कोरोना फैलिएको भन्दै फेसबुकबाट अफवाह फैलाउने पक्राउ
दमौली : फेसबुकबाट अफवाह फैलाउने एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । दमौलीका तीन जनालाई कोभिड देखिएको पुष्टि भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर फैलाउने व्यास २ बस्दै आएका तेह्रथुम म्याङलुङ्ग नगरपालिका-७ नागदहका नवराज ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले गरेको पोष्टमा दमौलीका एक तरकारी व्यापारी र दुई किराना व्यापारीलाई कोरोना पोजिटिभ देखिएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको उल्लेख थियो । केही समयभित्रै सामाजिक सञ्जालमा भाइरल भएको पोष्टका कारण तनहुँ जिल्लाभर आतंक फैलिएको थियो । साथै ढुंगानाले पोखरीभञ्ज्याङमा कोरोना एक व्यक्तिमा देखा परेको विषयसमेत सार्वजनिक गरेका थिए ।
शनिबार प्रहरी नियन्त्रणमा परेका उनीविरुद्ध आइतबार तनहुँ अदालतमा अफवाह फैलाएको भन्दै मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए। यस घटनामा अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतले १० को म्याद दिएको छ ।
प्रतिक्रिया दिनुहोस !