्ट गरिरहेका छन् भन्ने प्रसंग टेलिभिजनमा प्रत्यक्ष प्रसारणकै स्टाइलमा प्रस्तुत गर्दैछु।
‘भाय् मस्यु, छु लकदाउन धागु ?’ (नेपाल भाषा) (भाषा बुझ्दिनँ, के हो लकडाउन भनेको ?)
मुजा मुजा परेको अनुहार, सिउँदोमा सिन्दूर अनि निधारमा परैबाट टक्कै देखिने रातो टीका लगाएकी, छिर्केबिर्के चोलो अनि हाकुपटासीमा सजिएकी उमेरमा त्यस्तै असी नाघ्न लागेकी मंगल लक्ष्मी नेपाली भाषा त कनिकुथी बुझ्छिन् भने अंग्रेजी शब्द त आकाशको फल भइहाल्यो नि। मनहरावारि निवासी मंगल लक्ष्मी बिस्का मान्न नपाएको सुर्ता गर्दै बस्दा मनहरापारिकै सनसिटी एपार्टमेन्टमा बस्ने एक परिवारका तीनजनामा आरडीटी पोजिटिभ आयो भन्ने खबरले रनभुल्लमा परेकी छिन्। आरडीटी, पोजिटिभ निस्क्यो भन्ने शब्दहरूलाई अथ्र्याउन नसकेकी मंगल लक्ष्मीले थ्रोट स्वाब लिई पीसीआर टेस्ट गराई संक्रमण निक्र्यौल गर्नुपर्छ भन्ने सुन्दा उनले के, कति बुझिन् होला दैव जानून्।
क्यू आर ६५२ बाट दोहा हुँदै फ्रान्सबाट फर्केकी काठमाडौंकी १९ वर्षिया किशोरीमा कोरोना संक्रमण देखिएपछि नेपाल पनि आधिकारिक रूपमा संक्रमित देशको सूचीमा दरियो। त्यसो त यसअघि कोरोना संक्रमणको मुहान थलो वुहानबाट फर्केका एक नेपाली विद्यार्थी टेकुमा उपचाररत छँदा कोभिड–१९ को वास्तविक न्वारान नै भइसकेको थिएन भने समयक्रममा कोरोना संक्रमणले विश्वभर यस्तो ताण्डव मच्चाउलान् भनेर निकै कमले मात्र अनुमान लगाए होलान्। यस अर्थमा उक्त १९ वर्षे किशोरीलाई क्रिकेटको भाषामा ओपनर ब्याट्सम्यान मान्नुपर्ने हुन्छ।
बहुभाषी नेपालमा विभिन्न मातृभाषी समुदायले यो कोभिड महामारीबारेका बग्रेल्ती नयाँ शब्दलाई कसरी लिइरहेका छन् ? भाषा र सूचनाको यो महामारी !
यही केस भेट्टिएको भोलिपल्टैबाट (चैत ११ गते) त हो नि नेपालमा पनि लकडाउन थालेको। त्यसपछि त लकडाउनको असर नपरेको ठाउँ नै, विषय नै रहेन। कतिपयका जिन्दगीमा यसको असर जिउमा टाट्यु खोप्यासरि भयो। पिथौरागढलगायत नेपालका पश्चिमी सीमा क्षेत्र जोडिएका भारतीय भूभागबाट फर्किएका नेपाली झुलाघाट, धारचुलास्थित सीमामै रोकिए। महाकालीपारि आफ्नै आँगननेर आइपुगेका नेपालीहरूको चीत्कार सिंहदरबारले सुन्नै चाहेन। बिसु पर्वलाई भनेर गाउँ फिरेकामध्येका एक पात्र बिर्खे धामीको एक चीत्कार–
‘क्या हो लकडाउन भण्या, मलाई त थाहा नइथी ? नेपाल बन्द जसोइ हो भणे बसाइतक महाकाली पुल खुलि त जाली। क्वारेन्टाइन भण्यापन भानै थि। आफनाइ ठाउँमी थुनिवर राख्दे भण्यात हो लो। बरु त्यो ठिकै लाग्यो हो मलाई त, यिन भारताड पुलिसको अत्याचार भण्णा त’ (डोट्याली भाषा) (के हो त्यो लकडाउन भनेको, मलाई थाहा छैन ? नेपाल बन्द जस्तै हो भने साँझ ५ बजेपछि त महाकाली पुल खुलिदेऊ न हौ। क्वारेन्टाइन भनेको पनि थाहा छैन। आफ्नै ठाउँमा थुनेर राख्ने भनेको होला नि। बरु त्यो ठीक लाग्यो मलाई त, यो भारतको पुलिसको अत्याचार भन्दा त।)
त्यसमाथि नेपालको दक्षिण–पश्चिम सीमा गड्डाचौकी भएर छिरेका नेपालीमध्ये एकैदिन तीन जनामा संक्रमण प्रमाणित भएपछि सिंहदरबारिया निकै कठोर बने। यस्तोमा सूदुर पश्चिमेली नेपालीहरूका प्रतिनिधि पात्र बिर्खे धामीको रोइलोको के मूल्य छ र ?
