गण्डकी प्रदेश सभाको अधिवेशन जेठ ११ मा
![गण्डकी प्रदेश सभाको अधिवेशन जेठ ११ मा](https://annapurnapost.prixacdn.net/media/albums/Gandaki-cm-ps-gurung_20200517162109_NNzS8HWcBz.jpg)
पोखरा : गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आउँदो ११ गते सुरु हुने भएको छ। प्रदेश मन्त्रिपरिषदको आइतबारको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका छन्।
‘अहिलेको भवनमा सामाजिक दुरी कायम गर्न नसकिने भएकाले पोखरा सभागृहमा सञ्चालन गर्ने गरी त्यहाँको वस्तुगत अवस्थिति अवलोकन गर्यौं’, मुख्यमन्त्रीले आइतबार बेलुकी आफ्नो फेसबुक लाइभमा भने। प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा लगायतको टोली मुख्यमन्त्रीसँग पोखरा सभागृह अवलोकनका लागि पुगेको थियो। १० जेठभित्र पोखरा सभागृहमा आवश्यक मर्मत गरिने पनि मुख्यमन्त्रीले जनाएका छन्।
अबको प्रदेश सभा अधिवेशनमा प्रदेश सरकारले नीति तथा कार्यक्रम र आगामी वर्षका लागि बजेटसमेत पेस गर्नेछ। त्यसका लागि मुख्यमन्त्री गुरुङले आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल, प्रमुख सचेतक मणिभद्र शर्मा, सचेतक ओमकला चालिसे गौतम, सांसदहरु ललितकला गुरुङ र विन्दुकुमार थापासमेतसँग छलफल गरी सुझाव मागेका थिए। आगामी बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सहमति गरेर अगाडि बढ्ने मुख्यमन्त्रीले सुनाए।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २३ वैशाख मंगलबारदेखि अन्त्य भएको थियो। हिउँदे अधिवेशन २३ पुसमा सुरु भएको थियो। चैत ६ गते डाकिएको बैठक सूचना टाँसेर स्थगित भएपछि अर्काे बैठक बस्न नपाउँदै अधिवेशन अन्त्य भएको थियो। लकडाउनका कारण प्रदेश सभा बस्न सकेको थिएन।
मन्त्रिपरिषद बैठकले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई एक÷एकवटा गाडी खरिदका लागि बजेट उपलब्ध गराउने निर्णय पनि आइतबार गरेको मुख्यमन्त्री गुरुङले सुनाए। तनहुँको शुक्लागण्डकी र त्रिवेणी शवदाहगृहका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि संघ सरकारलाई सिफारिस गर्ने मन्त्रिपरिषदले आइतबार गरेको अर्को निर्णय हो।
गण्डकी विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ। यसबारेमा विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङसहितसँग मुख्यमन्त्रीले आइतबार छलफल गरेका थिए। त्यसका लागि २ वटा ठाउँ उपयुक्त देखिएको मुख्यमन्त्रीले जनाएका छन्।
विश्वविद्यालय गठनको कानुन यही वर्ष बनाएर कुलपतिसमेत नियुक्ति गर्दासम्म गण्डकी सरकारले विश्वविद्यालयको विषय यकीन थिएन। तर कोरोना भाइरसले महामारी लिएपछि भने विश्वविद्यालयले मेडिकल साइन्सेज कलेज सञ्चालनका लागि गृहकार्य थालेको हो।
बजेटले शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने, मुर्झाएको पर्यटनलाई ब्युँझाउने लगायत विषयमा आफू र अर्थमन्त्री किरण गुरुङले सांसदहरुसँग आइतबारै छलफल गरेको पनि मुख्यमन्त्री गुरुङले सुनाए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)