४२ घण्टापछि कोरोना संक्रमितको उद्धार
दैलेख : आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवाको पीसीआर परीक्षणमा कोरोना संक्रमणको आशंका गरियो। सोमबार बिहानको रिपोर्ट शंकास्पद् देखिएपछि दिउँसो पुनः परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा नमुना पठाइयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १० बजे ती युवामा कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि गर्यो। संक्रमण पुष्टि भएको १८ घण्टापछि मंगलबार दिउँसो ४ बजे स्वास्थ्य सेवा कार्यालयका चिकित्सकसहितको टोली संक्रमित बसेको लक्ष्मी मावि सात्ततास्थित क्वारेन्टाइनमा पुग्यो। क्वारेन्टाइनमा बसेका ३९ मध्ये एक जनालाई संक्रमण देखिएको खबर गाउँभरी फैलियो।
तर, कसलाई कोरोना पोजेटिभ देखिएको भन्नेबारे सबै बेखबर थिए। ‘हामी जनप्रतिनिधि, क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति, स्वयं कोरोना संक्रमितलाईसमेत थाहा थिएन, जिल्लाबाट टोली नपुग्दासम्म क्वारेन्टाइनमा रहेका ३९ जनासँगै बसे, सँगै खेले,’ वडाध्यक्ष पर्वसिंह विश्वकर्माले भने। विभिन्न निकायमा हारगुहार गरेपछि मात्र संक्रमित व्यक्तिको उद्धार भएको वडाध्यक्ष विश्वकर्मा बताउँछन्। संक्रमित युवालाई मंगलबार राती ९ बजे मात्र दैलेख सदरमुकाम पुर्याइयो।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा शंकास्पद् देखिएको ४२ घण्टाभन्दा बढी समयपछि उनलाई मंगलबार रातीदेखि आइसोलेसनमा राखिएको छ। संक्रमितलाई नारायण नगरपालिकाको तर्ताङ्ग झुप्रेसालस्थित जंगलको बीचमा रहेको सरस्वती माविको आइसोलेसनमा राखिएको छ। उक्त विद्यालयमा २० बेडको आइसोलेसन निर्माण गरिएको थियो। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालयका कोभिड–१९ फोकल पर्सन थीरबहादुर रेग्मीले बताए।
दैलेखका यी युवा कर्णाली प्रदेशको पहिलो संक्रमित हुन्। कर्णालीका अन्य जिल्लामा हेलिकप्टर प्रयोग गरेर स्वाब संकलन गरिरहेको कर्णाली प्रदेश सरकारले दैलेखका संक्रमितको उद्वारमा भने वेवास्ता गरेको यहाँका स्थानीयको आरोप छ। प्रदेशका मन्त्रीहरुले पहुँचको भरमा जहाजमार्फत कालिकोट, मुगु, हुम्लामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएपनि संक्रमितको उद्धारमा ४२ घण्टा लगाइएको आठबीस नगरपालिका–१ का वीरबहादुर नेपाली बताउँछन्। प्रदेश सरकारले संक्रमितको उद्धार र उपचारमा वेवास्ता गरेको संघीय सांसद पार्वतीकुमारी विशुन्केले बताइन्।