काठमाडौं, धादिङ, सुदूर पश्चिमकै सेरोफेरोमा कोरोना संक्रमित भेट्टिइरहँदा बाग्लुङबाट दिलु मगरको निराशापूर्ण स्वर सुनियो। ‘पीपीई सेट, भीटिएम घालिङ थोरै ले ट। शंका लेच्यो बिरामीको के अस्पताल आल्के एम्बुलेन्स मालेनाङ ढिलो छान्मोमा ट। इसै पीपीई सीपीई डेच्यो काट्दा न मबुझिसा। इसै कोेर्नाए कानुङ इमलाङ्घा न बिरिट्मो यहाँ।’ (खण्डलुक मगर भाषा) (पीपीई सेट, भीटिएम पनि कम छ रे। शंकास्पद बिरामीलाई अस्पतालसम्म लान एम्बुलेन्स नभएर ढिलो भइरहेको छ रे। यी पीपीई, सीपीई भनेको बुझे मरिजाऊँ ? यो कोर्नाले हाम्रो थातथलो पनि डरमर नै भयो।)
बाग्लुङसम्मका घटना खेस्राखेस्री गर्दै रहँदा पृष्ठभूमिमा इन्डियन न्युज च्यानलहरूमा दिल्लीमा तबलिगी जमात र दिल्ली पुलिसको रस्साकस्सी प्रत्यक्ष प्रसारण भइरहेको थियो। यसबीचमा तबलिगी जमात भनेको घर छोडेर हिँड्ने मुस्लिम समुदाय हो, बौद्ध धर्मका भिक्षु अनि हिन्दूहरूको जोगी जस्तै, यस्तो जमातमा हिँडेका बेला उनीहरू बस्ने ठाउँ मस्जिद नै हो भनेर मैले अर्धाङ्गिनीलाई बुझाउँदै गर्दाको पर्सिपल्ट त हो नि वीरगन्जकी जाहिरा खातुनले रुन्चे स्वरमा भन्दै गरेकी ‘जामे मस्जिदमे रहल कुछ जमाती लोगमे कोर्ना दिखाइ देलेबा। अभी सभी जमातके ट्राभल हिस्ट्री के खोजी होरहलबा। सभीके कन्ट्याक ट्रेसिङ करेके जरुरी बा।’ (भोजपुरी भाषा) (जामे मस्जिदमा रहेका जमातीहरूमा कोर्ना देखियो रे। तिनीहरूको ट्राभल हिस्ट्री खोतल्दै छन् रे। तिनीहरूको कन्ट्याक ट्रेसिङ गर्नु पर्छ रे।)
प्रसङ्ग थियो, चैत ३० गतेको। वीरगन्ज, छपकैयास्थित मस्जिदमा निकै दिनअघि देखि रहिरहेका तीन जना भारतीयहरूको स्याम्पलमा पनि पोजिटिभ प्रमाणित भएपछि वीरगन्ज आसपासमा पनि कोरोना संक्रमण भित्रिएको घटनाले मात्र होइन, अबको दुई हप्तामा सुरु हुने रमजान पर्वका कारण पनि रुन्चे स्वरमा फत्फताउँदै थिइन् जाहिरा खातुन।
विचार, भावना, कल्पना, जिज्ञासा आदान प्रदान गर्ने सन्दर्भमा, आपसी संवादमा भाषाको महत्वबारे त्यति सारो बुझाइ राख्नु पर्दैन होला। भाषाकै कुरा गर्दा राष्ट्रिय तवरमा बोलिने भाषा भन्दा मातृभाषामा बिछट्टै मिठास छ। जो कोहीलाई आफ्नो भाषाप्रति गर्व हुनुको कारण यही होला। नेपालमा कति जातजाति, कति भाषाभाषी छन् भन्ने मेरो जिज्ञासा लेखक मोहन मैनाली यसरी मेटाउँछन्, ‘नेपालमा १२५ त जातजाति नै छन्, त्यसमध्ये १२३ भाषा बोलिन्छन् पनि।’ सुन्नमा आएसम्म मगर नै १८ भन्दा बढी थरी छन्। राई जातिभित्र २८ भाषिक समुदाय छन्।
भक्तपुरका नेवारले बोल्ने नेवार भाषा काठमाडौँका नेवारले बुझ्न गाह्रो साह्रो छ। यिनीहरूले बोल्ने नेवार भाषा पूर्वी नेपालका नेवारहरूले पटक्कै बुझ्दैनन्। एकछिन है उदयपुरबाट सेतो कुर्ता अनि सेतै धोतीमाथि खेरौ वेस्टकोट लगाएका हर्क राईको दुखेसो छ, ‘भुल्केमो मस्जिद तोदानी मिहिङेको मिनिदा आरडीटी पोजिटिभ दाता। त्यानाका कम्युनिटी ट्रान्समिसन तिराको बो मिरिङाङासे। त्योसो नाखो नेपालदा कोरोना संक्रमण थर्ड स्टेजदा छुद् मिरिङे।
त्योसो नाखो आसो इपिडेमिक हैदा ङो तिरे, थोलो। निम्दुङमो बाढीवा पुनी पुङ्गा पाचापिनाको इबुलिम् कोरोनावा पुद्यो, बो दोसो थोलो ?’ (चाम्लिङ राई भाषा) (भुल्केको मस्जिद वरिपरिका बासिन्दामा आरडीटी पोजिटिभ देखिएबाट कम्युनिटी ट्रान्समिसन भयो कि भन्ने आशंका छ। यस्तो भयो भने नेपालमा कोरोना संक्रमण थर्ड स्टेजमा पुग्छ रे। त्यसपछि इपिडेमिक हुन धेरै बेर लाग्दैन रे, हउ। पोहोरको बाढीले नलगेको ज्यान कोरोनाले लान्छ कि क्या हउ ?)
अँ, म भाषाबारे पनि केही भन्दै थिएँ। कोरोना भाइरसको बनावट मुकुट अर्थात् बुर्जा जस्तो भएको कारण कोरोना नामकरण गरिएको वास्तविकता छ। कोरोना भाइरसको न्वारान अंग्रेजीमा क्राउन भाइरस नभनीकन ल्याटिन भाषाबाट कोरोना राखिएको थाहा पाउँदा अंग्रेजी भाषालाई पनि शब्दको खडेरी पर्दोरहेछ। त्यसैले त परापूर्वकालदेखि फुत्तुफुत्तु ल्याटिन एवं ग्रिक भाषाबाट शब्द लिँदो हो। हामीले अंग्रेजी शब्द प्रयोग गर्नैहुन्न भन्ने होइन। मास्कलाई मुखौटो, मुख लँगौटी वा अन्य के भन्ने भनेर बेतुकको माथापच्ची गरिरहँदा कतै हामी मास्क भन्नमै अभ्यस्त भइसक्यौँ कि ?
नेपालका विभिन्न ठाउँबाट कोरोनासम्बन्धी भर्चुअल प्रसारणबाट बिट मार्नुअघि नेपालगन्जका लछुमन थारुको फ्रेस रिपोर्टिङ एउटा लिऊँ है, ‘नेपालगन्जमँ फे कोरोनाके बेरम्ह्या डेख्पर्ल हुँ। अट्वारक ट १५ से ढ्यार जहनम कोरोना डेख्परल् कठ। कम्युनिटी ट्रान्समिसन हुइल् कठ। थर्ड स्टेजमँ पुगल् कहठ्। डक्टर्वा नर्सहुँक्रकेल लगैटि रलक मास्क कना का चिज हो लगैटि ट बाटुँ, का हो का हो कुछ बुझ निसेक्गैल्।’ (डगौरा थारु भाषा) (नेपालगन्जमा पनि कोरोनाको मरिज देखियो रे। आइतबार त १५ भन्दा बढीमा कोरोना देखियो भन्छ। कम्युनिटी ट्रान्समिसन भयो भन्छ। थर्ड स्टेजमा पुग्यो भन्छ। त्यो डाक्टर नर्सले मात्र लगाउने गरेको मास्क भन्ने के जाति त लगाइरहेकै छु, के हो के हो बुझ्न सकिएन।)
भाषाबारे गम्भीर हुनु पनि पर्छ, हुनु पनि पर्दैन। गम्भीर यस अर्थमा हुनुपर्छ कि भाषा बाँचे जाति बाँच्छ, जाति बाँचे देश अर्थात् भाषा हराए राष्ट्रियता पनि हराउन सक्छ। त्यति सारो गम्भीर पनि हुनु हुँदैन किनकि ट्वीटरको भाषामा नेपाली भन्दा कतिपय नेफोली शब्दहरू एक, दुई पटक प्रयोग गर्दामा मिठास नै होला। कोरोना कोर्स कतिसम्म लम्बिने हो केही निश्चित छैन, स्वास्थ्यकर्मीको नाताले कोरोनापूर्व अवस्थामा फर्किन कम्तीमा एक वर्ष लाग्छ, त्यो पनि बीच्चबीच्चमा कोरोनाको सन्त्रास खेप्दै। अतः लकडाउनको बन्दी जीवन खुकुलो बनाउँदै लाने योजनासँगै कोरोनासँग जोडिएर आएका अंग्रेजी प्राविधिक शब्दलाई पनि नेपालीकरण गर्दै जाने बेला भयो कि ?
(हेमन्त विवश (डोटी), मीनराज बसन्त (बाग्लुङ), केशु खण्डलुक मगर (पाल्पा), रिशब शर्मा (वीरगन्ज), आनन्द राई, तिलक चाम्लिङ राई (हलेसी, खोटाङ), खगेन्द्र गिरी कोपिला (नेपालगन्ज) को सहयोगमा।)